कास्कीको चुनाव २४०० मतान्तरले जित्छौं : काङ्ग्रेस प्रवक्ता शर्मा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ९ गते १४:०२
कास्कीको चुनाव २४०० मतान्तरले जित्छौं : काङ्ग्रेस प्रवक्ता शर्मा

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कास्की–२ को चुनाव २ हजार ४०० मत अन्तरले कांग्रेसले जित्ने दावी गरेका छन् । चुनावी प्रचारका लागि आइतबार पोखरा आएका प्रवक्ता शर्माले नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दावी गरेका हुन् ।

‘सबै प्रकारले हेर्दा २ हजार ४०० मतले हामी चुनाव जित्छौं । यो निकै तीव्र प्रतिस्पर्धी मत भएकाले यसलाई बढाउन प्रयत्नशील छौं । म पनि पोखरा आइपुगेको छु’, उनले भने । 

प्रवक्ता शर्माले कास्कीको चुनाव जित्ने आधार समेत प्रस्तुत गरे । ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह, कम्युनिष्टले विगतमा बाँडेका सपना पूरा हुन नसकेको, कम्युनिष्ट सरकारले गरेका गलत काम सच्याउने अवसर, निष्ठावान र लोकप्रिय उम्मेदवार, कांग्रेसका नेताहरूको बीचमा एकता, कास्कीबाट देशलाई दिने सन्देश नै कांग्रेसले चुनाव जित्ने मुख्य आधार हुन्’, उनले भने ।

यसै प्रसंगमा प्रवक्ता शर्माले मान्छे बुढो हुँदैमा सांसद बन्न नपाउने भन्ने नभएको टिप्पणी गरे । उनले भने, ‘डोनाल्ड ट्रम्प ७० वर्षको उमेरमा अमेरिकाको राष्ट्रपति बन्नुभयो । प्रधानमन्त्री ओली पनि ७० वर्ष आसपासमै हुनुहुन्छ ।’ उम्मेदवार खेमराज पौडेलको उमेरको सवाल भन्दा उहाँले दिने सन्देश महत्वपूर्ण हुने उनले स्पष्ट पारे । आफू चुनाव प्रचार अभियानमा लाग्दै गर्दा दशैभर कांग्रेसको पक्षमा लहर आएको समेत उनले दावी गरे ।

उनले राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा होइन, सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । ‘यो हाम्रा लागि ऐतिहासिक अवसर हो । सरकारले यथाशीघ्र कुटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ’, उनले भने । 

उनले सरकार र कम्युनिष्ट पार्टीका नेताहरूले सीमा विवादको जवाफ कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवासंग होइन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग माग्नुपर्ने बताए । 

उनले भारतले आफ्नो नक्सा सार्वजनिक गरिरहेको अवस्थामा नेपालले पनि छिटो भन्दा छिटो आफ्नो आधिकारिक नक्सा सार्वजनिक गर्नेुपर्ने खाँचो औंल्याए । उनले सीमाको सवालमा सत्तापक्ष, प्रतिपक्ष र जनता सबै एकठाउँमा आएको अवस्थामा समस्या समाधान गर्नमा ढिलाई गर्न नहुने बताए । उनले सीमा समस्या समाधान नभएसम्म कांग्रेसले खबरदारी गरिरहने स्पष्ट पारे । 

प्रकाशित : २०७६ मंसिर ९ गते १४:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI