“होमस्टे पर्यटन प्रर्बद्धनका लागि तत्काल गर्नुपर्ने १२ काम”

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १८ गते १३:४५
“होमस्टे पर्यटन प्रर्बद्धनका लागि तत्काल गर्नुपर्ने १२ काम”

 चेतनाथ कणेल ‘हरित’

व्यापक तयारी हुन नसके पनि हाम्रो सामु ‘नेपाल भ्रमण वर्ष २०२०’ भित्रिसकेको छ। हामीले यसलाई जसरी पनि सफल पार्नुपर्ने छ। यो हाम्रो ‘राष्ट्रिय अभियान’ र नयाँ नेपालको सामयिक आवश्यकता पनि हो। भ्रमण वर्षलाई भव्य सफल पारेर नेपालको इज्जत राख्नुपर्ने छ । कम्तीमा २० लाख विदेशी पर्यटकलाई नेपाल भित्र्याउने हाम्रो चाहना पूरा गर्नुपर्ने छ । गुणस्तरका कुरा बरु पछि गर्दै गरौंला, तर संख्यामा भने बढोत्तरी चाहिएकै छ हामीलाई। सन् २०१८ मा करिब ११ लाख ७० हजार पर्यटकले नेपाल भ्रमण गरे। सन् २०१९ मा बढीमा साढे १३ लाख पर्यटक भित्रेलान्। अतः सन् २०२० मा २० लाख पर्यटक पुर्‍याउन  हामीले निक्कै मिहेनत गर्नुपर्ने छ। पर्यटक आगमन र बसाइँ अवधि बढाएर देशका प्रमुख र नवीनतम गन्तव्यहरूमा पर्यटनको आभा बढाउनुपर्ने छ। पर्यटनको लाभ सातै प्रदेशमा समानुपातिक तवरले पुगोस् भन्नेमा पनि हामी चनाखो बन्नुपर्ने छ। पर्यटनको लाभ बाँडफाँड सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण भेग र दूरदराजका बस्तीहरूमा पनि पुगोस् भन्नाका लागि नेपालमा आरम्भ गरिएको ‘होमस्टे पर्यटन विकास’को अवधारणाले पछिल्लो समय लोकप्रियता पाएको छ। तर होमस्टेको विकास, प्रर्बद्धन र बजारीकरण जुन रूपमा हुनुपर्ने हो त्यो भने हुन सकेको छैन। यसो हुनुमा होमस्टे विकासका लागि हाम्रो सामूहिक चासो र सरोकारमा कमी हुनु हो। अब के के कुरामा विशेष ध्यान दिन सकियो भने होमस्टे विकासले गति लिन सक्छ त?

यस छोटो आलेखमा नेपालमा होमस्टे पर्यटन विकासका लागि तत्काल गर्नुपर्ने विभिन्न १२ कार्यमूलक उपायहरू सुझाईएको छ।

१. धेरै समयअघि ‘नेपाल होमस्टे’ भनेर विशेष ब्रान्ड बनाउन खोजियो, अलग्गै पहिचानसहित प्रवद्र्धन गर्ने भनेर निर्णय पारित पनि भयो, तर त्यसअनुरूप काम हुन सकेन। अबका दिनमा त्यस सोच र पहलमा साँच्चिकै योजनासहित काम गर्नुपर्ने देखिन्छ। जसका लागि ‘नेपाल होमस्टे’ नाममा एक विशेष अफिसियल वेबसाइट (फेसबुक, युटुयुब समेत) पनि बनाउने र नेपाल पर्यटन बोर्डको वेबसाइट तथा अन्य पर्यटनसम्बद्ध राष्ट्रिय संघसंस्थाका वेबसाइटहरूमा लिंक राख्ने। यस कार्यमा होमस्टे एसोसियसन-नेपाल (होसान) लाई अघि बढाई दायित्व सुम्पन सकिन्छ।

२. होमस्टे सञ्चालन कार्यविधि, २०६७ आएको पनि ९ वर्ष पुगेको छ। अतः त्यसलाई मोडेलको रूपमा संघीयस्तरबाट समयमै पुनरावलोकन र परिमार्जन गर्नु जरूरी छ। प्रदेश तथा स्थानीय सरकारहरूबाट पनि आफ्नै नियम–कानून बनाई होमस्टे विकास र व्यवस्थापनका कार्यहरू अगाडि बढाउनु जरुरी छ। केन्द्रीयस्तरबाट पृष्ठपोषणमुखी अनुगमन, सहजीकरण, क्षमता विकास, अनुसन्धान तथा अनुभव आदान-प्रदान (रिफ्लेक्सन) गर्ने काममा सहयोग हुनु जरुरी छ र यस कार्यमा होसान, तारागाउँ विकास समिति र नेपाल पर्यटन बोर्डलाई विशेष जिम्मेवार बनाउनुपर्छ। होमस्टे कार्यविधि-२०६७ को परिमार्जन हुने भर्सनलाई ‘कार्यविधि’को हैसियतबाट अझ माथि पुर्‍याउने गरी नेपालको पर्यटन ऐनको कुनै दफासँग आबद्ध गरी ‘नियमावली’को हैसियत प्रदान गर्नुपर्ने देखिन्छ। यो व्यवसायीहरूको माग पनि हो।

३. ‘एक प्रदेश: एक नमुना होमस्टे ग्राम’ भनेर बेलाबेलामा चर्चा आउने गरेका छन्। त्यस कार्यलाई सार्थकता प्रदान गर्न अब होमस्टे ग्राम तोकेरै काम अगाडि बढाउनुपर्ने छ। हाललाई (मेरो विशेष अनुभव र अध्ययनमा आधारित) प्रदेश १ को श्रीअन्तु (इलाम), प्रदेश २ को सिम्रौनगढ क्षेत्र (बारा, हाल नभए पनि अब स्थापना गर्ने, सन् २०२० को लागि नयाँ कोसेली दिने), प्रदेश ३ को बृद्धिम (रसुवा), प्रदेश ४ को काउलेपानी (लमजुङ) र नेपालकै पहिलो होमस्टे-गाउँ सिरूबारी (स्याङ्जा); प्रदेश ५ को डल्लागाउँ (बर्दिया), प्रदेश ६ को राजीगाउँ (सुर्खेत) र प्रदेश ७ को भादागाउँ (कैलाली) वा सित्तड गाउँ (दोगडाकेदार गापा ६, बैतडी) होमस्टेलाई नमुनाको रूपमा अघि सारी तिनलाई व्यवस्थितरूपमा विकास तथा प्रवद्र्धन गर्न सकिने मेरो सुझाव छ।

४. होमस्टेमा रेकर्ड राख्ने पद्धति अनिवार्य लागू हुन सकेन। अतः यसका लागि अब सम्बन्धित वडाहरूलाई (पालिकामार्फत) जिम्मेवार बनाउनु राम्रो हुन्छ। होमस्टे सञ्चालन भएका नेपालका हरेक वडामा अब कि त पर्यटन हेर्ने ‘फोकल पर्सन’ हुने व्यवस्था मिलाउनुपर्छ, कि वडा सचिवलाई नै पर्यटनमा थप अभिमुखीकरण गरी जिम्मेवार प्राविधिकको रूपमा सक्रिय बनाउनुपर्छ।

५. अधिकांश होमस्टे-ग्रामहरूमा होमस्टे सञ्चालकहरूको आधारभूत अभिमुखीकरणमात्र भएको छ। उनीहरूमा क्षमताको अभाव छ। विशेष सीप र दक्षताको अभाव छ। प्रचलित विदेशी भाषा (जस्तै अङ्ग्रेजी, चाइनिज, फ्रेन्च आदि) को ज्ञानको पनि कमी छ। अतः नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर व्यापकरूपमा होमस्टेवालाहरूको क्षमता विकास/पुनर्ताजगी तालिमको व्यवस्था मिलाउनुपर्छ।

६. नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लगायत केही कलेज (प्राज्ञिक संस्था) हरूलाई पाठ्यक्रम बनाउने, उपयुक्त पाठ्य-सामग्री विकास गर्ने, प्रशिक्षण-निर्देशिका तथा स्रोत-पुस्तकहरू निर्माण गर्ने, क्षमतावान प्रशिक्षकहरू तयार पार्ने, अनुसन्धान गर्ने-गराउने, होमस्टे विषयलाई कलेज तथा विश्वविद्यालयस्तरमा (स्नातक, स्नातकोत्तर र एमफिल आदि) कोर्समा समावेश गर्ने, नेपालका सिकाइहरू विश्वमञ्चमा समेत पुर्‍याउने जस्ता कार्यमा जिम्मेवार बनाउन सकिन्छ। यसका लागि समसामयिक बहस, छलफल र रणनीतिक योजनाको कमी भएको छ। सन् २०२० को नेपाल भ्रमण वर्षको चहलपहलसँगै यो प्राथमिकतालाई सक्रियताका साथ अगाडि बढाऔं।

७. पहिले तयार पारिएको होमस्टे सञ्चालनसम्बन्धी तालिम निर्देशिकालाई पनि यथाशीघ्र परिमार्जन गरी पुनः छपाइ र वितरण हुनुपर्ने देखिन्छ। कतिपय ‘कन्टेन्ट’ (विषयवस्तु) मा व्यापक परिवर्तन गरिनुपर्छ र ‘कन्टेक्स्चुअल’ (समय तथा स्थानसापेक्ष) बनाउनुपर्छ। (यसका लागि यो पंक्तिकार छुट्टै प्रस्ताव गर्न तयार छ !)

८. होमस्टेमा स्थानीय खाना-प्राङ्गारिक खाना, परम्परागत पोशाक र गरगहना, पुरानो कला, संस्कृति र रहनसहन (सकारात्मक) को प्रयोग र प्रर्बद्धन, समानुपातिक लाभ वितरण आदि भएको छ-छैन भनेर स्वतन्त्र र विस्तृत अध्ययन गर्ने बेला भएको छ। यस अध्ययनले ७ प्रदेशकै प्रतिनिधित्व गर्नुपर्छ। अध्ययनका आधारमा निस्कने नतिजालाई सन् २०२० को विशेष उपहारको रूपमा ग्रहण गर्ने अवसर मिलोस्। यसका बारेमा आजैदेखि सोचौं। होमस्टे विज्ञहरूको सहयोग लिऔं।

९. होमस्टे-गाउँमा अनिवार्यरूपमा एक बहुउद्धेश्यीय सामुदायिक भवन वा सांस्कृतिक भवन हुनुपर्छ। नभएका ठाउँमा निर्माणका लागि अब तत्काल सहजीकरण र सहयोग गरिनुपर्छ। स्थानीय कला र संस्कृति त्यो भवनमा पूरै झल्कनुपर्छ। त्यसैलाई स्थानीय जातीय अर्थात् ‘सांस्कृतिक संग्रहालय’को रूपमा र हस्तकला बिक्रीकक्षको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

१०. होमस्टेहरूलाई प्रोत्साहन गर्नका लागि सन् २०२० मा हरेक कर्मचारी कम्तीमा एक होमस्टे-ग्राममा गई कमसेकम ३ देखि ५ दिन बस्ने वातावरण मिलाउन ‘तलबी विदा भ्रमण’को प्रावधान दह्रोरूपमा कार्यान्वयन गरौं। सरकारी मात्र होइन, राष्ट्रिय उत्सवको रूपमा सन् २०२० भर गैरसरकारी, निजी, सहकारी सबै खालका कर्मचारीमा यो नियम लागू गर्न सकिन्छ। सरकारले त्यस्ता संस्थालाई विशेष प्रकारको छूटको व्यवस्था गर्ने प्रावधान पनि राख्न सक्छ। प्रदेश सरकारहरूको भूमिका यस कार्यमा झनै महत्वपूर्ण हुनेछ।

११. कुनै पनि होमस्टे-गाउँमा त्यहाँ रहेका सम्पूर्ण घरहरू समेटिन कठिन छ। तर नसमेटिएका घरहरूले पनि प्रत्यक्ष वा परोक्ष केही न केही लाभ प्राप्त गर्छन् भन्ने मान्यता छ। वस्तु वा सेवा उत्पादन गर्ने घर-परिवारले त प्रत्यक्ष केही आर्थिक कमाइ गर्छन् नै, तर वस्तु वा सेवामा समावेश हुन नसक्नेले कसरी लाभ पाउने ? यसका लागि हरेक होमस्टेले स्थानीय समुदाय (आफ्नो समिति) मा होमस्टे व्यवसायबाट प्राप्त आयको ५ देखि २० प्रतिशतसम्म शुल्क (कर) बुझाउने गरेको पाइन्छ। तर त्यो शुल्क पनि होमस्टे समितिभित्रकै सदस्यहरूका लागि मात्र उपयोग भएको छ कि समग्रमा समुदायको हितको लागि? यो जटिल प्रश्नको उत्तरप्राप्तिका लागि विस्तृत ‘केस-स्टडी’ (घटना–अध्ययन) जरूरी छ। अध्ययन गरौं। केही अनिवार्य नियम बाँध्न सहजीकरण पनि गरौं। कतिपय ठाउँमा भएका असल अभ्यास पनि अहिले प्रचारमा आएका छैनन्।

१२. होमस्टे विकास, प्रवद्र्धन, बजारीकरण, अनुसन्धान, लेखन आदि कार्य गर्नेलाई नेपालमा उचित सम्मान हुन सकेको छैन। अबका दिनमा त्यो कामलाई पनि संस्थागत र नियमित बनाउनुपर्छ। नेपाल पर्यटन बोर्ड र तारागाउँ विकास समितिले यस कार्यमा विशेष पहल गर्नुपर्छ। अथवा होसानको अगुवाइमा यसको समग्र संयोजन गर्न सकिन्छ। राष्ट्रिय र प्रादेशिक गरी विविध खालका सम्मान-पुरस्कारहरू राख्न सकिन्छ। सन् २०२० मा यस सवालमा पनि विशेषरूपले सोचौँ, कार्यान्वयन गरौँ।

निष्कर्षमा,
सन् २०११ को ‘नेपाल पर्यटन वर्ष’ले होमस्टेको प्रचारप्रसार र पहिलोपटक ‘होमस्टे सञ्चालन कार्यविधि (२०६७)’ तयारीको कामलाई उच्च प्राथमिकतामा राखी काम गरेको थियो। करिब एकदशकपछि मनाउन लागिएको सन् २०२० को ‘नेपाल भ्रमण वर्ष’ले भने होमस्टेको गुणस्तर अभिवृद्धि, शासकीय विकेन्द्रीकरण तथा स्थानीयकरण, लाभ बाँडफाँडका सफल अभ्यासहरूको प्रवद्र्धन एवम् ‘डिजिटल मार्केटिङ’मा विशेष जोड दिनुपर्ने देखिएको छ। नेपाल भ्रमण वर्ष २०२० र नेपालको होमस्टे प्रणालीको गहिरो सम्बन्ध छ। त्यसै भएर होला देशभरका होमस्टेले सन् २०२० भर होमस्टेमा बस्न आउने पाहुनाहरूलाई २० प्रतिशत छूट दिने घोषणा होसानमार्फत् गरिसकेका छन्। यो अति प्रशंसनीय कुरा हो। सबै होमस्टेको जय होस्!
‘नेपाली होमस्टे’ विश्वमै विशेष पहिचानयुक्त र ‘युनिक’ बनोस्!

लेखक चेतनाथ कणेल “हरित” पर्यटन बिशेषज्ञ हुनुहुन्छ।

प्रकाशित : २०७६ पुष १८ गते १३:४५
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI