साधारण जनताको हातमा मोबाइल बैंकिङ्ग सेवा कहिले?

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २१ गते ११:१०
साधारण जनताको हातमा मोबाइल बैंकिङ्ग सेवा कहिले?

काठमाडौं, पुस २१ गते।

नेपालमा करिब ४० प्रतिशत जनताको हातमा बैंकिङ्ग सेवा पुगे पनि इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एजेन्सी बैंकिङ्गजस्ता सेवा निकै कम जनताले प्रयोग गर्ने गरेका छन्। तसर्थ बैंकिङ्ग सेवाका आधुनिक प्रविधि सर्वसाधारण जनताको हातमा पुग्ने कुरा निकै चुनौतीपूर्ण रहेको छ।


नेपाल सहभागीमूलक कार्य समूह (नेपान) द्वारा आईतबार राजधानीमा आयोजित एक छलफल कार्यक्रममा उक्त कुरा विज्ञहरूबाट व्यक्त गरिएको हो। “नेपालमा मोबाइल बैंकिङ्गको अवधारणा र यसको सेवामा प्रयोग हुने एप्स तथा सेवाप्रदायकहरू” विषयक छलफल कार्यक्रमका मुख्य प्रस्तोता यास्मिन गौतम तथा सीमा केसीले आफ्ना कार्यपत्र प्रस्तुत गर्दै अहिलेको समयमा प्राप्त प्रविधिको उच्चतम सदुपयोग गर्दै मानिसको अमूल्य समय तथा अनावश्यक खर्च बचाउने खालका स्मार्ट तौरतरिकाको प्रयोग बढाउनमा नेपाल सरकार, निजी क्षेत्र तथा नागरिक समाजका सदस्यले समेत जोड दिनुपर्ने कुरा बताउनुभयो। सहरी क्षेत्रमा समेत धेरै जनालाई आधुनिक एप्सबारेमा थाहा छैन र प्रयोगप्रति रुचि पनि छैन। यसो हुनुमा सही ज्ञान र जानकारीको अभाव हुनु हो। बैंकहरूको पहल कम हुनु हो,  बैंकिङ्ग एप्स विशेषज्ञ यास्मिन गौतमको भनाइ थियो।


नेपान घरमा सम्पन्न सो १३४औं मासिक छलफल कार्यक्रमको अध्यक्षता नेपानका अध्यक्ष झविन्द्र भण्डारीले गर्नुभएको थियो भने छलफलको सहजीकरण कार्यकारी निर्देशक उषा अर्याल दाहालले गर्नुभएको थियो। नेपानका निवर्तमान अध्यक्ष चेतनाथ कणेल, तोया गौतम, विनोद तिमल्सेना, प्रमोद उपाध्याय, लालबहादर ओली,  दिवेश सायमी, श्रीबास साख, आशिष पाठक लगायतले मोबाइल बैंकिङ्ग तथा ईसेवा, फोनपे, एफवान सफ्ट आदि सेवाका बारेमा आ-आफ्ना विचार, अनुभव  र जिज्ञासा राख्नुभएको थियो।‘विकासमा डिजिटल युग आइरहेको सन्दर्भमा यस्ता छलफल विकासकर्मीका लागि पनि निकै उपयोगी हुने लाग्यो’, निवर्तमान अध्यक्ष चेतनाथ कणेलको भनाइ थियो।

करिब डेढ दर्जन सहभागी रहेको उक्त कार्यक्रमको अन्त्यमा अध्यक्ष भण्डारीले प्रस्तोताहरूलाई प्रशंसापत्रका साथ सम्मान एवम् धन्यवाद ज्ञापन गर्नुभएको सूचना अधिकृत आशिष पाठकले नवलपुर टाईम्सलाई जानकारी गराउनुभयो।

प्रकाशित : २०७६ पुष २१ गते ११:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI