गैँडाकोटमा सुबिधा सम्पन्न “होटल द नारायणी” सञ्चालनमा आउने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ३ गते १३:०२
गैँडाकोटमा सुबिधा सम्पन्न “होटल द नारायणी” सञ्चालनमा आउने

प्रकाश भण्डारी “बिवेक”। माघ ३

नवलपरासीको गैँडाकोट वडा नं. २ मा सात करोड बढीको लगानीमा सुविधा सम्पन्न होटल द नारायणी सञ्चालनमा आउने भएको छ। आज शुक्रवार होटल द नारायणी प्रा.लि ले पत्रकार सम्मेलन गरी माघ ८ गते बिशेष कार्यक्रमका बिच गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले समुद्घाटन गर्नुहुने जानकारी गराएको हो।

भिजिट नेपाल २०२० अर्न्तगत २० लाख पर्यटक नेपाल भित्राउने नेपाल सरकारको महत्वकांक्षी योजनालाई मध्यनजर गरि यो बर्ष नवलपरासीमा एकलाख पचास हजार पर्यटक भित्राउने योजना अगाडि सारिएको छ। सरकारले अघि सारेका योजनाहरू पुरा गर्न देश भित्रै सुबिधा सम्पन्न होटलहरूको आवश्यकतालाई मध्यनजर गरि पर्यटन बर्षलाई सफल बनाउन होटल द नारायणीले पनि केही हदसम्म सहयोग पुर्याउने सञ्चालकको भनाई छ।

चितवन र नवलपरासीका ६ जना पर्यटन व्यवसायीहरू मिलेर गठन गरिएको नारायणी बिजनेश ग्रुपको लगानीमा यो होटल स्थापना भएको हो। २०७५ बैसाख ३१ गते कम्पनी रजिष्ट्रार कार्यालया दर्ता भई निर्माण शुरू गरिएको यस होटल द नारायणी प्रा.लि अहिले सञ्चालनमा आउने तयारीमा छ।

होटल द नारायणीमा ७ करोड भन्दा बढी लागत लागेको छ। २०७४ मंसिर १ गते नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सन्चालनमा छ। सो व्यवसायिक सफलता सँगै भगिनी संस्थाका रूपमा होटल द नारायणी दोस्रो व्यावसायिक प्रतिष्ठा हो।

होटल द नारायणी प्रा.लि मा ध्वनी प्रदुषण रहित ६ वटा बैठक सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका बिभिन्न स्वादिष्ठ परिकार सहितको रेष्टुरेण्ट एण्ड बार र सुबिधा सम्पन्न सुपर डिलक्स कोठाहरू रहेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

काठमाडौँ, सौराहा र पोखरा देखि लुम्बिनी आवतजावत गर्ने पर्यटकलाई लक्षित गर्दे होटल सञ्चालनमा ल्याईएको होटल द नारायणी प्रा.लि का अध्यक्ष सफल व्यवसायी प्रभाकर पण्डितले बताउनुभयो।

सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वत धाम, नारायणी नदीको रमणीय क्षेत्र अवलोकन गर्न आउने पर्यटकहरूको गन्तब्यको बिचमा रहको होटल द नारायणी प्रा.लि सबै आन्तरिक तथा बाह्य पर्यटकका लागी सहजै पहुँच पुग्ने ठाउँमा रहेको छ।

ग्राहकको सन्तुष्टि नै हाम्रो सम्पत्ति हो भन्ने प्रतिवद्धताका साथ गुणस्तरीय सेवा प्रदान गर्ने अठोटका साथ सञ्चालनमा आउनै लागेको होटल द नारायणी करिब १ बिघा जग्गामा फैलिएको छ भने हाल ४० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। नारायणी किनारमा २०७४ साल देखी सञ्चालनमा आएको होटल द नारायणी रिसोर्टमा हाल ३५ बढी कर्मचारीहरू कार्यरत रहेका छन्।

प्रकाशित : २०७६ माघ ३ गते १३:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI