‘३ वर्षमै जनता आत्तिएर बसेछन्, हामी दैलोमा पुग्ने वित्तिकै उत्साह छायो’

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ५ गते ९:३३
‘३ वर्षमै जनता आत्तिएर बसेछन्, हामी दैलोमा पुग्ने वित्तिकै उत्साह छायो’

कांग्रेसको दोस्रो चरणको कार्यक्रम बिहिबार सकिंदै

पोखरा । नेपाली कांग्रेस नेता यज्ञबहादुर थापाका अनुसार यो पटक कांग्रेसको पक्षमा राम्रो माहोल बनेको छ । पार्टीका पूर्व सभापति र पूर्व मन्त्रीसमेत रहेका थापाले पार्टीको पक्षमा यति राम्रो माहोल इतिहासमै नभएको बताए । पोखरा–४ को घरदैलोमा सहभागी नेता थापाले सरकारप्रति जनता रुष्ट भएको आफूले पाएको बताए । उनी पोखरा–४ का चुनावी कमाण्डर समेत हुन् ।

‘यस पटक राम्रो संकेत देखिएको छ । पार्टीका नेता कार्यकर्ता साथीहरू पनि एकढिक्का देखिन्छन्’, नेता थापाले भने, ‘एउटा सादगी नेताले अवसर पाएको भएर हुन सक्छ, यो पटक साच्चै राम्रो माहोल बनेको छ ।’  ‘करिब ३ वर्षमै जनता आत्तिएर बसेका रहेछन् । जब हामी उनीहरूको दैलोमा पुग्यो, उत्साह छायो’, थापाले थपे, ‘सरकारका कारण व्यापारी, उद्योगपति, पेशाकर्मी, कर्मचारी कोही पनि खुशी छैनन् ।’

अर्का नेता विरेन्द्रनारायण विजुक्छेले राजनीतिक दलहरूप्रति जनताको आक्रोश निकै बढ्न थालेको बताए । उनले यहि आक्रोश कायमै रहने हो भने जनताले राजनीतिक दलहरूको विकल्प खोज्न सक्ने दावी गरे ।

‘जनताले जहानिया राणा शासनको विकल्प खोजेर पञ्चायत रोजे, त्यसले पनि भएन प्रजातन्त्र रोजे, त्यसले पनि जनता सन्तुष्ट भएनन्, २४० वर्षको राजतन्त्र फालेर राजनीतिक दलहरूलाई राज्य सुम्पिए’, नेता विजुक्छेले भने, ‘जनतामा झनै असन्तुष्टि बढेको पायौं, यसले दलहरूको विकल्प नखोज्लान् भन्न सकिन्न ।’

उनले कम्युनिष्टले सुख, शान्ति र समृद्धिको सपनामात्र बाँडेकाले पनि जनता आक्रोशित भएको दावी गरे । ‘५ वर्षमा के के नै गर्छौं भनेका थिए, ३ वर्षमा कर थोपर्ने बाहेक सिन्को पनि भाँचिएन । त्यसैले जनता रुष्ट भएका हुन्’, उनको दावी थियो ।
 
गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले नै गरेका प्रतिवद्धता पूरा गर्न सकिन्न कि भन्ने डर मनमा रहिरहेको बताए । ‘हामीले पनि जनतालाई विकासको आशा देखाएका थियौं, तर राज्य सञ्चालनको साँचो अर्कैको हातमा गयो । त्यसैले समस्या भएको छ’, उनले भने, ‘तर पनि जनताका समस्यामा नजिक रहेर काम गर्ने प्रयत्न भने गरिरहेका छौं ।’

पोखरा–२० का चुनाव कमाण्डरसमेत रहेका थापाले जनता सामु गरिएका आफ्ना प्रतिवद्धता पूरा गर्न सबै प्रयास गरिने स्पष्ट पारे । उनले कांग्रेसप्रति जनताको विश्वास अझै कायम रहेको बताए ।

नेपाली कांग्रेसको चुनावी प्रचार अभियान जारी छ । गत कात्तिक २१ गतेदेखि शुरु भएको अभियान तेस्रो चरणमा आइपुगेको छ । दोस्रो चरणको आज बिहीबार अन्तिम दिन हो । आज पोखरा–१६ अर्मलाको घरदैलोसंगै दोस्रो चरण समाप्त हुनेछ । भोलि शुक्रबारदेखि तेस्रो चरणका कार्यक्रम प्रभारम्भ हुने कास्की कांग्रेसले जनाएको छ ।

पार्टी सभापति कृष्ण केसीका अनुसार पहिलो र दोस्रो चरणमा अधिकांश मतदातासंगको भेटघाट सकिएको छ । पहिलो चरणमा पार्टीका विभिन्न संघसंगठनमा चुनाव प्रचार समिति गठन गरेको कांग्रेसले दोस्रो चरणमा घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित गरेको थियो ।

भोलि शुक्रबारदेखि शुरु हुने तेस्रो चरणको कार्यक्रम चुनावीसभामा केन्द्रित हुने सभापति केसीले जानकारी दिए । उनका अनुसार चुनावीसभामार्फत जनताका समस्या, वर्तमान राजनीतिक परिवेशबारे पार्टीको धारणा प्रस्तुत गर्ने र प्रतिवद्धता जनाउने काम हुनेछ । यस कार्यक्रममा जनता र पार्टीका उच्च तहका नेता सहभागी गराएर उम्मेदवारले आफ्नो प्रतिवद्धता पेश गर्नेछन् ।

प्रकाशित : २०७६ मंसिर ५ गते ९:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI