यस्तो हुनेछ आइफोन १२, डिजाइन आइफोन फोर जस्तै

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ९ गते ८:१४
यस्तो हुनेछ आइफोन १२, डिजाइन आइफोन फोर जस्तै

काठमाडौं । एप्पलको बहुप्रतिक्षित आइफोनको नयाँ संस्करण आइफोन १२ सार्वजनिक हुने मिति आउन धेरै बाँकी छ । तर यो नयाँ आइफोनका विषयमा विभिन्न समाचारहरु लिक हुने क्रम चाहिँ जारी छ ।

पछिल्लोपटक सार्वजनिक भएको एक समाचार अनुसार आइफोन १२ को डिजाइन एप्पलको १० वर्ष पुरानो आइफोन जस्तै हुनेछ । अर्थात् आइफोन १२ को डिजाइन आइफोन ४ बाट प्रभावित हुनेछ ।

एप्पलका खबरहरु सार्वजनिक गर्ने चर्चित ब्लगर बेन गेस्किनका अनुसार नयाँ आइफोनको डिस्प्लेमा निकै सानो आकारको नच हुनेछ । फोनको डिस्प्लेको माथिल्लो भागमा सानो ब्लाक बार हुनेछ, जसमा सेल्फी क्यामरा र फेस आइडी सेन्सर रहनेछन् ।

एप्पलले झण्डै १० वर्षअघि आइफोन फोर सार्वजनिक गरेको थियो । सन् २०१० मा लञ्च भएको आइफोन फोरकै डिजाइनबाट एप्पलको आगामी आइफोन १२ प्रभावित हुनेछ । ब्लगर बेनले आफ्नो ट्वीटरमा आइफोन १२ का सम्भावित मोडेलको तस्वीर पनि सार्वजनिक गरेका छन् । तर यो केवल आफ्नो अनुमान मात्र रहेको उनको प्रष्टोक्ति छ ।

क्वाड क्यामरा सेटअप

यसअघि नै एउटा खबर आएको थियो । जस अनुसार आइफोन १२ मा एप्पलले पहिलोपटक क्वाड क्यामरा अर्थात् चारवटा मुख्य क्यामरा भएको फिचर राख्नेछ । त्यसमा एउटा वाइड एंगल क्यामरा, एउटा अल्ट्रा वाइड, एउटा टेलिफोटो र अर्को टिओएफ क्यामरा सेन्सर हुनेछ ।

आइफोन १२ मा ५.४ इन्च तथा ६.७ इन्चका दुई मोडेल आउने बताइएको छ ।

यदि एप्पलले आफ्नो इतिहास कायमै राखेमा आइफोन १२ बजारमा आउनका लागि सन् २०२० को सेप्टेम्बरसम्म कुर्नुपर्नेछ ।

एक अर्को समाचार अनुसार सन् २०२० मा एप्पलले थ्री डी सेन्सिङ क्यामरायुक्त आइप्याड प्रो ल्याउनेछ । यो प्रविधि नयाँ आइफोनमा पनि उपलब्ध हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि एप्पलले चाहिँ यसबारेमा आधिकारिक रुपमा केही पनि बताएको छैन ।

-एजेन्सीको सहयोगमा

प्रकाशित : २०७६ मंसिर ९ गते ८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI