उपचुनाव कास्की २ को, परीक्षा नेकपा सरकारको

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १ गते ९:४१
उपचुनाव कास्की २ को, परीक्षा नेकपा सरकारको

२३ कात्तिक, पोखरा । कास्की २ मा विद्या भट्टराईले टिकट पाउने पक्का भएपछि सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की बैठकमा नेताहरुले भनेका थिए, ‘साम, दाम प्रयोग गरेर भए पनि चुनाव जित्नुपर्छ ।’

रवीन्द्र अधिकारी पत्नी विद्याको बिहीबार उम्मेदवारी दर्ता भएसँगै नेकपा चुनावी अभियानमा हाेमिएकाे छ । नेता कार्यकर्तालाई प्रशिक्षित गर्न र जित्ने रणनीति बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामै छन् ।

अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलसहितका नेताहरुले शुक्रबार नेता कार्यकर्तालाई प्रशिक्षण दिए । र नेताहरुले एक स्वरमा निर्देशन दिए, ‘यो उपचुनाव पार्टी र कम्युनिस्ट सरकारको परीक्षा हो । भारी मतले जितेर सन्देश दिने गरी तयारी गर्नुस् ।’

उपचुनाव कास्की–२ को भए पनि परीक्षा नेकपा र सरकारको भएको नेताहरुको निष्कर्ष छ । संसदमा नेकपाको प्रष्ट बहुमत छ । त्यसैले यो एक सिटको जितहारले सरकार बन्ने र ढाल्ने होइन । तर चुनावको सन्देशले ठूलो अर्थ राख्ने छ ।

त्यसैले अरु दलले भने जस्तै नेकपाले पनि कास्की–२ को चुनावलाई मिनि जनमत संग्रहका रुपमा लिएको छ ।

नेकपा पार्टी र सरकारले २ वर्षमा गरेका काम कति लोकप्रिय छन् भन्ने यो उपनिर्वाचनले सन्देश दिने निश्कर्ष निकाल्दै प्रचण्डको भनाइ छ, ‘कम्युनिस्टलाई हराउन कम्युनिस्टले बाहेक अरुले सक्दैन । यहाँ चुनाव जित्दा विद्या भट्टराईले मात्रै जित्ने होइन । देशैभरि पार्टी एकताको सन्देश जाने छ ।’

तत्कालीन एमाले र माओवादीबीच एकता भएको वर्ष दिन नाघेपनि एकता प्रक्रिया टुंगिएको छैन । एकीकृत पार्टीमा भूमिका पाए नभएको विषय मात्र होइन, कास्की २ कै उम्मेदवार छनोटलाई लिएर पनि पार्टीमा असन्तुष्टि देखिन थालेको छ । त्यसतर्फ संकेत गर्दै शुक्रबारको प्रशिक्षणमा अध्यक्ष प्रचण्डले एकतामा नै जोड दिए । जित र नमिठो हार दुबैलाई नजिकबाट नियालेर आएको पूर्वमाओवादी र एमाले दुबैले सोचविचार गरेर एकता गरेको भन्दै उनले भने, ‘यो चुनाव पार्टी एकता कति दिगो हुन्छ भन्ने सन्देश पनि हो ।’

प्रशिक्षणमा नेकपा महासचिव विष्णु पौडेलले सम्भावित प्रोपोगाण्डाहरुप्रति सचेत रहन आग्रह गरे । सम्बोधनका क्रममा उनले यो उपचुनाव नेकपा र सरकारकै परीक्षा भएको पटकपटक दोहोर्‍याए । ‘यो मिनि जनमत संग्रह हो । यो नेकपाको परीक्षा पनि हो,’ उनले भने, ‘यहाँ जितेरमात्रै पुग्दैन । ठूलो मतान्तरले जित्नुपर्छ ।’

नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेशका मन्त्री किरण गुरुङले पनि उपचुनावलाई सरकारको लोकप्रियता र नेकपाकै जनमत संग्रहको रुपमा बुझ्न आग्रह गरे ।

कास्की २ को उपचुनावलाई अन्य दलले पनि नेकपा र सरकारको जनमत संग्रहकै रुपमा हेरेका छन् । नेकपाले कास्की क्षेत्र नम्बर २ को सिटलाई सुरक्षित गर्दै पार्टी र सरकारको नम्बर बढाउन चाहन्छ भने अन्य दलले सरकारको नम्बर घटाउन ।

नेकपाले भने जसरी पनि चुनाव जित्ने रणनीति बनाएको छ । भारी मतान्तरले चुनाव जित्ने गरी तयारी थालिएको निर्वाचनको कमाण्ड समिति सम्हालेका राजकाजी गुरुङ करण बताउँछन् । नेकपाले मुख्य ३ कुरालाई जोड दिएको छ ।

पार्टी र सरकारका विचार, काम र योजनालाई जनतासम्म पुर्‍याउने नेकपाको पहिलो रणनीति हो । त्यसका लागि नेपाल सरकारदेखि प्रदेश र स्थानीय तहसम्म भएका कामको लिस्ट तयार पारेर कार्यकर्तासम्म पुर्‍याइने करणले बताए । पोखरा महानगरका वडामा नेकपाबाट जित्ने वडाध्यक्षलाई आफूले गरेका प्रगति बुझाउन नेकपाले निर्देशन दिइसकेको छ भने कतिपय वडाले बुझाइसेका पनि छन् । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरका ११ वडा पर्छन् ।

दोस्रो, नेकपाका सबै नेता कार्यकर्तालाई परिचालन गर्ने, शुभेच्छुक तथा भातृ संस्थाका पदाधिकारी तथा सदस्यलाई चुनावी एजेण्डासहित जनताको घरदैलोमा पठाउने ।

पार्टी र सरकारविरुद्ध हुने भ्रामक प्रचार र आरोपको खण्डन तथा आक्रामक प्रचार गर्ने नेकपाको तेस्रो योजना छ । २ तिहाई बहुमतसहित जनताले जिताएर पठाएको कम्युनिस्ट सरकारलाई आलोचित गर्न प्रतिक्रियावादी र विपक्षीहरु लागि परेको बताउँदै नेकपा नेताको निर्देशन छ, ‘कास्की–२ मा नेकपालाई जिताएर फेरि एक पटक लोकप्रिय पार्टी र सरकारको सन्देश दिऔं ।’

नेकपाका नेताहरुले पार्टीकी उम्मेदवार विद्यामाथि पनि प्रश्न उठाउने प्रयास भएको भन्दै उनको राजनीतिक योगदानलाई जनतासम्म पुर्‍याउन निर्देशन दिएका छन् । गलत ढंगले विद्याको प्रचार भइरहेको भन्दै नेताहरुले एक जुझारु राजनीतिक अगुवालाई योग्य र क्षमताका आधारमा उम्मेदवार बनाइएको कुरा मतदातासम्म पुर्‍याउन नेकपा कास्कीले सबै कार्यकर्तालाई निर्देशन दिएको छ ।

निर्वाचनको अनुगमन र निर्देशनका निम्ति प्रदेश सहइन्चार्ज खगराज अधिकारीको नेतृत्वमा प्रदेशस्तरीय कमाण्ड समिति बनेको छ । कास्की अध्यक्ष कृष्ण थापाको नेतृत्वमा २ हजार ६ सय जनाको परिचालन समिति बनेको छ । ५१ सदस्य रहने गरी २६ उपसमिति बनाएर सरकार र पार्टीको काम तथा योजना लिएर जनताको घरदैलोसम्म पुर्‍याउने गरी परिचालन गर्ने अर्को रणनीति छ ।

कास्की २ मा सत्तारुढ दलको तर्फबाट विद्याको प्रमुख प्रतिस्पर्धीका रुपमा कांग्रेसका पाका उम्मेदवार खेमराज पौडेल छन् । उनको उम्मेदवारीसँगै घातप्रतिघातको अन्त्य भएको घोषणा गर्दै कांग्रेसले नेकपालाई यो परीक्षामा हराउने बताएको छ । गत निर्वाचनमा ८ हजार ५४२ मतले कांग्रेस हारेको थियो । तर, उपचुनावमा त्यो मतान्तर उल्ट्याउँदै नतिजा हात पार्ने उसको दाबी छ ।

कांग्रेससँगै समाजवादी पार्टीका धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसी लगायत साना दल र स्वतन्त्रसहित २२ जना कास्की २ को उपनिर्वाचनमा होमिएका छन् ।

प्रकाशित : २०७६ मंसिर १ गते ९:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI