बारामा धान उत्पादन ५० प्रतिशत घट्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ६ गते १४:२८
बारामा धान उत्पादन ५० प्रतिशत घट्यो

रासस

कलैया, पुस ६ गते । बारामा विभिन्न कारणले किसानले लगाएको धान उत्पादनमा यस वर्ष कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा पानी नपर्नु, रासायनिक मलखादको अभाव र फौजी किराको आक्रमण जस्ता कारणले कृषकले लगाएको चैते, भदैया, अगहनी धानको उत्पादनमा ५० प्रतिशत कमी आएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

यो वर्ष चैते १२ हजार ११३ हेक्टर, भदैया धान ११ हजार ९३० हेक्टर र अगहनी धान ३४ हजार १६३ हेक्टरसमेत गरी कूल ५८ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती भई एक लाख ३७ हजार ६२६ दशमल ३२ मेट्रिक टन धानको प्रतिक्विन्टल रु दुई हजार २०० का दरले रु तीन अर्ब दुई करोड ७७ लाख ७९ हजारको धान उत्पादन भएको कृषि प्राविधिक गेनालाल मण्डलले बताउनुभयो ।
गत आर्थिक वर्ष चैते धान १२ हजार २२५, भदैया धान ११ हजार ९२५ र अगहनी धान ३८ हजार ५५० समेत गरी कूल ६२ हजार ७०० क्षेत्रफलमा लगाएको हुँदा रु पाँच अर्ब ८८ करोड ५० लाख १९ हजार १४० बराबरको २२ लाख ६७ हजार ५०० दशमलव ८७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको कार्यालयले जनाएको छ ।

नगदे बालीका रूपमा उखु खेती र माछा पालनतिर किसान बढी केन्द्रित भएको हँुदा धान उत्पादनमा कमी आउने गरेको ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो ।

कलैया बजारमा तरकारी मूल्य सस्तो

कलैया बजारमा हरियो तरकारीको मूल्य गत महिनाभन्दा अहिले सस्तो भएको छ । कृषकले खेती गरेको हिउँदे तरकारीहरु बजारमा आउन थालेपछि पहिलाभन्दा अहिले सस्तो भएको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो । केराउ प्रतिकिलो ६०, गोलभेँडा ४०, बन्दाकोभी ५०, काउली ४०, भण्टा २०, मूला १० रुपैयाँ किलोका दरले बिक्री भइरहेको छ ।

त्यसैगरी रायो पाँच, पालुङ्गो १०, मेथी १०, चम्सुर १० रुपैयाँ पुलाको बिक्री भइरहेको छ । गत महिना काउली प्रतिकिलो रु ८०, केराउ १७०, गोलभेँडा २४०, भण्टा ५०, हरियो सागसब्जी प्रतिपुला रु २० का दरले भइरहेको थियो । तरकारी अहिले सस्तो भएपछि राहत महसुस भएको वस्तपुरका इमरान आलमले भन्नुभयो । यस वर्ष किसानहरुले छ हजार ३२५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका हिउँदे तरकारी खेती गरेको ज्ञान केन्द्रका प्राविधिक मण्डलले जानकारी दिनुभयो ।

प्रकाशित : २०७६ पुष ६ गते १४:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI