गैडा मृत प्रकरण:अनुसन्धानका लागि जग्गाधनी निकुञ्जको नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २१ गते १०:११
गैडा मृत प्रकरण:अनुसन्धानका लागि  जग्गाधनी निकुञ्जको नियन्त्रणमा

नवलपुर – लामिचौर मध्यवर्ती क्षेत्रको ईलाका नं १० नजिकको तोरीबारीमा गैंडा मृत भेटिएपछि जग्गाधनी मोहनलाल पन्थीलाई चितवन निकुन्ज कार्यालयले पक्राउ गरेको छ । कावासोती नगरपालिका–१० रतौलको तोरीबारीमा आइतबार बिहान अन्दाजी ७/८ वर्ष उमेरको गैंडा मृत भेटिएको हो । मृत्युको कारण प्राकृतिक भनेर विश्वास गर्न नसकिने अवस्था देखिएको भन्दै निकुन्ज कार्यालयले जग्गाधनीलाई नियन्त्रणमा लिएको हो ।
निकुन्जका सूचना अधिकारी गोपाल घिमिरेले अनुसन्धानका लागि पन्थीलाई पक्राउ गरेर निकुन्ज कार्यालयमा लगिएको जानकारी दिए । स्थानीयले गैंडालाई करेन्ट लगाएर मारिएको भनेका छन् । खेतबारीमा चर्न आउने गैंडालाई तर्साउन राखिएको बिजुलीको तारमा परेर मरेको हुन सक्ने स्थानीयको भनाइ छ । ‘मृत्युको कारण पत्ता लगाउन राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुन्जका डाक्टर पोस्टमार्टमका लागि खटिएका छन्,’ घिमिरेले भने, ‘ल्याबमा परीक्षणपछि गैंडा के कारणले मरेको हो भन्ने थाहा लाग्ला ।’
चितवन निकुन्जका वार्डेन नारायण रूपाखेतीले गैंडा मरेको जानकारी पाएपछि कर्मचारी र सुरक्षाकर्मीसहितको टोली घटनास्थलमा पठाइएको बताए । चितवन निकुन्ज गैंडाको मुख्य बासस्थान हो । ०७२ वैशाखमा गरिएको गणनाले चितवन निकुन्जमा ६ सय ४५ वटा एक सिंगे गैंडा रहेको देखाएको थियो । निकुन्ज र आसपासका मध्यवर्ती क्षेत्रमा गैंडा हेर्न पर्यटक आउँछन् ।

प्रकाशित : २०७६ पुष २१ गते १०:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI