के के छ्न आजको पत्रपत्रिकामा ?? हेर्नुहोस प्रेस रिभ्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १५ गते ९:०५
के के छ्न आजको पत्रपत्रिकामा ?? हेर्नुहोस प्रेस रिभ्यु

काठमाडौँ । आज पुस १५ गते मङ्गलबार प्रमुख राष्ट्रिय दैनिकहरुमा सैन्यसेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनाएको विषयलाई प्राथमिकता दिइएको छ । त्यस्तै, उखु किसानहरुको आन्दोलनको बारेमा समाचारहरु प्रकाशित छन् ।
सर्वोच्च अदालतले सैन्यसेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । यौनसम्पर्क, यौनशोषण र जबर्जस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्तालगायतका सुविधा खोसिने भएको छ। दुई सैनिकबीच भएको यौन प्रकरणमा जंगी अड्डाले कारबाही गरेपछि सर्वोच्च पुगेको एक विवादमा यस्तो फैसला आएको हो।

सर्वोच्च अदालतले पदीय हैसियत र प्रभावमा हुने ‘शारीरिक सम्बन्ध’ लाई पेसागत मर्यादाविरुद्ध भन्दै नेपाली सेनाका एक क्याप्टेन र सैनिकलाई दोषी ठहर गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ । चेन अफ कमान्डमा रहने कर्मचारीबीचको सम्बन्धलाई सहमतिका आधारमा हो भनेर मात्रै उन्मुक्ति दिन नमिल्ने भन्दै सर्वोच्चले चण्डीदल गणका क्याप्टेन भूपेन्द्र खड्का र उनकै मातहत कुचीकार पदमा कार्यरत सैनिक विशेष अदालतबाट तोकिएको सजाय सदर गरेको हो । आफूमातहत कार्यरत युवतीसँग बारम्बार शारीरिक सम्पर्क राखेको, विवाहितसमेत रहेकी ती युवती त्यही क्रममा गर्भवती भएको र उनलाई गर्भपतनका लागि भारत लैजान सघाएको आरोपमा खड्का पक्राउ परेका थिए । उनलाई समरी सैनिक जनरल अदालतले ०६९ पुस ५ मा २० दिन कैद सजाय तोक्ने र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने फैसला गरेको थियो । सैनिक अदालतले ती पीडित कुचीकारलाई पनि जागिरबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । सैनिक विशेष अदालतले सोही फैसलालाई सदर गरेपछि खड्काले आफूमाथि अन्याय भएको दाबीसहित सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

‘सैनिक ऐन २०६३ को दफा ५२ (छ) को कसुरअन्तर्गत पर्ने देखिएकोले दफा १०१ (१) (ग) बमोजिम २० दिन कैद र १०१ (१) (घ) बमोजिम भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी भएको समरी जनरल सैनिक अदालतको फैसला सदर गरी सैनिक विशेष अदालतबाट २०७० पुस ४ मा भएको फैसला उत्पेषणको आदेशले बदर हुनसक्ने देखिएन’, सर्वोच्चले भनेको छ।

‘उत्प्रेषणको आदेश जारी हुन नसक्ने हुँदा सहसेनानी पदमा बहाल गरी मुद्दा अवधिदेखिकै तलब भत्तालगायतका सुविधा दिनू भनी परमादेशसमेत जारी हुन सक्ने देखिएन। प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ’, सर्वोच्चको ठहर छ। खड्काले साबिककै सहसेनानी पदमा बहाल रही मुद्दा अवधिदेखिकै तलब भत्तालगायतका सुविधा माग गर्दै रिट दर्ता गरेका थिए। ‘म अविवाहित युवकले ड्युटीभन्दा बाहिरको बखतमा गैरसार्वजनिक स्थानमा कुनै पनि प्रचलित कानुनविपरीत नहुने गरी सहमतिले करणी गर्नु कुन अपराध हो’, उनले रिटमा सोधेका थिए। सर्वोच्चले गत वैशाख १५ मा गरेको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक गरेको हो।

पत्रिकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटको शल्यक्रियाको असरबाट पूर्णरुपमा ठीक हुन अझै चारदेखि ६ सातासम्म लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएको समाचार पनि छ । ‘बाहिरबाट हेर्दा घाउ निको भएको देखिए पनि त्यो ठाउँ बलियो हुन अझै चार देखि ६ सातासम्म लाग्न सक्छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने । प्रधानमन्त्रीको पेटमा शल्यक्रियापछि लगाइएका टाँका अघिल्लो साता नै हटाइसकिएको छ । ‘अब उनमा शल्यक्रियापछि देखिएका संक्रमण केही पनि छैन,’ अर्का एक चिकित्सकले भने । शल्यक्रियापछि संक्रमणको असर पेट र रगतमा देखिएको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका थिए । हाल प्रधानमन्त्री सक्रिय रुपमै काममा फर्किए पनि केही बचाउका उपाय अपनाउनु राम्रो हुने विशेषज्ञहरुले औँल्याएका छन् । शल्यक्रियाको असरबाट सामान्य रुपमा मुक्त भए पनि प्रधानमन्त्री ओली मौसमी रुघाखोकीबाट जोगिनुपर्ने विशेषज्ञहरु बताउँछन् ।

किसानको २१ करोड नतिर्ने कनोडिया प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता रहेको याँ पत्रिका दैनिकमा समाचार छ । वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता हुन् । कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन् । उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान गरेको छैन । अझ सरकारले खोज्दासमेत सम्पर्कमा नआएको कृषिमन्त्री घनश्याम भुसालको दाबी छ । ‘अन्नपूर्ण र महालक्ष्मी सुगर मिलका सञ्चालक सम्पर्कविहीन छन्, उनीहरूलाई सम्पर्कमा ल्याउने र किसानको बक्यौता भुक्तानी गराउन सरकारले प्रयास गरिरहेको छ,’ प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा मन्त्री भुसालले भने ।

सोमबार साँझ उनले नयाँ पत्रिकासँग भने, ‘म सरकारको सम्पर्कमा नआएको भन्ने आरोप निराधार हो । मेरो उद्योगमा भुक्तानीको समस्या छैन ।’ तर, महालक्ष्मी सुगर्स मिलले २१ करोड भुक्तानी गर्न बाँकी रहेको तथ्य स्मरण गराउँदा उनले भने, ‘म पैसा तिर्दै आएको छु, आगामी सोमबार १४ करोड भुक्तानी गर्दै छु ।’  उखु किसानले सरकार र उद्योगीबाट तीन अर्ब भुक्तानी नपाएको विषयमा संघीय संसद्मा प्रश्न उठेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकले किसानलाई पैसा नतिर्ने उद्यमीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उखु किसानको पक्षमा आवाज उठाए । सत्तापक्षका सांसदले सरकारको आलोचना गर्दै किसानको पक्षमा आवाज उठाउँदा प्रमुख प्रतिपक्षी दलका सबै सांसद मौन थिए । आफ्नै पसिनाको मूल्य खोज्दै काठमाडौं आएका किसानले १५ दिनदेखि सडकमा आन्दोलन गर्दा पनि प्रमुख प्रतिपक्षी कांग्रेसले सदनमा एउटा पनि प्रश्न गर्न सकेको छैन । सरकारमाथि निगरानी राख्नुपर्ने र जनताका आवाज बुलन्द गर्नुपर्ने दायित्व बोकेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले उखु किसानको विषयमा औपचारिक धारणासमेत सार्वजनिक गरेको छैन ।

रुघाखोकी लाग्दा हेलचक्र्याइँ गरे मृत्यु समेत हुनसक्ने आजको नागरिक दैनिकमा समाचार छ । डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो। उनले त्यसलाई सामान्य रूपमा लिए। ज्वरो आएपछि मात्रै उनी नजिकैको नागरिक सामुदायिक अस्पतालमा पुगे। संक्रमण बढ्दै गएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो। त्यहाँबाट पनि मंगलबार राति महाराजगन्जस्थित शिक्षण अस्पतालको आइसियुमा भर्ना गरियो। संक्रमण अन्य अंगमा फैलिएपछि उपचारकै क्रममा गत बिहीबार उनको मृत्यु भयो। उनको मृत्युको मूल कारण भाइरल रुघाखोकी लाग्दा पनि हेलचेक्र्याइँ गरी ढिलो उपचारमा पुग्नु रहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्। चिकित्सकका अनुसार उपचारमा ढिलाइ भएपछि संक्रमणका कारण उनका धेरै अंग फेल भएका थिए। भाइरल रुघाखोकीमा हेलचेक्र्याइँ गरी ढिलो उपचार सुरु गर्दा गत महिना आइसियुमै अर्को एकजनाको मृत्यु भएको अस्पतालले जनाएको छ। भाइरल रघाखोकीकै कारण यो महिना मात्र चारजनाको मृत्यु भइसकेको अस्पतालको भनाइ छ। शिक्षण अस्पतालको आकस्मिक कक्षका प्रमुख डा। आचार्य भन्छन्, ‘भाइरल ज्वरो भनेर हेलचेक्र्याइँ गर्दा मर्नुनपर्नेहरू पनि मरिरहेको अवस्था छ।’ चिसोकै कारण दम बढ्ने र भाइरल संक्रमणले दमका बिरामीलाई एक्कासि दम बढ्छ। यो दमले कतिपयमा निमोनियाको रूप लिन्छ। यस्तो संक्रमणमा बिरामी ढिला अस्पताल आइपुगेकै कारण नहुनुपर्ने मृत्यु हुने गरेको आकस्मिक कक्षका डा। शाक्यको भनाइ छ। ‘बिरामी बेहोसमा पुग्ने अवस्था भएपछि मात्र अस्पताल आउने गरेको देखिन्छ,’ उनले भने।

प्रकाशित : २०७६ पुष १५ गते ९:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI