अमिताभ बाग्चीलाई डिएससी दक्षिण एसियाली साहित्य पुरस्कार

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १ गते ९:५७
अमिताभ बाग्चीलाई डिएससी दक्षिण एसियाली साहित्य पुरस्कार

अमिताभ बाग्चीको उपन्यास ‘हाफ द नाइट इज गन’लाई डिएससी दक्षिण एशियाली साहित्य पुरस्कार प्रदान गर्दै आठौं आईएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करण सोमबार सकिएको छ ।

पुरस्कार वितरण समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथि रहेका थिए । मन्त्री ज्ञवालीले बाग्चीलाई २५ हजार डलरको यो पुरस्कार प्रदान गरेका थिए । 

पुरस्कारका लागि यो वर्ष ६ वटा पुस्तक ‘सर्ट लिस्ट’ मा परेका थिए । जसमा ‘हाफ द नाइट इज गन’ वाहेक मनोरञ्जन व्यापारी लिखित देयर इज गनपाउडर इन द एअर, माधुरी विजयको द फार फिल्ड, राजकमल झा लिखित द सिटी एण्ड द सी, पाकिस्तानी मूलका अमेरिकी लेखकद्वय सादिया अब्बास र जामिल जान कोचाईको क्रमशः द इम्प्टी रुम र नाइन्टीनाइन नाइट्स इन लोगार थिए । 

सूचीमा परेका पुस्तकका लेखक माधुरी विजय, सादिया अब्बास बाहेक सबै लेखक र निर्णायक विख्यात लेखक, साहित्यकार हरिश त्रिवेदी (भारत), जेरेमी ट्यम्बिङ (बेलायत), कारमेन विक्रमागामागे (श्रीलंका), रिफत मुनिम (बाङ्लादेश) र कुन्द दीक्षित (नेपाल) पुरस्कार घोषणा समारोहमा उपस्थित थिए । 

यसवाहेक महोत्सवको चौथो अर्थात् अन्तिम दिन सोमबार पोखराको तालबाराही चोकमा लेखक सौरभ, राजनीतिज्ञ प्रदीप गिरी, पत्रकार राजकमल झा, कुन्द दीक्षित, अभिनेता विपीन कार्की लगायतले बहस गरे ।

महोत्सवकै अवसर पारेर कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलो काँस्कीको लेखनाथ नगरपालिकामा पर्ने अर्घाैं अर्चलेमा शिरोमणि संग्रहालय अवलोकन, शिरोमणि विमर्श, काव्यवाचन तथा पदयात्रा कार्यक्रम सम्पन्न भयो ।

सोमबारको पहिलो सत्र रह्यो, पात्रको तयारी । यो सेसनमा स्वेच्छा राउत, विपीन कार्की, सुरक्षा पन्त र सौगात मल्लले फिल्ममा पात्रको भूमिका निर्वाह गर्न अपनाएका र गरेका संघर्षको बेलिविस्तार लगाए ।

महोत्सवमा अर्काे सेसन रह्यो, विदेशी मिडियामा नेपाल । यो सेसनमा सुम्निमा उदास, दीपक अधिकारी, रजनीश भण्डारी र पावन माथेमाले छलफल गरे । छलफलमा २०७२ सालमा भारतले लगाएको नाकाबन्दी र त्यसअघि गएको भूकम्पलगायतका बेला विदेशी मिडियाले नेपाललाई कसरी केन्द्रमा राखेर समाचार प्रकाशन, प्रसारण गरे भन्ने विषयमा समेत चर्चा भयो ।

यही समयमा आफ्नै गाउँ फर्की आएँ शीर्षकमा अनुप बराल, राम गुरुङ र सरस्वती प्रतीक्षा छलफलमा उत्रिए । कर्मथलो छाडेर आफ्नो जन्मथलोबाटै सुकर्म गरिरहेका अर्थात् समाजको विकासमा केही गरौं भनेर लागिपरेका बराल र गुरुङले बाल्यकालदेखि युवावस्थासम्म आफ्नो गाउँठाउँलाई कसरी, कस्तोकस्तो अवस्थामा देखियो भन्नेबारे चर्चा गरे ।

महोत्सवमा इङ्लिस एन्ड भर्नाकुलर लिटरेचर्स इन साउथ एसिया शीर्षकमा पनि बहस भयो । यो शीर्षकमा हरिश त्रिवेदीसँग सञ्जीव उप्रेतीले अन्तर्संवाद गरे ।

महोत्सवको अर्काे सत्र रह्यो, कहाँ आइपुग्यो सिंहदरबार ? मा मानबहादुर जिसी, किरण गुरुङ र सोमलाल सुवेदीलाई अमृत सुवेदीले सवालजवाफ गरेका थिए । जबसम्म स्थानीय एवम् प्रदेश सरकारलाई स्वायत्त बनाइँदैन, तबसम्म विकास सम्भव नभएको उनीहरुले बताए ।

अर्काे सेसन चल्यो, राइटिङ दि पास्ट मा अमिताभ बाग्ची र अजपा शर्माले छलफल गरे ।

हाउ सेल्फी जर्नलिज्म इज अन्डस्ट्र्यान्डिङ डेमोक्रेसी को अर्को सेसनमा नेपाली टाइम्सका प्रधानसम्पादक कुन्द दीक्षित र इण्डियन एक्सप्रेस दैनिकका सम्पादक राजकमल झाले संवाद गरे । वक्ताहरुले पछिल्लो समय पहिलो हुने नाउँमा जथाभावी समाचार प्रसारणले लोकतन्त्रमा खतरा निम्त्याइरहेकोमा चिन्ता व्यक्त गरे ।

यसपछि थियो, हिन्दी कविता वाचन र मानुषी विमर्श । कुलदीप कुमारले हिन्दी कविता वाचन गरे भने प्रदीप गिरीले मानुषी विमर्शमा आफ्ना धारणा राखे ।

प्रकाशित : २०७६ पुष १ गते ९:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI