भुटानलाई पराजित गर्दै नेपालले जित्यो साग फुटबलमा स्वर्ण
NAWALPUR TIMES प्रकाशित : २०७६ मंसिर २४ गते १७:५४
No ads found for this position
No ads found for this position
भुटानलाई पराजित गर्दै नेपालले लगातार दोश्रो पटक दक्षिण एसियाली खेलकुद ( साग ) को पुरुष फुटबलमा स्वर्ण जितेको छ। नेपालले २०१६ मा भारतमा सम्पन्न १२ औं सागको उपाधि घरेलु टोलि भारतलाई पराजित गर्दै जितेको थियो।
साग फुटबलमा छैठौं पटक फाइनल पुगेको नेपालले जितेको यो चौथो उपाधि हो। पहिलो पटक १९८४ मा तथा त्यसपछि १९९३ र २०१६ मा नेपालले उपाधि जितेको थियो।
पहिलो पटक सागको फाइनल पुगेको भुटानलाई नेपालले २-१ गोल अन्तरले पराजित गर्यो।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न फाइनलको १६ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफकै ३६ औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याएका थिए। पहिलो हाफ १-१ को बराबरीमा रोकिएपछि दोश्रो हाफको ५३ औं मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका थिए।
प्रतियोगिता अन्तर्गत नेपालले लिग चरणमा भुटानलाई ४-० ले पराजित गरेको थियो। दोश्रो खेलमा श्रीलंकासंग बराबरी खेलेको नेपालले त्यसपछि तेश्रो खेलमा माल्दिभ्सलाई २-१ ले तथा चौथो खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै समुह विजेताको रुपमा फाइनल प्रवेश गरेको थियो।
भूटानले भने पहिलो खेलमा बंगलादेशलाई १–० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालसंग ४ गोलले पराजित भएको भूटान तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तर पराजित गर्यो। लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–१ गोल अन्तर गर्दै ९ अंक सहित भूटान फाइनल पुगेको थियो।
Facebook Comment