वृद्धवृद्धालाई जाडोबाट कसरी जोगाउने ? के खुवाउने ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १० गते १८:१७
वृद्धवृद्धालाई जाडोबाट कसरी जोगाउने ? के खुवाउने ?

डा जया प्रधान

जाडो मौसम प्रायः सबैका लागि असहज नै हुन्छ। अझ वृद्धवृद्धाका लागि त यो मौसम निकै कष्टकर हुन्छ। जाडोले उनीहरुको स्वास्थ्यमा छिट्टै नकारात्मक प्रभाव पार्न सक्छ। मुटु तथा श्वास–प्रश्वासका बिरामी छन् भने त यो मौसमले झन् जटिल समस्या ल्याउन सक्छ।

प्रत्येक वर्ष २० हजारभन्दा बढी वृद्धवृद्धाको मृत्यु जाडोको कारणले हुने गरेको छ। यसरी मृत्यु हुनेमा आधा अर्थात् १० हजार जति मुटुसम्बन्धी रोग लागेका पर्छन् भने ५ हजार जति श्वास–प्रश्वाससम्बन्धी रोग लागेका र मांसपेसी कमजोर भई लड्ने गरेका हुने अध्ययनले देखाएको छ। 

वृद्धावस्थामा प्राकृतिक तवरले शरीरको क्रियाकलापमा कमी आउने, शरीर कमजोर हुने, खानाप्रति रुचि कम हुने, खाएको खाना उचित रुपमा सदुपयोग गर्न नसक्ने जस्ता कारणले रोग–प्रतिरोधात्मक क्षमतामा कमी आउने हुन्छ। जसका कारण जाडो याममा छिट्टै संक्रमण हुने सम्भावना बढी हुन्छ। 

यसका साथै मुटुसम्बन्धी रोग तथा ब्रोङ्काइटिस, दम, इम्फिसेमा जस्ता श्वास–प्रश्वाससम्बन्धी रोग लाग्दा स्थिति झन् नाजुक बनाउँछ। 

जाडोबाट बच्न न्यानो लुगा, बस्ने उचित व्यवस्था मिलाउनुका साथै दैनिक खानामा पनि ध्यान पु¥याउन सकेमा यस्ता समस्या हुनबाट केही हदसम्म जोगिन सकिन्छ। भन्डै ९० प्रतिशत जति व्यक्तिको स्वास्थ्य स्थिति उसले खाने खानामा भर पर्छ।

स्वास्थ्य र पोषिलो खानाले वृद्धावस्थामा देखिने विविध प्रकारका रोगहरु जस्तै मुटुसम्बन्धी रोग, केही प्रकारका क्यान्सर, कब्जियत, मोटोपना, दाँत किराले खाने, कुहिने आदि समस्यालाई कम गर्छ। उचित प्रकारले खाद्य पदार्थको छनोट र उपयुक्त खाना खाने बानीले शरीर स्वस्थ र न्यानो राख्न मद्दत पुयाउँछ। 

अन्य अवस्थाको साथै जाडो याममा दैनिक भोजनको व्यवस्था गर्दा तिनै खाद्य समूहबाट पर्ने गरी भोजनको योजना गर्नुपर्छ। यसरी योजना गर्दा व्यक्तिको दैनिक क्यालोरी, प्रोटिन, खनिज पदार्थ, भिटामिनको आवश्यकता, उसको शरीरिक अवस्थालाई ध्यान पुर्‍याउनुपर्छ।

साधारणतयाः वृद्धावस्थामा शारीरिक क्रियाकलाप कम हुने भएकोले व्यक्तिको बेसल मेटाबोलिजमको दर (बिएमआर) कम हुन्छ तर जाडोमा अन्य मौसममा भन्दा बिएमआर बढ्ने हुनाले यस समयमा केही थप क्यालोरी आवश्यक पर्छ। व्यक्तिको शरीरको तौलअनुसार दैनिक परिमाण कम वा बढी गर्नुपर्छ। वृद्धावस्थामा क्यालोरीको परिमाण कम गरे पनि प्रोटिनको आवश्यकता वयष्कलाई जति नै पर्छ।

यस अवस्थामा पुरुषको लागि एक किलोग्राम शरीरको तौलबराबर एक ग्राम प्रोटिन आवश्यक हुन्छ भने महिलाको लागि ०.८ ग्राम प्रोटिन आवश्यक हुन्छ। यस अवस्थामा खासगरी प्रोटिनको आवश्यकतालाई विशेष ध्यान दिनुपर्छ। एक त उनीहरुमा खानामा रुचि  कम हुने र राम्ररी पचाउन नसक्ने  हुन्छ भने अर्कोतिर मांसपेसी कमजोर हुने भएकोले खानामा प्रोटिन भएको खाद्यपदार्थ समावेश गर्दा गुणस्तरीय प्रोटिनयुक्त खाद्यपदार्थको छनोट  गर्नुपर्छ। 

यस अवस्थामा प्रायजसो  क्याल्सियम, लौहतत्व जस्ता खनिज पदार्थ राम्ररी शोषण नहुने,  हाडको धनत्व कम हुने, मांसपेसी कमजोर हुने, अस्टोमलेसिया, एनिमियाजस्ता समस्या हुन्छन् भने जाडो मौसममा यीबाहेक शरीरको तापक्रम कम भई चेतना हराउने, लडेर हातखुट्टा भाँचिने सम्भावना हुन्छ। यसको लागि दैनिक खानामा प्रशस्त क्याल्सियम तथा लौहतत्वयुक्त खाद्यपदार्थ समावेश गर्नुपर्छ।  

यस अवस्थामा दैनिक क्याल्सियम ०.८ देखि १० ग्राम र लौहतत्व ३० देखि ४० मिलिग्राम आवश्यक पर्छ। यसैगरी शरीरमा संक्रमण रोग लाग्न नदिन तथा अन्य पौष्टिक तत्वको कार्यलाई टेवा पु¥याउन दैनिक खानामा भिटामिनलाई पनि ध्यान दिनुपर्छ। विशेषगरी ए, बी, बी१२, सी र डी भिटामिन खानाबाट पूर्ति गर्नुपर्ने हुन्छ।

कब्जियत र जलवियोजन जस्ता समस्याले बुढाबूढीलाई बढी पिरोलेको हुन्छ। एक त यस उमेरका व्यक्तिमा तिर्खा नलाग्ने, तिर्खा नलागुन्जेलसम्म पानी नपिउने बानी, त्यसमाथि जाडो मौसममा साधारणतयाः कम मात्र पानी पिउने हुन्छ। यसैगरी खाना चपाउन र पचाउन गाह्रो हुने भएकाले दैनिक भोजनमा फाइबरयुक्त खाद्यपदार्थ समावेश पनि कम हुन्छ। यी समस्यालाई कम गर्न खानामा पोषिलो, तातो झोल खाद्यपदार्थ तथा हल्का पचाउन सक्ने किसिमको फाइबरयुक्त पदार्थहरु समावेश गर्नुपर्छ। यसबाहेक उनीहरुलाई सकेसम्म बढी पानी पिउनमा जोड दिनुपर्छ।

ध्यान दिनुपर्ने कुरा
वृद्धावस्थामा शरीरका सम्पूर्ण प्रणालीमा धेरै परिवर्तन हुन्छ भने उनीहरू कुनै न कुनै रोगबाट ग्रसित हुन्छन्। जाडो याममा त उनीहरुको स्थिति झन् नाजुक हुन सक्छ। त्यस कारण जाडोबाट बच्न र स्वस्थ रहन अन्य कुराका साथै दैनिक पोषिलो र तातो खानामा ध्यान पुर्‍याउनपर्छ। यसका साथै निम्न कुराहरुमा पनि ध्यान दिनुपर्छः

–    दैनिक भोजनको योजना गर्दा पोषिलो खाद्यसमूहबाट पर्ने गरी खाद्यपदार्थको छनोट गर्नुपर्छ।
–    मौसमअनुसार खाद्यपदार्थको छनोट गर्नुका साथै बुढाबूढीले खाना चपाउन तथा पचाउन सक्ने हुनुपर्छ।
–    यस अवस्थामा छिटो खान नसक्ने र चाँडै खाना चिसो हुने भएकोले थोरै तर पटकपटक दिँदा बेस हुन्छ। 
–    प्रोटिन तत्वहरु शरीरमा राम्ररी शोषण नहुने भएकोले यी तत्वहरुको परिमाण र गुणस्तरमा ध्यान दिनुपर्छ। 
–    बुढाबुढीलाई दिने खानाको उचित छनोट गर्नुका साथै पकाउने उपयुक्त विधि अपनाउनुपर्छ। किनकी प्रायजसोको दाँत र गिजा कमजोर हुने भएकाले उनीहरु  नरम खाना रुचाउने हुन्छन्। 
–    प्रायः जाडो मौसममा शरीरको तापक्रम कम भई बिसन्चो हुने, चेतना हराउने, एकाग्रता नहुने, विस्तारै श्वास फेर्ने, नाडी कमजोर हुने उचित उपचार नपाएमा मृत्युसमेत हुनसक्ने भएकोले पोषिलो तथा तातो खानाको व्यवस्थाका साथै सम्बन्धित चिकित्सकसँग उचित परामर्श लिनुपर्छ। 
– प्रशस्त तातो पोषिलो झोल पदार्थ पानी पिउन दिनुपर्छ। यस उमेरसम्म आफ्नै प्रकारको खाना खाने प्रवृत्ति तथा बानी हुने भएकोले सम्झाइबुझाइ नकारात्मक बानीमा परिवर्तन गर्नुपर्छ। 
–    दैनिक खानामा प्रशस्त मात्रामा दुध, माछा, मासु, अन्डा, हरियो सागपात, ताजा फलफूल समावेश गर्नुपर्छ। 
–    भिटामिन  ‘सी’ युक्त फलफूल, जुस, सुप दैनिक भोजनमा कमसे कम एक पटक समावेश गर्नुपर्छ। 
–    इच्छा लागेर पनि दाँतको कारणले वा खान गाह्रो भई कतिपय खानेकुरा खान नसक्ने  हुन्छ। जसले गर्दा कहिलेकाहीँ वृद्धहरु पोषिलो खानाबाट वञ्चित हुन बाध्य हुन्छन्। त्यस्तो अवस्थामा मसिनो गरी काटेर अन्य खाद्यपदार्थको साथ मिलाई नरम पारेर पकाउनेजस्ता कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। 
–    यदि खानाप्रति रुचि कम छ भने सकेसम्म स्वादिलो तवरले आकर्षक ढंगले सजाएर खुवाउँदा बेस हुन्छ। 
–    सकेमा मुख्य खानाको बीचबीचमा दुध, सुप, जुस दिँदा बेस हुन्छ। साथै राति सुत्नुअगाडि तातो दुध पनि दिन सकिन्छ। थर्मसमा सम्भव भए तातो झोल पदार्थ अथवा नभए तातो पानी मात्र भए पनि राखिदियो भने बुढाबूढीहरु आफैंले समयसमयमा पिउन सक्छन्।

(डा प्रधान पोषणविद् हुन्)

प्रकाशित : २०७६ पुष १० गते १८:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI