पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १६ गते १०:०५
पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ

रासस ,पोखरा, पुस १६ गते ।  पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ । पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ । मङ्गलबार मध्यरातमा १२ बजे नयाँ वर्षको शुभारम्भको अवसरमा आयोजित समारोहलाई अवलोकन गर्नका लागि पर्यटकको आगमन भएको हो ।

सोही अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएशनद्वारा आयोजित २१औँ सडक महोत्सवस्थलमा चहलपहल बढेको छ । सन् २०१९ को बिदाइका साथै सन् २०२० को स्वागत नाचगान र एकअर्कालाई नयाँ वर्षको शुभकामनाको आदान–प्रदान गरी मनाइएको छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ मूल नारासाथ २१ वर्षदेखि मनाइँदै आएको सडक महोत्सवको अवसरमा पर्यटकका लागि विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रम हेर्नका लागि चार ठाउँमा मञ्च निर्माण गरिएको थियो ।

नयाँ वर्ष आगमनको सुखद् अवसरमा विभिन्न कलाकारद्वारा लोकदोहरी र ब्याण्डको प्रस्तुति रहने प्रचारप्रसार उपसमितिका संयोजक विश्वराज पौंडेलले जानकारी गराउनुभयो । लेकसाइडमार्गमा पर्ने सडकहरुमा बेलुकीको समयमा घुइँचो अत्यधिक रहने गरेको पोखरामा व्यापार गर्दै आएका ललनकुमार झाले बताउनुभयो ।

लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रलाई सिङ्गारिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सवको अवधिभर १०० भन्दा बढी रेष्टुरेन्टबाट सेवा लिने व्यवस्था रहेको छ । महोत्सवको मुख्य आकर्षणमा पारम्परिक वेषभूषामा सांस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रियस्तरका खानाका परिकार र विभिन्न प्रकारका वृत्तचित्र प्रदर्शनी रहेका छन् । 

प्रकाशित : २०७६ पुष १६ गते १०:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI