कोहली चम्किदा भारतले जित्यो सिरिज, कोहलीले उछिने कालिसलाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ७ गते ८:३१
कोहली चम्किदा भारतले जित्यो सिरिज, कोहलीले उछिने कालिसलाई

वेस्ट इन्डिजको भारत टुर अन्तर्गत एकदिवसीय सिरिज भारतले २-१ ले जितेको छ। बराबटि स्टेडियम कटकमा सम्पन्न खेलमा वेस्ट इन्डिजले दिएको ३१६ रनको लक्ष्य भारतले ६ विकेट गुमाएर पुरा गर्दै ४ विकेटको जित दर्ता गरेको हो।

सिरिज अन्तर्गत पहिलो खेल वेस्टइन्डिजले ८ विकेटले जितेको थियो जसपछि दोश्रो खेल भारतले १०७ रनले जितेको थियो। भारतले यस अघि टि-२० सिरिज पनि २-१ ले जितेको थियो।

भारतको जितमा कप्तान बिराट कोहलीले सर्वाधिक ८५ रन बनाए। उनले ८१ बलमा ९ चौका प्रहार गरे। यस्तै लोकेश राहुलले ७७ , रोहित शर्माले ६३ रन बनाए जुन क्रममा दुवैले ८ चौका र १ छक्का प्रहार गरे। पहिलो तिन नम्बरका ब्याट्सम्यानले रन बनाएता पनि मध्यक्रमका ब्याट्सम्यानहरु फेल हुँदा भारत एक समय हारको खतरामा थियो।

रोहित र राहुलले पहिलो विकेटको लागि १२२ रनको साझेदारी गरेका थिए। रोहितको विकेट पछि राहुल र कोहलीले ४५ रनको साझेदारी गरे। त्यसपहि श्रेयस ऐयर र रिशभ पन्त समान ७ रन बनाएर आउट भए भने केदार जाधब ९ रन बनाएर आउट हुँदा भारत २२८/५ को स्थितिमा पुग्यो।

सो अवस्थाबाट कोहलीले रभीन्द्र जडेजासंग छैठौं विकेटको लागि ५८ रनको महत्वपूर्ण साझेदारी गर्दै भारतलाई जित नजिक पुर्याए। ४७ औं ओभरमा कोहली किमो पौलबाट बोल्ड आउट भए पछि जडेजाले शार्दुल ठाकुरसंग अविजित ३० रनको साझेदारी गर्दै ८ बल अगावै जितसम्म पुर्याए। जडेजाले ३१ बलमा ४ चौका मदतले ३९ रन बनाए। शार्दुलले ६ बलमा २ चौका र १ छक्का मदतले १७ रन बनाए।

वेस्टइन्डिजको बलिंगमा किमो पौलले सर्वाधिक ३ विकेट लिए। यस्तै शेल्डन कटरेल, जेसन होल्डर र अल्जारी जोसेफले समान १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३१५ रन बनाएको थियो।

वेस्टइन्डिजको लागि छैठौं नम्बरमा ब्याटिंग गरेका निकोलस पुरनले सर्वाधिक ८९ रन बनाए जुन क्रममा ६४ बलमा १० चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान काइरन पोलार्डले अविजित ७४ रन बनाए जसले ५१ बलमा ७ छक्का र ३ चौका प्रहार गरे। पोलार्ड र पुरनले पाँचौ विकेटको लागि १३५ रनको साझेदारी गरेका थिए। यस्तै शाइ होपले ४२, रोस्टन चेजले ३८ तथा शिमरन हेटमायरले ३७ रन बनाए।

भारतको बलिंगमा नभदिप सैनीले २ तथा शार्दुल ठाकुर, मोहम्मद शामी र रभीन्द्र जडेजाले समान १/१ विकेट लिए।

सिरिजमा कुल २५८ रन बनाएका रोहित प्रतियोगिताको उत्कृस्ट खेलाडी चुनिए।

कोहलीले उछिने कालिसलाई 

तेश्रो एकदिवसीयमा ८५ रनको इनिंगसंगै बिराट कोहली ज्याक कालिसलाई पछि पार्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रन बनाउने ब्याट्सम्यानको सुचीमा सातौँ स्थानमा उक्लेका छन्। आठौँ नम्बरमा पुगेका कालिसले ११ हजार ५ सय ७९ रन बनाएका थिए। कोहलीको अब ११ हजार ६ सय ९ रन पुगेको छ।

कोहली भन्दा अघि अब इन्जमाम उल हक ( ११,७३९ रन ) , महेला जयवर्धने ( १२,६५० रन ) , सनथ जयसूर्या ( १३, ४३० ) , रिकी पोन्टिङ ( १३,७०४ ) , कुमार संगाकारा ( १४,२३४ रन ) र सचिन तेन्दुलकर ( १८,४२६ रन ) रहेका छन्।

कोहलीले हालसम्म एकदिवसीयमा ४३ शतक र ५५ अर्धशतक प्रहार गरेका छन्। सचिन तेन्दुलकर ( ४९ शतक ) पछि कोहली एकदिवसीय शतकमा दोश्रो स्थानमा रहेका छन्।

प्रकाशित : २०७६ पुष ७ गते ८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI