पत्रकार महासंघ केन्द्रीय महाधिवेशन उन्मुख, नयाँ सदस्यतामा कडाई, कार्यतालिका सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ३० गते १९:१५
पत्रकार महासंघ केन्द्रीय महाधिवेशन उन्मुख, नयाँ सदस्यतामा कडाई, कार्यतालिका सार्वजनिक

डोलराज रानाभाट

नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशनको पूर्व तयारीमा जुटेको छ । यही मंसिर २९ र ३० गते पत्रकार महासंघ नवलपुरको आतिथ्यतामा देबचुली नगरपालिकाको वडा नं १७ स्थित पिप्रहर सामुदायिक होमस्टे ग्राममा भएको संगठन समितिको बैठक तथा भेलाले महाधिवेशनमा केन्द्रीत भई नयाँ सदस्यता शुद्धिकरणमा कडाई गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । यस अघि महासंघले आगामी फागुन मसान्त भित्र शाखा अधिबेशन गर्ने निर्णय गरेको थियो । तर अव  महासंघको जिल्ला ,केन्द्र र प्रदेशको अधिबेशन एकै समयमा एकै दिन भदौ महिनामा गर्ने गरिसबै तहको म्याद थप गर्ने निर्णय गरेको अध्यक्ष गोबिन्द आचार्यले बताउनुभयो ।

वर्तमान कार्यसमितिको यो तेस्रो वर्ष भएको र यसलाई अधिवेशन वर्षको रुपमा लिदै नयाँ सदस्यताका लागि कार्यतालिका सार्वजनिक गरिएको महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

अव महाधिवेशन उन्मुख भएको विष्टको भनाई छ । अवको कार्यसमिति प्रत्यक्ष मतदानको विधिबाट चुनिने भएकाले नयाँ सदस्यता वितरणमा कडाई गरिएको छ । जसका लागि सदस्यता प्राप्ति तथा नविकरण कार्यविधि निर्देशिका २०७६ पनि भेलाले पारित गरेको विष्टले बताउनुभयो । अवबाट कुनैपनि राजनीतिक दल तथा तिनका भातृ संगठनको जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारी रहेको, निजामती कर्मचारी, जनप्रतिनिधि र सुरक्षा निकायमा रहेका व्यक्तिहरुलाई सदस्यता नदिने र नविकरण पनि नगरिने सहमति भएको छ ।
पत्रकार महासंघ श्रमजिवीहरुको संगठन भएको र पत्रकारिता गर्ने वाहेकका व्यक्तिहरुलाई प्रवेशमा निषेध गर्ने परिपत्र छिट्टै केन्द्रबाट देशैभर प्रवाह गर्ने केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो । नयाँ सदस्यता आह्वानका लागि ७७ वटै जिल्लामा यही पुस मसान्त सम्मको म्याद थप गरिएको छ भने माघ १५ भित्र जिल्लामा आएका सदस्यहरुको छानविन सहित प्रदेशमा पठाउने समय तालिका दिइएको छ । प्रदेशले फागुन १५ सम्म जाँचवुझ गर्ने र त्यसपछि केन्द्रमा पठाउन निर्देशन दिइएको छ । केन्द्रले १५ दिनसम्म छानविन र जाँच गरी चैत्र मसान्त सम्म अन्तिम सदस्यहरुको नामावली प्रकाशित गर्ने कार्यतालिका पारित गरिएको हो ।

कार्यविधिमा उल्लेख भएका नियमहरु कार्यान्वयन गर्न निर्देशन दिँदै कार्यतालिका र कार्यविधि पुरा गरेर आउने व्यक्तिलाई मात्रै सदस्यता दिन निर्देशन दिइएको छ । अहिले भने मनत्री सभासद समेत पत्रकार महासंघको साधरण सदस्य रहेका छन् । अव कार्यविधि कार्यान्वयन सँगै सदस्यता शुद्धिकरणमा परिवर्तन आउने भएको छ । यद्यपी शिक्षक, वकिल, प्राध्यापकहरुलाई भने यथेष्ट पत्रकारिताको प्रमाण पेश गरी सदस्यता नविकरण एवम नयाँ सदस्यता माग गर्न सक्ने पनि बैठकमा सहमति भएको छ । वर्तमान कार्यसमितिको म्याद आगामी भदौमा सकिने र सवै कामहरु समयमै सकिए महाधिवेशन समयमै हुने अन्यथा विद्यानमा उल्लेख भए अनुसार ६ महिना थप्न सकिने पनि आजको बैठकमा प्रष्ट पारिएको छ ।

नेपाल पत्रकार महासंघ पुर्बी शाखा नवलपरासीको आथिथ्यतामा सम्पन्न भएको भेला ऐतिहासिक र महत्वपुर्ण निर्णय हुन सकेको भन्दै प्रदेश अध्यक्ष, जिल्ला अध्यक्षहरुले कार्यविधि कार्यान्वयन केन्द्रदेखि जिल्लासम्म गर्न आग्रह गरेका छन् । सधैँ लिखितमा सिमिति कार्यविधिहरु अव व्यवहारमा ल्याउन जरुरी रहेको भन्दै पत्रकारिता गर्ने व्यक्तिमात्रै समावेश हुनुपर्नेमा जोड दिएका थिए । महासचिव रमेश विष्टको अध्यक्षतामा सम्पन्न बैठकमा उपस्थित सवैलाई पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाटले मायाको चिनो दिएर विदाई गर्नुभएको थियो । कार्यक्रममा देश भरिका ६० पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालले गर्नुभएको थियो भने मायाको चिनो प्रदान कार्यक्रमको सहजीकरण पत्रकार महासंघ नवलपुरका सचिव प्रेम न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित : २०७६ मंसिर ३० गते १९:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI