आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १६ गते १०:३७
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरि मेलमिलाप दिवस मनाउदै छ । पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठीर्, याली, कोणसभालगायतका कार्यक्रम गरी ४४ औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्का, रामबाबु प्रसाई, निलाम्बर पन्थी लगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्कनुभएका कांग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभूवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए । यसै बिच बिपि अध्ययन प्रतिष्ठान नवलपुरले कावासोतीमा बिचार गोष्ठीको आयोजना गरेको प्रतिष्ठानका नवलपुरका सचिव बद्री सापकोटाले बताए ।

प्रकाशित : २०७६ पुष १६ गते १०:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI