कनैहयाकुमारको कार्यक्रममा गए पछि दिपिकाको आलोचना

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २३ गते २२:०८
कनैहयाकुमारको कार्यक्रममा गए पछि दिपिकाको आलोचना

काठमाडौँ — दिल्लीको जवाहरलाल विश्वविद्यालय (जेएनयु)का विद्यार्थीमाथि भएको आक्रमणको विरोधमा भएको प्रदर्शनमा ऐक्यबद्धता जनाउन पुगेका कारण बलिउड स्टार दीपिका पादुकोणको आलोचना भएको छ । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको आफूले अभिनय र निर्माण गरेको फिल्म ‘छापक’को प्रचारका लागि उनले यो प्रदर्शनलाई प्रयोग गरेको आरोप उनलाई लगाइएको छ भने अर्कातिर वामपन्थी विद्यार्थीहरुको बाहूल्य रहेको जेएनयु गएर दीपिकाले राष्ट्रद्रोहीलाई साथ दिएको आरोप पनि लगाइएको छ।

दीपिकाको फिल्म ‘पद्मावत’ प्रदर्शनका बेला पनि फिल्मले हिन्दु-राजपुतको संवेदनामा धक्का पुर्‍याएको भन्दै उनको नाकको मूल्य तोकिएको थियो । मंगलबार जेएनयु स्ववियुका पूर्वसभापति कन्हैया कुमारसमेतले संवोधन गरेको सभामा दीपिका पुगेकी थिइन्। उनले त्यहाँ केही बोलेकी भने थिइनन्। विद्यार्थीहरुले सरकार विरोधी नारा लगाउँदा उनी त्यहाँ चुपचाप उभिइरहेकी थिइन्। हिन्दुवादी संगठनले जिम्मा लिएको आक्रमणमा परि घाइते भएकी जेएनयु स्ववियुकी सभापति आइशी घोषसँग कुराकानी गरेर दीपिका त्यहाँबाट निस्किएकी थिइन्। उनको यो कदमलाई सत्तारुढ भाजपाका कार्यकर्ता र कलाकारहरुले मन पराएका छैनन्। यसैले बुधबार उनीहरुले ट्विटरमा ‘बाइकट दीपिका’ ह्यासट्याग नै चलाए, जुन ट्रेन्डिङमा आयो। रोयटर्सका अनुसार यो ह्यासट्यागमा एकै दिन ३ लाख ५० हजार ट्विट गरिएका छन्। दीपिकाको यो कदमले ठूलो समर्थन पनि पाएको छ। उनलाई बहिस्कार गरौं भन्ने ट्रेन्डिङ भएपछि अनुराग कश्यप लगायतका निर्देशकले ‘छपाक’को टिकट सो बुक गरेर देखाइदिउँ भन्दै ट्विट गरेका छन्। अल्पसंख्यक मुलसलमानलाई विभेद हुने गरी नागरिकता कानुन संशोधन गरिएपछि भारतका धेरै क्षेत्रमा विरोध भएका छन्। यो कानुनको विरोधमा रहने र विपक्षी दलका नेताहरुले दीपिकाको कदमको स्वागत गरेका छन्। दीपिकाले अभिनय तथा निर्माणसमेत गरेको एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनकथामा बनेको फिल्म ‘छपाक’ प्रदर्शनको क्रममा छ। यही फिल्मको प्रचारमा उनी जेएनयु पुगेको आरोप लागे पनि अर्काथरीले भने उनले फिल्मको व्यापारको परवाह नगरी त्यहाँ गएर हिम्मत देखाएको बताएका छन्। भारतमा पहिले पनि राजनीतिक कुरामा बोल्दा फिल्म स्टारहरुका फिल्म बहिस्कारमा परेका छन्। हाल भारतका प्रधानमन्त्री तथा तत्कालीन गुजरातका मूख्यमन्त्री नरेन्द्र मोदीबारे टिप्पणी गरेको भन्दै आमिर खानको फिल्म ‘फना’ गुजरातमा प्रदर्शन नै हुन दिइएको थिएन। यस्तै कारण ठूला स्टारहरु प्रायः विवादित मुद्दामा बोल्दैनन्। ‘छापक’सँगै प्रदर्शन हुन लागेको ‘तानजी’का कलाकार तथा निर्माता अजय देवगनले यही कारण देखाउदै नागरिकता कानुनबारे बोल्न इन्कार गरेका थिए। ‘म एउटा कुरा गर्छु, तपाईंलाई चित्त बुझ्दैन अनि मेरो फिल्म बहिस्कार गरौं भन्ने प्रचार हुन्छ,’ उनले भनेका थिए, ‘घाटा त मलाई नै हुन्छ नि।’ कन्हैया कुमारले समेत दीपिकालाई धन्यवाद ज्ञापन गर्दै दीपिकाले आफ्नो फिल्मको भविष्यसमेत दाउमा राखेर आएको उल्लेख गरेका छन्। यता मोदी सरकारका मन्त्री एवं बरिष्ठ भाजपा नेता प्रकाश जावदेकरले भने लोकतन्त्रमा जो जहाँसुकै जान पाउने भन्दै दीपिकाको आलोचना गर्न नहुने बताएका छन्। ‘आफूलाई मन लागेकाे विरोध प्रदर्शनमा जान सबैलाई छुट छ,’ उनले भने।

प्रकाशित : २०७६ पुष २३ गते २२:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI