सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २३ गते १६:५५
सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ

सर्लाही, पुस २३ गते । ऋण लगानी गर्दा ठगी गरेको आरोपमा सर्लाही बरहथवाका मिटरब्याजी रामबाबु राय यादव पक्राउ परेका छन् । यादवलाई वुधवार बिहान सर्लाहीको हरिपुरबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले पुष्टी गर्नुभयो । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवा ल्याइएको प्रहरी उपरीक्षक पोखरेलले बताउनु भएको छ । यादवसँग ऋण लिएर पीडितहरून्याय माग्दै काठमाण्डौं पुगेको भोलि पल्टै प्रहरीले उनलाई पक्राउ गरेको हो । ऋण प्रवाह गर्दा चर्को ब्याज असुल गरेको, ऋण बुझाई सक्दा पनि कपाली तमसुक फिर्ता नगरेको, ऋण लिँदा दृष्टीबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको जस्ता गुनासो बोकेर ५० जना भन्दा बढी पीडित सङ्घीय राजधानी काठमाडौं पुगेका छन् । पीडितले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, गृह सचिव पे्रमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग भेट गरी न्याय दिलाई दिन माग गरेका छन् । अर्का मिटरब्याजी सर्लाही ब्रह्मपुरीका सञ्जय साह रौनियारबाट पीडित भएकाहरू पनि न्याय माग्दै काठमाडौं पुगेका छन् । सर्लाहीका मिटरब्याजी श्याम परदेशी पीडितहरु न्याय माग्दै काठमाडौं पुगेको एक महिनापछि मिटरब्याजी रामबाबु राय यादव र सञ्जय साह रौनियारबाट पीडितहरु पनि सङ्घीय राजधानी नै पुगेका थिए । पीडितको उजुरीका आधारमा सर्लाही मलङ्गवा निवासी मिटर ब्याजी श्याम परदेशी अहिले पूर्पक्षका लागि कारागारमा थुनामा छन् ।

प्रकाशित : २०७६ पुष २३ गते १६:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI