के के छ्न आजको पत्रपत्रिकामा ?- हेर्नुहोस प्रेस रिभ्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ९ गते ८:१०
के के छ्न आजको पत्रपत्रिकामा ?- हेर्नुहोस प्रेस रिभ्यु

आज पुस ९ गते बुधबार प्रकाशित मुख्य दैनिक पत्रपत्रिकाले समाजवादी पार्टी सरकारबाट बाहिरीएको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । समाचारमा देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सुत्र लामो समयदेखि ‘बिग्रिएको’ बताइएको छ । त्यसैगरी क्यान्सरलगायत रोगको परीक्षण गर्न दैनिक एक हजार नमुना भारत जाने गरेको विषयले पनि आज प्राथमिकता पाएको छ ।

के गर्ला राजपा ?

कान्तिपुर दैनिकले ‘बाहिरियो समाजवादी’ र ‘के गर्ला राजपा ?’ शीर्षकमा छुट्टटाछुट्टै समाचार लेख्दै सरकारले दुई तिहाइ बहुमत गुमाएको उल्लेख गरेको छ । संविधान संशोधन गर्ने पुरानो सहमतिमा सरकार प्रतिबद्ध नभएको भन्दै समाजवादी पार्टी सत्ताबाट बाहिरिएसँगै नेकपा नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको समर्थन गुमाएको छ ।

सोमबारको मन्त्रीपरिषद् बैठकमा समाजवादीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको मस्यौदा पेस गर्न ख्याति प्राप्त संविधानविद् या पूर्वन्यायाधीशको संयोजकत्वमा विज्ञ समिति बनाउनुपर्ने प्रस्ताव लगेका थिए ।

उता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि धेरैको आँखा अर्को दल राजपातिर सोझिएको समाचारमा उल्लेख छ । राजपा अब संघीय सरकारमा समेल हुन्छ र प्रदेश नं २ को सरकारसमेत हेरफेर हुन्छ भनेर राजनीतिक वृत्तमा अड्कल गर्न थालिएको छ । अड्कलवाजी जति सहजरुपमा गरिएको छ, राजपाका लागि भने सत्तारोह त्यत्तिकै कठिन छ । राजनीतिक इमान ख्याल गरेन र परिस्थितीअनुसार आफूलाई बदल्यो भने राजपाको सत्तारोहण धेरै टाढा छैन । केही समयदेखि आफैले भन्दै आएका एजेन्डा सम्झियो भने उसका लागि सत्तारोहण सजिलो छैन ।

बिग्रियो ‘सुत्र’ नष्ट भए डाटा

अन्नपूर्ण पोस्ट्का अनुसार देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सुत्र लामो समयदेखि ‘बिग्रिएको’ छ । सम्बद्ध अधिकारीहरुले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन् । यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन् । महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’ को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ ।

चिनियाँमाथि कारबाही गर्न अन्योल

काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई कुन कसुरअन्तर्गत कारबाही गर्ने भन्नेमा प्रहरीमा अन्योल छ । कान्तिपुरमा प्रकाशित समाचारका अनुसार कसुर नखुलाई नियन्त्रणमा लिएका उनीहरुविरुद्ध अभद्र व्यवहार गरेको अभियोगमा अनुसन्धान गर्न मंगलबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको हिरासत म्याद लिइएको छ ।

‘पक्राउ त गरियो तर कुन कसुरमा अनुसन्धान गर्ने भन्नेमै हामी अलमलमा छौं’ स्रोत उल्लेख गर्दै समाचार लेखिएको छ, ‘उनीहरु अहिलेसम्म कुन अपराधमा संलग्न छन् भन्ने खुलीसकेको छैन । भाषा समस्याका कारण पनि अनुसन्धानमा जटिलता भएर तत्कालका लागि अभद्र व्यावहारमा म्याद थप गरिएको छ ।’

गुट–उपगुटले ग्रस्त कांग्रेस

नागरिक दैनिकका अनुसार पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । तर एक वर्ष समय थप गर्ने समझदारी पार्टी्भित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधिअनुसार पार्टी चलाउन मिल्दैन ।

१३ औं महाधिवेशन अन्त्यसँगै अर्को महाधिवेशनको जोडघटाउ र नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा सुरु हुँदा कांग्रेसमा उल्दै गुटबन्दी झाँगिन पुग्यो । जसले गर्दा पार्टी पनि विधिअनुसार चल्न सकेन । आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह कांग्रेसमा सक्रिय हुँदा केन्द्रदेखि गाउँसम्मको संगठन विभाजित भएको छ ।

रोग परीक्षणका लागि दैनिक एकहजार नमुना भारततर्फ

नयाँ पत्रिकाका अनुसार विश्व बैंक र विश्व स्वास्थ्य संगठनले धेरै संक्रामक रोगको परीक्षण नेपालमै होस् भनेर ६ वर्षअघि टेकुमा प्रयोगशाला बनाइदिएका थिए । त्यो प्रयोगशाला नचलेपछि क्यान्सरलगायत रोगको परीक्षण गर्न दैनिक एक हजार नमुना भारत जाने गरेको छ ।
इबोला, निपा, प्लेग, सार्स, इन्फ्लुएन्जा, टोगाभाइरस, हेजमोराइज फिभर, क्यु फिभर, एन्थ्रक्स रिक्लिट सिनलगायतका संक्रामक रोग मात्र होइन, क्यान्सर, क्षयरोग, हर्मोन, प्रजनन् स्नायु रोगको समेत नमुना परीक्षण हुन सक्छ । तर यो प्रयोगशाला बन्द छ । नेपालमै सुविधा नहुँदा यस्ता रोगको आशंकामा दिनमा हजारभन्दा बढी बिरामीको नमुना भारत पठाउनुपर्ने बाध्यता छ ।

प्रकाशित : २०७६ पुष ९ गते ८:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI