No ads found for this position

पुर्व अध्यक्षहरु गजलसँग

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २० गते ११:४६
No ads found for this position
पुर्व अध्यक्षहरु गजलसँग
No ads found for this position

भरतपुर

अघिल्लो दिन झैं शनिबार बिहान पनि सिमसिम झरी पर्दै थियो चितवनमा । झरी अनि पुसे चिसोले आफ्नो हैकम धेरै बेर देखाउन पाएनन् । मध्यान्हपछि चितवनको आकाश खुल्यो, घाम देखियो अनि वातावरण घमाइलो बन्यो ।
गजल मञ्च चितवनले आयोजना गरेको गजल वाचन कार्यक्रमलाई झरिले छेकबार गर्छ कि भन्ने आयोजकको शंका धेरै बेर टिकेन । दिउँसो एक बजे गजल सुन्न सगुन पार्टी प्यालेसमा आउनेहरूको भीड बाक्लै देखियो । लगत्तै कार्यक्रम सुरू भयो । मञ्चले पूर्वअध्यक्षहरूको सम्मानमा आयोजना गरेको गजलसँग… कार्यक्रमको छैठौं शृङ्खलामा गजलकारहरू किसान प्रेमी, पुष्प अधिकारी अन्जली, रमेश प्रभात र प्रभाकर पण्डित प्रस्तुत भएर माहोललाई गजलमय बनाए ।


कार्यक्रमको सुरुआतमा किसान प्रेमी प्रस्तुत भए । प्रेमी मञ्चका संस्थापक अध्यक्ष हुन् । उनकै नेतृत्वमा २०६३ सालमा गजल मञ्च चितवनको स्थापना भएको हो । प्रेमीले गजल वाचनको सुरुवात देशको सिमा सम्झिए ।


सिमा देशको कहाँ छ भन्छन् जनताहरू
अझै शंकामा छ भन्छन् जनताहरू ।।

प्रेमीले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूभागमा छिमेकी मुलुक भारतले गरेको अतिक्रमणका विरुद्ध यो गजल लेखेका हुन् । त्यसपछि पुष्प अधिकारी अन्जली प्रस्तुत भए । अञ्जलीले पहिलो गजल मार्फत आफ्नै जीवनलाई सम्झिए ।


खोला जस्तै यो जिन्दगी पनि बगेर कहाँ पुग्छ
आँखा निदाउँछन् मन समुद्र तरेर कहाँ पुग्छ ।।

स्रस्टाहरूले लहरै बसेर गजल प्रस्तुत गरेका हुन् । तेस्रो लहरमा बसेका गजलकार रमेश प्रभातले सुरुवातमा प्रणय गजल सुनाए ।

शीतको थोपा झर्दाखेरी तिम्रो मुहार सम्झन्छु म
एक्लै जंघार तर्दाखेरी तिम्रो मुहार सम्झन्छु म ।।

कार्यक्रममा गजल सुनाउन लहरै बसेका अर्का गजलकार थिए प्रभाकर पण्डित । पण्डित मञ्चका निवर्तमान अध्यक्ष हुन् । उनले सुरुवातमा गुनगुनाएको गजलले स्रोता दर्शकको ध्यान तान्यो ।

जमाना बदलिए पनि म कहाँ बदलिएको छु
पिउँथें शोकले हिजो र आज झन् पिएको छु । ।

कार्यक्रममा प्रस्तुत भएका सबैले तीन चरणमा दुई दुई गरेर कुल चौबिस गजल सुनाए । गजलमा सबै स्रस्टाले देश प्रेम, धर्म संस्कृति, प्रणय, दर्शन, राजनीति विसंगति, व्यङ्ग्यलाई समेटेका थिए । गजल मञ्चले गजल सङ्ग्रह प्रकाशन, सङ्ग्रहका परिचर्चादेखि गजल वाचन लगायतका कार्यक्रमहरू गर्दै आइरहेको छ । मञ्चलाई अहिलेसम्म ६ जना अध्यक्षले नेतृत्व गरिसकेका छन् । पूर्व अध्यक्षहरूको सम्मान गर्दै गजल साहित्यमा ऐतिहासिक कार्यक्रम गर्ने योजना अनुसार पूर्वअध्यक्षहरूको गजल वाचन कार्यक्रम गरिएको अध्यक्ष द्वारिका नेपालले बताए ।

प्रकाशित : २०७६ पुष २० गते ११:४६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI