फिलिपिन्समा खतरनाक ज्वालामुखी र सुनामीको त्रास

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २८ गते १६:०९
फिलिपिन्समा खतरनाक ज्वालामुखी र सुनामीको त्रास

फिलिपिन्समा ज्वालमुखी आएको स्थानबाट लाभा निस्किरहेको छ । अधिकारीहरुले केही घण्टा अथवा दिनमा खतरानाक विस्फोट हुनसक्ने बताएका छन् । राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट सोमबार बिहान लाभा निस्किन थालेको हो । उक्त ज्वालामुखी आउने बतङ्‍गस प्रदेशमा ठूलो क्षति हुनसक्ने भन्दै विपद्को घोषणा गरिएको छ । फिलिपिन्स इन्स्टिच्युट अफ भोलक्यानोलोजी एन्ड सिस्मोलोजी डिपार्टमेन्ट (फिभोल्क्स) का अनुसार स्थानीय समयानुसार टाल ज्वालामुखी बिहान २:४९ देखि ४:२८ सम्ममा विस्फोटन हुनेछ । तर, फिभोल्क्सका निर्देशक रिनेटो सोलिडमले ६० केबीपीएचको गतिमा खरानी, चट्टान र ग्यास निस्किरहेकोले खतरानाक विस्फोट हुनसक्ने बताएका छन् । फिभोल्क्सले विस्फोटनको चेतावनीको तह बढाएर तीनबाट चारमा पुर्‍याएको छ। चेतावनीको अधिकतम तह पाँच हुन्छ । अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि दिएका छन्। ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएपछि उक्त क्षेत्रबाट झन्डै आठ हजार मानिसलाई अन्यत्र सारिएको थियो । टाल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो ।
एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वत विश्वका साना ज्वालामुखीमध्ये एक हो । विगत ४५० वर्षमा त्यो ज्वालामुखी कम्तीमा ३४ पटक विस्फोट भएको छ ।

खरानीको मुस्लो

आइतबार उक्त ज्वालामुखीबाट खरानीको मुस्लो निस्किएको थियो । त्यो बेला गडगड आवाज निस्किएको थियो तथा जमिन पनि हल्लिएको थियो । टाल क्षेत्रमा कम्तीमा ७५ वटा भूकम्प गएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार टाल ज्वालामुखीको १४ किलोमिटर वरपरको क्षेत्रमा साढे चार लाख मानिस बसोबास गर्छन् । खरानी परपरसम्म पुगेर खसेपछि मानिसहरूलाई मास्क लगाउन सुझाव दिइएको छ । मनिलामा मास्कको अभाव हुन थालेको एक स्थानीयवासीले बताए । – बीबीसी

प्रकाशित : २०७६ पुष २८ गते १६:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI