सरकारी मोटरसाइकलमा पार्टीको झण्डा राखेर प्रचार

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १२ गते १०:३५
सरकारी मोटरसाइकलमा पार्टीको झण्डा राखेर प्रचार

सत्तारुढ दल नेकपाले चुनाव प्रचारमा सरकारी सवारीसाधानको दुरुपयोग गरेको छ । १४ मंसिरमा मकालु गाउँपालिका अध्यक्ष र खाँदबारी नगरपालिका–३ को वडाध्यक्षका लागि हुन लागेको निर्वाचनको प्रचारमा नेकपाले सरकारी गाडी र मोटरसाइकल प्रयोग गरेको हो ।

पार्टी नेता तथा कार्यकर्ताले सेतो नम्बर प्लेटको मोटरसाइकलमा चुनाव चिह्नअंकित झन्डा फहराउँदै आफ्ना उम्मेदवारको पक्षमा प्रचार गर्दै हिँडेका छन् । जुलुस र आमसभामा सरकारी सवारीसाधनको प्रयोग झन् बढी हुने गरेको छ । 

नेकपाले सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै अन्य दलले आपत्ति जनाएका छन् । निर्वाचन आचारसंहिता उल्लंघन भएको देखेर पनि निर्वाचन कार्यालय भने मौन बसेको उनीहरूको गुनासो छ । 

पूर्वराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता तारामान गुरुङले आफूहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउँदा पनि दुरुपयोग नरोकिएको बताए । समाजवादी पार्टीका उम्मेदवार नुर्बु शेर्पाले नेकपालाई चिर्वाचन कानुन नलागेको भन्दै गुनासो गरे । मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले आचारसंहिता सबैले पालना गर्नुपर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले दलको कार्यक्रममा सरकारी गाडी प्रयोग भएको गुनासो आफूकहाँ आएको बताए । कुन सरकारी गाडी र मोटरसाइकल प्रयोग भएको पत्ता लगाएर कारबाही गर्ने उनले बताए । ‘सरकारी सवारीसाधन दुरुपयोग भएको हो भने तल्लो तहको कर्मचारी मात्रै होइन, प्रमुखलाई पनि कारबाही गर्छौँ,’ उनले भने ।

मकालु गाउँपालिका अध्यक्षका लागि    नेकपाका तेजबहादुर पोखरेल, कांग्रेसका विमान पराजुली, समाजवादीका नर्बु शेर्पालगायतले उम्मेदवारी दिएका छन् । खाँदबारी–३ को वडाध्यक्षका लागि भने नेकपाका भरतकुमार घिमिरे र कांग्रेसका विक्रम गुरुङले मात्रै उम्मेदवारी दिएका छन् ।

प्रकाशित : २०७६ मंसिर १२ गते १०:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI