सरकारमा रहेसम्म मधेश बिर्सिने बाहिरिएपछि क्रान्तिकारी : नेता कँडेल

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १६ गते १३:२०
सरकारमा रहेसम्म मधेश बिर्सिने बाहिरिएपछि क्रान्तिकारी : नेता कँडेल

धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सरकारमा रहेसम्म मधेशको माग बिर्सिने र सरकारबाट बाहिरिएपछि क्रान्तिकारी कुरा गर्ने मधेशवादी दलको दोहोरो चरित्रप्रति गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।  नेपाली कांग्रेस धनुषा कार्यसमितिले मंगलबार आयोजना  गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कँडेलले मधेशवादी दलका नेतामा सत्ता मोहका कारण सत्तामा जाने होडबाजी देखिएको बताए ।

 मंगलबार समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने धम्की दिएका छन् । सरकारले आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेशमा पुनः ठूलो आन्दोलन गर्ने यादवले बताएका थिए ।    

प्रतिनिधिसभा सदस्यसमेत रहेका कँडेलले सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य गरिरहेको आरोप लगाए। सभामुख चयनको नाममा सत्तापक्षले प्रतिनिधिसभालाई स्वेच्छाचारी बनाएको उनको आरोप छ ।  सभामुख चयनको आवरणमा सूचना टाँस गरी सदन सञ्चालन नहुनुले राष्ट्रलाई नोक्सान पुर्‍याइरहेको प्रसङ्ग उल्लेख गर्दै विधेयकलाई सदनमा प्रस्तुत हुन नदिने अवस्थाले जटिलता थपिँदै गएको बताए ।

 केन्द्रीय सदस्य कँडेलले बहुमतको निर्णयलाई स्वीकार नगर्ने अल्पमतको असन्तुष्टिले नेपाली कांग्रेसमा विवाद देखिएको छ भने। अल्पमत पक्षलाई पटकपटक सहमतिमा ल्याउने प्रयास गरिए पनि पार्टीलाई नै अनिर्णयको बन्दी बनाएको अवस्थाबाट निकासका लागि पार्टीले बहुमतबाट महाधिवेशन सन्दर्भका निर्णय गरेको उनले स्पष्ट गरे ।

प्रकाशित : २०७६ पुष १६ गते १३:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI