नेविसंघको रिले अनशन एक महिना देखि जारी

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २ गते १६:३८
नेविसंघको रिले अनशन एक महिना देखि जारी

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको रिले अनसन एक महिनादेखि जारी रहेको छ । विधानअनुसार नेविसङ्घको १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै गत पुस २ गतेदेखि नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको रिले अनशन आज एक महिना पुगेको छ । नेविसङ्घको नयाँ विधानमा ३२ वर्ष मुनिकालाई अध्यक्ष बनाउनुपर्ने व्यवस्था गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिसके पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसङ्घ भने नेतृत्वको खोजीमै अल्मलिएको छ ।

विसं २०७५ माघमा नेविसङ्घका तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएसँगै एक वर्षदेखि नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको छ । नेविसङ्घका नेता नवराज त्रिपाठीले विधानअनुसार २० जिल्लाको महाधिवेशन सम्पन्न भइसकेकाले अव बन्ने तदर्थ समिति विधानअनुसार ल्याउनुपर्ने बताए। “विधानअनुसार तदर्थ समिति निर्माण गरेर स्ववियु निर्वाचन र नेविसङ्घको १२औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने अनशनकारीको माग हो”, उनले भने । नेविसङ्घ नेता त्रिपाठीले भने विधान मिचेर नेतृत्व आए आमरण अनशन बस्ने बताए ।

नेविसङ्घका अर्को नेता सुशील भट्ट स्ववियु निर्वाचनमा अरु विद्यार्थी सङ्गठनसँग प्रतिस्पर्धा गर्नपनि तत्काल तदर्थ समिति निर्माण गर्नुपर्ने बताए । “विद्यार्थीको नेतृत्व विद्यार्थीबाटै स्थापित गर्नुपर्छ भन्ने हाम्रो माग हो”, उनले भने। नेपाली काँग्रेस भने पार्टीभित्रको १४औँ महाधिवेशनको समय तालिका र भ्रातृ संस्थाभित्र नेतृत्व कसलाई दिने भन्ने विवादमा अल्झिएको छ । पार्टीभित्रको विवादका कारण अनशन पनि ओझेलमा पर्दै गएको छ ।

प्रकाशित : २०७६ माघ २ गते १६:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI