No ads found for this position

टि-10 मा सन्दिपको उत्कृष्ट बलिङ

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २ गते ३:००
No ads found for this position
टि-10 मा सन्दिपको उत्कृष्ट बलिङ
No ads found for this position

आवुधाबी : युएईमा जारी टी-१० लिग क्रिकेटमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टिम कर्नाटक टस्कर्स पराजित भएको छ। 

आवुधाबीस्थित शेख जायद मैदानमा आइतबार राति सम्पन्न खेलमा बंगला टाइगर्सले कर्नाटकलाई ५ विकेटको हार चखाएको हो। यद्यपि, सन्दीपले भने खेलमा शानदार बलिङ गर्दै महत्वपूर्ण दुई विकेट लिए।

खेलमा सन्दीपको टोली कर्नाटकले बंगला टाइगर्सलाई एक सय १५ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको बंगला टाइगर्सले छक्का र चौकाको वर्षा गर्दै ३ ओभरमै ५५ रन बनाएको थियो। चौथो ओभरमा सन्दीप बलिङमा आएर विकेट झार्न सुरु गरे। 

बंगला टाइगर्सका लागि आन्द्रे फ्लेचरले ४० र रिली रसोले २२ रन बनाए। रब्बी फ्राइलिंक १३, कलिन इंग्राम ४ र थिसारा परेरा ३ रन बनाउँदै आउट भए। 

टोम मुरेस २८ तथा डेभिड वाइसी ४ रनमा अविजित रहँदै ७ बल बाँकी छँदै बंगला टाइगर्सलाई जीत दिलाएका हुन्। कर्नाटकका लागि सन्दीपका अलावा सहपुर र अहमेद राजाले समान एक/एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रिएको कर्नाटक टस्कर्सले शानदार सुरुवात गर्दै निर्धारित १० ओभरमा एक सय १४ रन बनाएको थियो। कर्नाटकका ओपनर जोनसन चाल्र्सले अर्धशतक पूरा गरे। 

२९ बलमा ५७ रन बटुलेर पहिलो विकेटस्वरुप उनी पभेलियन फर्किए। २९ बल नै सामना गरेका कप्तान हासिम आमला ४७ रनमा अविजित रहे। बंगला टाइगर्सका लागि एक मात्र विकेट केभिन कोथिगोडाले हात पारे।

सन्दीपको स्पेल

बंगला टाइगर्सविरुद्ध सन्दीपले दुई ओभरमा मात्र ९ रन खर्चेर महत्वपूर्ण दुई विकेट हात पारे। उनकै ओभरमा कलिन इंग्राम पनि रनआउट भएका थिए। तर, रनआउट बलरको विकेटमा जोडिँदैन। सन्दीपकै ओभरमा इंग्रामलाई कर्नाटकका कप्तान हासिम आम्लाले रनआउट गरेका हुन्।

इनिङको चौथो ओभरमा बलिङ गरेका सन्दीपले आफ्नो दोस्रो बलमै विकेट लिएका हुन्। पाँच छक्का र एक चौकासहित ४० रन बनाएका आन्द्रे फ्लेचरलाई सन्दीपले विकेटकिपर सफिकुल्लाह सफिकबाट स्टम्पिङ गराए।

छैठौँ ओभरमा व्यक्तिगत दोस्रो ओभर बलिङ गरेका सन्दीपले अन्तिम बलमा विपक्षी कप्तान थीसारा परेरालाई ३ रनमा आउट गरे। कर्नाटकका कप्तान हासिम आम्लाले परेराको क्याच लिएका थिए।

यसअघिको खेलमा कर्नाटकले शनिबार दिल्ली बुल्सलाई १९ रनले हराएको थियो। उक्त खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १९ रन खर्चिएर एक विकेट हात पारेका थिए। कर्नाटक टस्कर्सले सन्दीपलाई ४० हजार डलर खर्चिएर टिममा अनुबन्ध गरेको हो। कर्नाटकले सोमबारको खेलमा डेक्कन ग्ल्याडिएटर्ससँग प्रतिस्पर्धा गर्नेछ।

युएई क्रिकेट बोर्डले आयोजना गरेको प्रतियोगितामा भारतीय कम्पनीको लगानीमा ८ फ्रेन्चाइज टोली सहभागी छन्। प्रतियोगिता २४ नोभेम्बरसम्म चल्नेछ।

प्रकाशित : २०७६ मंसिर २ गते ३:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI