देशभरका जेसीजहरुको म प्रतिको विश्वासनै मेरो विजयको आधार हो : खनाल

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २ गते ३:५४
देशभरका जेसीजहरुको म प्रतिको विश्वासनै मेरो विजयको आधार हो : खनाल

नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशन यही पौष ९, १० , ११ र १२ गते चितवनको रत्ननगरमा हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा नेपाल जेसीजको आगामी नेतृत्वका लागि रस्साकस्सी पनि सुरु भएको छ । जेसीजमा एक पद, एक व्यक्ति र एक कार्यकालको आधारमा निर्वाचन हुने गर्दछ । यस अर्थमा आगामी वर्ष सन् २०२०को नेतृत्वका लागि यो निर्वाचन हुन लागेको हो । निर्वाचनमा चितवनका युवा अरुणेश्वर खनाल आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा ओर्लिएका छन् । उनलाई जेसिजभित्र नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष सुदीप सिंह अधिकारीले नेतृत्व गरेको समूहको समर्थन छ । पछिल्लो पटक जेसीजमा बलियो समूह मानिने अधिकारीको समूहबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका खनालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका अधिकांश जेसीजका शाखाहरुमा पुगी आफ्ना एजेन्डाबारे जानकारी गराएका छन् । सन् २००४देखि जेसीज अभियानमा लागेका खनाल सन् २०१० मा बीसहजार जेसीज भरतपुर चितवनको शाखा अध्यक्ष, सन् २०१२ मा राष्ट्रिय उपाध्यक्ष, सन् २०१३ मा राष्ट्रिय महासचिव र सन् २०१६ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भई काम गरिसकेका छन् । पछिल्लो पटक देश दौडाहापछि चितवन फर्किएका खनालसँग चुनावी एजेन्डा रणनीति र उनका अनुभवबारे गरिएको कुराकानीको सङ्क्षिप्त अंश :

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका लागि उम्मेदवारी दिनुभएको छ, के छन् तपाईँका चुनावी एजेन्डा ?

♦राजनीतिक दलहरुमा जस्तो जेसिजमा झुटा आश्वासन दिने गरी धेरै चुनावी एजेन्डा हुदैनन्। जेसीजलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ र देशभरका जेसीजहरुलाई कसरी संस्थाको उद्देश्यअनुरुप अगाडि बढाउन सकिन्छ भन्ने नै मूल विषय हो । जेसिज मूलत : व्यक्ति नेतृत्व, व्यक्तित्व र क्षमता विकास गर्ने एउटा तालिम प्रदायक संस्था हो । मैले आगामी वर्ष जेसिजमा तालिमलाई नै प्रमुख स्थान दिनेछु । तालिम बिना कोही पनि व्यक्ति पर्फेक्ट हुन सक्दैन । यस कारण तालिमलाई नै म मुख्य प्राथमिकता दिनेछु । यसका लागि चारवटै क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान स्थापना गरी जेसीज साथीहरुलाई सहज तवरले तालिम प्रदान गर्ने वातावरण तयार पार्न म लागि पर्नेछु ।

तपाईँले तालिमलाई प्राथमिकता दिन्छु भन्नुभयो, के यस अघि जेसीजमा तालिम हुन्नथ्यो र ?

♦मैले त्यसो भन्न खोजेको होइन, जेसिज आफैँमा एउटा तालिम प्रदायक संस्था हो । यो संस्थाभित्र तालिम नहुने भन्ने कुरा नै भएन । मेरो कार्यकालमा तालिमलाई अझै सर्वसुलभ बनाउने मेरो प्रयास हुनेछ । त्यसका लागि चावटै क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान स्थापना गर्नेछु । यस अघि पनि क्षेत्रगत रुपमा यस्ता तालिम प्रदान गर्ने गरी प्रतिष्ठान स्थापना भएका थिए तर पछिल्ला केही वर्ष त्यो बन्द भएको छ । म त्यसलाई पुनःस्थापना गरेर जेसिज साथीहरुलाई सर्वसुलभ तवरले तालिम प्रदान गर्ने कुरामा लाग्नेछु । तालिम लिनकै लागि धेरै खर्च गरेर टाढा जान नपरोस् , आफ्नै क्षेत्रमा सहज तरिकाले तालिमहरु हुन् र यसले जेसीज साथीहरुलाई सहज होस् भन्ने मेरो उद्देश्य हो । अर्को कुरा म तालिमलाई तालिमको रुपमा मात्र नभई व्यवहारिक रुपमा लैजान चाहान्छु । तालिम लिइसकेपछि तालिम लिने मान्छेले त्यसलाई व्यवहारमा उतारोस् भन्ने मेरो चाहाना छ । खाली औपचारिक रुपमा मात्र तालिम नहोस् तालिमले मान्छेको जीवनशैलीमा नै परिवर्तन ल्याओस् भन्ने मेरो उद्देश्य हो । यसका लागि प्रशिक्षकहरुलाई सोही बमोजिमको कोर्स डिजाइन गर्न लगाई आगामी वर्ष तालिम प्रदान गर्ने मेरो उद्देश्य हो ।

देशभरि हिँड्नु्भयो, जेसीजहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

♦व्यक्तिगत रुपमा मैले साथीहरुको अपार समर्थन पाएको महसुस गरेको छु । साथीहरुले देखाएको प्रेम र सद्भावले म उत्साहित छु । साथीहरुमा मप्रति एउटा विश्वास छ, म यो विश्वासलाई खेर जान नदिने गरी काम गर्नेछु । अरुणेश्वर खनालले गर्न सक्छ र जेसिजमा केही न केही परिवर्तन ल्याउछ भन्ने कुरामा साथीहरु विश्वस्त हुनुहुन्छ । यसकारण पनि मैले राम्रो गर्नैपर्छ, मैले जति पनि आफ्ना एजेन्डाहरु साथीहरुलाई सुनाएँ त्यसलाई उहाँहरुले समर्थन गर्नुभएको छ । यो नै म बलियो भएको आधार हो । सुाथीहरुको विश्वास आर्जन गरेको छु । लामो समय जेसिमा काम गरे, म बीसहजार जेसिजको वर्ष २०१० को शाखा अध्यक्ष हो । सन् २००४ देखि नै जेसिजको सदस्यता लिएर निरन्तर १५ वर्षदेखि जेसिज अभियानमा छु । राष्ट्रिय उपाध्यक्ष, राष्ट्रिय महासचिव, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भएर काम गरिसकेको छु । त्यसकारण पनि जेसिजलाई अब कसरी लैजाने भन्ने विषयमा मेरो यो लामो अनुभवको सदुपयोग गर्नेछु र सकारात्मक परिणाम दिने कुरामा लागि पर्ने छु । साथीहरुले यही कुरामा मलाई विश्वास गर्नुभएको छ । म साथीहरुको यही विश्वासको जगमा उभिएर विजयी हुने कुरामा विश्वस्त पनि छु ।

जेसीजले समाज र देशमा साकारत्मक प्रभाव पार्ने गरी काम गरेको देखिँदैन, यस्तो किन भइरहेको छ ?

♦तपाईले भनेका कुरा केही हदसम्म सत्य पनि होला, तर पुरै सत्य होइन । हाम्रो इतिहास हेर्नुहोस् , जेसीज विधिको साशनमा विश्वास गर्छ, मानवताको कार्यलाई आफ्नो आर्दश ठान्छ । हाम्रो आस्था हेर्नुहोस् समाज रुपान्तरणका लागि जेसिजले सबै काम गर्दै आइरहेको छ । निरङ्कुश र कहालिलाग्दो साशन व्यवस्था भएका बेलामा पनि जेसिजले आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता गरेन र आगामी दिनमा पनि गर्ने छैन । हिजो राजाको निरङ्कुश साशन व्यवस्था भएको बेला होस् या पञ्चायती व्यवस्था हँुदा होस् जेसिजले विधिको साशन नै मुलुकका लागि चाहिन्छ भनेर वकालत गरेको छ । तपाईँले जेसिजका गतिविधि आउटडोर रुपमा धेरै देखिएन भन्ने कुरा गर्नुभएको होला, त्यसमा म पनि चिन्तित छु, यदि म राष्ट्रिय अध्यक्ष बन्न सकेँ भने हरेक नागरिकले देख्ने गरी आउटडोर गतिविधि पनि हुनेछन् । आफ्नो मिसन, भिजन र गोलमा केन्द्रित रहेर आफ्ना आस्थालाई शिरोपर गर्दै यस्ता गतिविधि जेसिजले अब गर्नेछ । जेसीजलाई राष्ट्रको एउटा महत्त्वपूर्ण संस्थाका रुपमा विकास गर्न म लागि पर्नेछु ।

तपाईसँगै अरु पनि प्रतिस्पर्धामा छन् ? तपाईँ र उनीहरुमा फरक के हो ?

♦हो मसँगै अरु तीन जना साथीहरु प्रतिष्पर्धामा हुनुहुन्छ, उहाँहरु जेसिज अभियानकर्मी हो । सँगसँगै जेसिज आन्दोलनजमा छौँ । चुनावका बेला एजेन्डाले फरक हुने कुरा हो । नेतृत्वका हिसाबले फरक हुने कुरा हो । मैले देशभरका साथीहरुलाई आफ्ना एजेन्डामा कन्भिन्स गर्न सकेँ भने त्यो नै फरक कुरा हो । मैले पूर्वदेखि पश्चिमसम्म पुग्दा आफ्ना एजेन्डामा साथीहरुलाई कन्भिन्स गर्न सकेको छु जस्तो लाग्छ, यो नै फरक कुरा हो । जेसिजका साथीहरुले एजेन्डा हेरेर भोट हाल्छन् । अनुभवी नेतृत्वलाई स्वीकार गर्छन् । त्यस कारण मैले म बिचित्रै फरक छु भन्नभन्दा पनि एजेन्डागत रुपमा फरक महसुस गर्ने कुरा हो । यो साथीहरुले महसुस गर्नुभएको छ ।

जेसीज पनि राजनीतिबाट ग्रसित छ भनिन्छ , कुरा के हो ?

♦हरेक मान्छेको आफ्नो आफ्नै राजनीति आस्था हुन्छ, यो स्वभाविक कुरा हो । मेरो एउटा आस्था छ, तपाईको अर्को आस्था होला । भोट हाल्ने चिन्ह मानिस अनुसार फरक फरक होला । तर जेसिजमा राजनीतिक आस्थाले केही फरक पार्र्दन । यो आफैँमा गैररानीतिक संस्था हो । यो राजनीति गर्ने थलो नै होइन । यो सिक्ने र सिकाउने थलो हो । त्यसकारण यहा राजनैतिक आस्थाले केही फरक पार्दैन । राजनीतिक आस्थाको आधारमा यहा विभाजन पनि हुँदैन । न हिजोका दिनमा त्यस्तो भयो, न भोलिका दिनमा हुन्छ । जेसिजभित्र राजनीति हुन्छ भनेर जुन हल्ला फिजाइएको छ । त्यो बिलकुल गलत कुरा हो । यहाँ आफ्नो विवेक प्रयोग गरेर मतदान गरिन्छ । जेसिजले सबैलाई समान रुपले हेर्छ । राजनीतिक आस्थाकै आधारमा याहाँ कुनै विभेद हुँदैन ।

तपाई विजय हुने आधारहरु के के हुन् ?

♦पहिलो कुरा त साथीहरुको मप्रतिको विश्वास नै म विजय हुने आधार हो । म यही विश्वासको जगमा विजय हुने कुरामा अत्यन्तै विश्वस्त छु । अर्को कुरा म Rise to Change, leadership practices for human development भन्ने नाराका साथ मैदानमा आएको छु । परिवर्तनका लागि हामी उठ्नु पर्छ र मानवको चौतर्फी विकासका लागि नेतृत्वले काम गर्नुपर्छ अर्थात नेतृत्वको अभ्यास त्योतर्फ केन्द्रित हुनुपर्छ भन्ने मेरो कुरा हो । किनकि नेताका कुरालाई धेरैले फलो गर्छन् । त्यसैले नेतृत्वले गर्ने अभ्यास अनुकरणीय हुनुपर्छ भन्ने हो । साथीहरुले यसलाई मन पराइदिएका छन् । यो नै विजयको अधार हो । अर्को कुरा राज्यका विभिन्न अङ्गहरुसँग समन्न्वय गरी देशभर जेसिजवादको विकास गर्नका लागि म लागी पर्नेछु ।

परम्परागत नभई व्यावहारिक तालिम र तालिमलाई सिपमा परिवर्तन गराउन मेरो प्रयत्न हुनेछ । योसँगै प्रशिक्षित नेतृत्वको उत्पादन र खारिएको नेतृत्व समाजलाई हस्तान्तरण गर्न एक वर्षभरि म क्रियाशील हुनेछु । विधिको शासन र लोकतान्त्रिक पद्धतिको कार्यान्वयनका लागि निरन्तर खबरदारी गर्दे राज्यलाई जिममेवार बनाउन हाम्रा कार्यक्रम केन्द्रित हुनेछन् । मानव सेवाको लागि युवाहरुलाई अभिप्रेरित गर्र्दै उनीहरुमा सकारात्मक सोचको विकास गर्ने नेपाल जेसीजको हरेक क्रियाकलापहरुलाई समयानुकूल परिवर्तन गर्र्दैे त्यसलाई परिणाममुखी बनाउने, सिज अभियानलाई प्रभावकारी बनाउँदै नेपाल जेसिजलाई राज्यको एक महत्त्वपूर्ण संस्थाका रुपमा विकास गर्न लागि पर्ने लगायत मेरा प्रमुख एजेन्डा हुन् । यसका अलावा राज्यको नीति निर्माण तहमा जेसिज नेतृत्वको उपस्थिति गराउँदै राज्यका महत्वपूर्ण अङ्गहरुमा जेसिज स्कुलिङ्गको नेतृत्व स्थापित गर्नका लागि म लागि पर्ने छु । यो संगै देशभरका युवाहरु बिच भाईचारा सम्बन्ध स्थापित गर्दै राष्ट्र निर्माणमा युवाहरुलाई समाहित गर्नप्रेरित गर्ने जेसीजका अबसरका क्षेत्रहरु व्यक्तिगत, व्यावसायिक, सामुदायिक र अन्तर्राष्ट्रिय क्षेत्रहरुको व्यावहारिक रुपमा अभ्यास गर्न कार्यक्रमहरु तय गर्नेै प्रतिबद्धता मैले साथीहरुका बीचमा गरेको छु । र मलाई लाग्छ यो नै म विजय हुने आधार हो । मलाई विस्वास छ, जेसिज साथीहरुले यो पटक पक्कै म माथी न्याय गनेछन् ।

प्रकाशित : २०७६ मंसिर २ गते ३:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI