पोखरा प्रिमियर लिगमा चितवनको लगातार चौथो जित

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ६ गते १२:५७
पोखरा प्रिमियर लिगमा चितवनको लगातार चौथो जित

लोकेश बमले उत्कृस्ट ब्याटिंग गरेता पनि चितवन राइनोजसंग बिराटनगर टाईटन्स १८ रनले पराजित हुन पुगेको छ।

पोखरा प्रिमियर लिग अन्तर्गत आइतबारको पहिलो खेलमा चितवन राइनोजले पहिले ब्याटिंग गर्दै दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो।

लगातार चौथो जितसंगै चितवन राइनोज लिगको शिर्षस्थानमा रहँदै कम्तिमा प्लेअफ पुग्ने पक्का भएको छ भने फाइनल पुग्ने पनि लगभग पक्का जस्तो भएको छ। बिराटनगर भने ४ खेलमा दोश्रो हार पछि अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ। हार पछि बिराटनगरको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ। अन्य टिमको नतिजाको आधारमा बिराटनगरको भाग्य अब तय हुनेछ।

१४७ रनको लक्ष्य पछ्याउने क्रममा अत्यन्त नाजुक सुरुवात गरेको बिराटनगरले पहिलो ६ विकेट ३७ रनमै गुमाएको थियो। सुनिल धमला ५ रन, जैद आलम १ रन, कप्तान प्रदिप ऐरी ९ रन, नोमन खान १८ रन, राजु रिजाल १ रन तथा राजेश पुलामी १ खाता नखोली पेभेलियन फर्किए।

आठौँ नम्बरमा ब्याटिंग गर्न आएका लोकेश बमसंग छैठौं नम्बरमा ब्याटिंग गरेका पुनित मेहराले उत्कृस्ट साझेदारी गर्दै टिमलाई जितको आशा दिलाएका थिए। ७७ रनको साझेदारी गरे पछि १८ औं ओभरमा पुनितलाई रोहन मुस्तफाले बोल्ड गर्दै चितवनलाई खेलमा फर्काए। पुनितले २६ बलमा २ चौका मदतले २४ रन बनाए।

पुनितको विकेटपह्चि १९ औं ओभरमा करन केसीलाई पहिलो दुइ बलमा लगातार छक्का प्रहार गर्दै लोकेसले टिमलाई जितसम्म पुर्याउने प्रयास गरेका थिए। तर करनले तेश्रो बलमा लोकेशलाइ विकेटकिपर अनिल साहबाट क्याच आउट गराए। यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका बमले ३६ बलमा ५ छक्का र ५ चौका मदातले ६२ रन बनाए। लोकेशले यस अघि पोखरा पल्टन बिरुद्धको खेलमा मात्र खेल्ने मौका पाएका थिए।

१९ औं ओभरमा बिराटनगरले सबै विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो।

लोकेशले उत्कृस्ट ब्याटिंग गरे

चितवनको बलिंगमा करन केसी र भुवन कार्कीले समान ३/३ विकेट लिए। रोहन मुस्तफाले २ तथा सन्नी पटेलले १ विकेट लिए। सन्नीले ४ ओभरमा २ मेडन ओभर गर्दै १० रन मात्र खर्चिए।

चितवनको ब्याटिंग – आरिफ र सन्नीको उत्कृस्ट साझेदारी 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो।

चितवनको लागि आरिफ शेखले सर्वाधिक ३९ रन बनाए जुन क्रममा २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सन्नी पटेलले अविजित २७ रन बनाए जसमा १ चौका र ३ छक्का सामेल थियो। पारस खड्काले ३८ बलमा ५ चौका मदतले ३५ रन बनाए। बाबर हायातले ३१ बलमा २ चौका मदतले २५ रन बनाए।

७ रन बनाएका चितवन ओपनर रोहन मुस्तफा तेश्रो ओभरमा जितेन्द्र मुखियाबाट विकेटकिपर राजु रिजालबाट क्याच आउट गराएका थिए। दोश्रो विकेटको लागि कप्तान पारस खड्काले बाबर हायातसंग ४७ रनको साझेदारी गरे। ११ औं ओभरमा पारसलाई मोहम्मद जैद आलमले क्याच आउट गराए। लगत्तै अनिल शाह ३ रन बनाएर पुनित मेहराबाट बोल्ड भए। ठुलो सट खेल्न संघर्ष गरेका बाबर पनि १८ औं ओभरमा  किशोर महतोबाट क्याच आउट भए।

पाँचौ विकेटको लागि आरिफ शेख र सन्नी पटेलले मात्र १६ बलमा अविजित रहँदै ५४ रनको साझेदारी गरे।

बिराटनगरको बलिंगमा जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोमम्मद जैद आलमले समान १/१ विकेट लिए। जितेन्द्र मुखियाले ४ ओभरमा ५४ रन खर्चिए। मुखियाले गरेको १९ औं ओभरमा सन्नी पटेलले २ छक्का र एउटा चौका हिर्काएका थिए।

प्रकाशित : २०७६ पुष ६ गते १२:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI