कोहलपुरमा निषेधाज्ञा कायमै

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २३ गते ११:३४
कोहलपुरमा निषेधाज्ञा कायमै

नेपालगञ्ज – स्थानीय प्रशासनले बाँकेको कोहलपुरमा चार जना भन्दा बढी जम्मा भएर हिँड्न नपाउने गरी जारी गरेको निषेधित क्षेत्र घोषणालाई सोमबार पनि जारी राखेको छ ।

कोहलपुर आसपासका नौबस्ता, किरणनाला, पिपरी र चप्परगौडीसम्म लगाइएको निषेधाज्ञा जारी नै रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

‘चार जना भन्दा बढी जम्मा भएर हिँड्न नपाउने गरी जारी गरिएको निषेधित क्षेत्र घोषणा आज पनि कायम नै रहेको छ’, प्रवक्ता डीएसपी सिंहले भने, ‘प्रहरीले बिहानभरी त्यही माइकिङ गरिरहेको छ ।’

ना २ ख ९४५९ नम्बरको ट्रकले १२ वर्षीया प्रकृति चन्दलाई ठक्कर दिएपछि आइतबार कोहलपुर एकाएक रणभूमि बनेको थियो । प्रहरीले हवाईफायरसँगै गोली नै चलाएको थियो । प्रहरीको गोली र झडपमा परी घाइते भएकामध्ये ११ जनालाई काठमाडौँ लगिएको छ ।

ट्रकको ठक्कर बाट घाईते बालिका प्रकृति चन्द

तीन जना अझै अस्पतालमा उपचार गराइरहेका छन् भने तीन जना डिस्चार्ज भएका छन् । डीएसपी सिंहले ४० जना प्रहरी घाइते भएको बताए । उनका अनुसार, १८ जनालाई बढी चोट लागेको छ ।

सर्वदलीय/सर्वपक्षीय बैठकले शान्ति सद्भाव कायम राख्न पहल गर्ने, घाइतेलाई काठमाडौँ उपचार गर्न लैजाने, तोडफोड भएका गाडीलाई क्षतिपूर्तिका लागि सरकारसँग माग गर्ने निर्णय गरेपछि सोमबार साँझदेखि कोहलपुर शान्त हुँदै गएको छ ।

यसबीच, सोमबारको घटनालाई लिएर कोहलपुरका सम्पूर्ण संस्थागत विद्यालय बन्द गरिएका छन् । प्याब्सन, एनप्याब्सन र क्रिसाले विज्ञप्ती जारी गरेर विद्यालय बन्दको घोषणा गरेको छन् ।

प्रकाशित : २०७६ मंसिर २३ गते ११:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI