देउवा र पौडेल पक्षको कुरा नमिले पछि पौष १० सम्म काङ्ग्रेस बैठक स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ४ गते १८:५४
देउवा र पौडेल पक्षको कुरा नमिले पछि पौष १० सम्म काङ्ग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारका लागि निर्धारित बैठक यही पुस ९ गतेसम्मका लागि स्थगन गरिएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
 
उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी रहेकाले शुक्रबारको बैठक स्थगन गरिएको हो । पछिल्लो समय पार्टीको १४औँ महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ ।

गत मंसिर २६ गतेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले समुहले बैठक बहिस्कार गरेपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुन बस्न सकेको छैन ।

देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल कम्तिमा एक बर्ष बढाउने प्रस्ताव गर्दै तत्काल माधिवेशन नगर्ने तयारी गरेसँगै पोडेल र सिटौलाले बैठक बहिस्कार गरेका थिए । बैठक बहिस्कार गरे लगत्तै पौडेलले आफ्नै कार्यकक्षमा केन्द्रीय समितिका आफू निकट सदस्यहरुसँग छलफल गरेका थिए। कार्यसमितिमा बहुमत भएको नाममा वैठकमा निर्णय लाद्ने हो भने जे सुकै गर्नुहोस भनेर पौडेल हिडे ।

पौडेल र सिटोला हिडेपछि पनि सभापति देउवाले विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पुर्‍याउने, उपनिर्वाचनको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थप गरेको निर्णयलाई अनुमोदन गराए ।

त्यसपछि पार्टीभित्र सहमतिको उपाय खोज्दै पौडेल निवासमा पुगेका सभापति देउवालाई वरिष्ठ नेता पौडेलले १४औं अधिवेशनको कार्यतालिकालाई बैठकको एजेण्डा नबनाएसम्म आफूहरु केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुन नसक्ने जवाफ दिएर पठाएका थिए।

सभापति देउवाले विभागको केही संख्या बढाएर विभाग गठनको लागि सहयोग गर्न पौडेललाई भनेका थिए।भातृ संस्थाहरुको नेतृत्व अभावमा संगठन प्रभावित भएकोले तरुण दल र नेपाल विद्यार्थी संघ गठनका लागि पनि यहाँले सहयोग गर्नु पर्यो भनि सभापति देउवाले पौडेसँग सहयोगको लागि अनुरोध गरेका थिए।

साथै उनले आफू महाधिवेशन गर्ने कुरामा कहिँ असहमत नरहेको बताउँदै यसबारे विगतमा पनि पटक पटक कुरा गरेर सहमतिकै आधारमा पहिले विधानको दफा ७२ (४) बमोजिम अन्तरिम संरचना बनाउन राधेश्याम अधिकारीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई जिम्मा दिएको स्मरण गराएका थिए।

महाधिवेशनको कार्यतालिका आएपछि मात्रै ४ वर्षको कार्यकाल फागुनमा सकिन लागेको केन्द्रीय कार्यसमितिको समयावधि के कति थप गर्ने भन्ने बारे निधो हुन सक्ने धारणा भेटमा पौडेलले राखेका थिए।

सभापति देउवाले विधान बमोजिम समायोजनको प्रक्रिया टुंगो नलागेसम्म निर्वाचन समितिले कार्यतालिका बनाउन नसक्ने स्थितिबारे पौडेललाई स्मरण गराएका थिए।

प्रकाशित : २०७६ पुष ४ गते १८:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI