कक्षा–५ को गणित सिकाइ समीक्षा: एकतिहाइ विद्यार्थी चिल्लै !

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ४ गते १०:३६
कक्षा–५ को गणित सिकाइ समीक्षा: एकतिहाइ विद्यार्थी चिल्लै !

रोश्ना सुब्बा -शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको विद्यार्थीको सिकाइ उपलब्धि सम्बन्धी पछिल्लो राष्ट्रिय अध्ययन (नासा–२०१८) अनुसार गणित विषयमा कक्षा–५ का विद्यार्थीको सिकाइस्तर अत्यन्त चिन्ताजनक छ । केन्द्रका अनुसार ३२ प्रतिशत विद्यार्थीले सो कक्षामा सिक्नुपर्ने मध्ये ५ प्रतिशत सीप मात्र सिकेका छन् । ती विद्यार्थीले नम्बरको अवधारणा नै बुझेका  छैन का छैनन् । अर्को ४० प्रतिशत विद्यार्थीले पाठ्यक्रमको २८ प्रतिशत सिकाइ गरेका छन् । समग्रमा ७२ प्रतिशत विद्यार्थीको गणित–सिकाइ न्यूनतम मापदण्ड भन्दा कमजोर पाइएको छ ।

सिकाइ सन्तोषजनक पाइएका २८ प्रतिशत विद्यार्थीले पाठ्यक्रमको ६० प्रतिशत जति सीप सिकेका छन् । यीमध्ये साह्रै राम्रा अर्थात् उच्चतम क्षमताका ४ प्रतिशत विद्यार्थीले पाठ्यक्रमको ९६ प्रतिशत सिकेको पाइयो । र, २४ प्रतिशतले चाहिं पाठ्यक्रमको ६२ प्रतिशत मात्र सिकेका छन् । सो अध्ययन अनुसार संस्थागत विद्यालयका विद्यार्थीको सिकाइस्तर सामुदायिकको भन्दा राम्रो रहेको छ ।

केन्द्रले अध्ययनका क्रममा सात प्रदेशका सामुदायिक र संस्थागत गरी ७०० विद्यालयका  १४ हजार १७४ विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो ।

सिकाइमा प्रभाव पार्ने महत्व 
विद्यार्थीको सिकाइमा प्रभाव पार्ने पक्षहरूका बारेमा पनि केन्द्रले गरेको परीक्षणमा औंल्याइएको छ । आमाबुवाको शैक्षिक योग्यता जति बढी भयो विद्यार्थीको सिकाइमा त्यसको त्यति नै सकारात्मक प्रभाव परेको पाइएको छ । त्यस्तै, विद्यालय बाहेक अन्य समयमा दुई घण्टासम्म टेलिभिजन मनोरञ्जन, खेलकुद वा मन लागेको काममा समय बिताउने विद्यार्थीको सिकाइ उपलब्धि पनि राम्रो पाइएको छ । योभन्दा बढी समयले भने बेफाइदा पुगेको पाइएको छ ।
यसैगरी उमेर र सिकाइको सम्बन्धका बारेमा पनि अध्ययन गरिएको छ । कक्षा–५ मा पढ्ने ११ र १२ वर्षका बालबालिकाको सिकाइ उपलब्धि राम्रो छ भने ९ र १४ वर्षका केटाकेटीको सिकाइस्तर कमजोर छ । यसबाट साहै्र कम उमेरमा विद्यालय पठाउँदा र ढिलो पठाउँदा पनि सिकाइमा नकारात्मक प्रभाव परेको देखिन्छ ।

विद्यार्थीमाथि विद्यार्थीबाटै हुने दुव्र्यवहार र सिकाइको सम्बन्धलाई पनि अध्ययनले समेटेको छ । अध्ययनको नतिजा अनुसार ५३ प्रतिशत जति विद्यार्थीले कक्षा÷स्कूलमा कुनै न कुनै किसिमको दुव्र्यवहार खेपेका छन् । स्कूल÷कक्षामा जो जति धेरै हेपाइ (बुलिङ) र दुव्र्यवहारमा पर्छ, उसको सिकाइ त्यति नै कम पाइएको छ । अध्ययनले विद्यालयहरूमा विद्यार्थीलाई विभिन्न नामले बोलाउने, साथीबाट एक्ल्याउने, जिस्काउने, हेप्ने, जबर्जस्ती कुनै काम गर्न लगाउने लगायतका ‘बुलिङ’ हुने गरेको देखाएको छ । यीमध्ये सबभन्दा बढी नाम बिगारेर या खराब नामले बोलाउने गरेको पाइएको छ ।

विद्यार्थी किन कमजोर भए गणितमा ?
विद्यार्थीको सिकाइमा यी विविध पक्षले पार्ने प्रभावका बारेमा उल्लेख गरिए पनि गणितमा विद्यार्थी किन कमजोर भए त ? यसबारेमा भने केन्द्रको अध्ययनमा हेरिएको छैन । केन्द्रका पदाधिकारीहरूको भनाइमा सिकाइ उपलब्धि सम्बन्धी परीक्षणको मुख्य उद्देश्य विद्यार्थीको सिकाइको अवस्था पहिचान गर्नु भएकोले न्यून सिकाइका कारण नखोजिएका हुन् ।

कक्षा–५ का एकतिहाइ विद्यार्थीले पाठ्यक्रमको ५ प्रतिशत मात्रै सिक्नु भनेको तिनले कक्षामा खासै केही सिकेका छैनन् भन्ने बुझ्न्छि । त्यसमाथि यी विद्यार्थी कसरी कक्षा–५ मा आइपुगे भन्ने प्रश्न अझ् गम्भीर छ । ४० प्रतिशतले पाठ्यक्रमको एकतिहाइ भन्दा कम सिक्नु अर्थात् ७२ प्रतिशत विद्यार्थीको सिकाइ यति कमजोर हुनुको कारण के हुन सक्छ ?

अक्षरा स्कूल, काठमाडौंका सहायक प्रअ एवं गणित शिक्षक विष्णु पनेरूको अनुभवमा गणितका विषयवस्तुलाई व्यावहारिक जीवनसँग जोड्न नसक्दा विद्यार्थीलाई गणित गाह्रो भएको हो । उनी भन्छन्, “जीवनमा जताततै गणित छ, जोड्न सकिन्छ तर जोडिएको छैन । विद्यार्थीलाई गणितीय अवधारणा नै बुझउन सकिएको छैन ।” 

“नेपाली, सामाजिक शिक्षा जस्तो गणित विषय व्यवहारमा धेरै प्रयोगमा आउँदैन । जोड, घटाउ, गुणन, भागको हिसाब दैनिक जीवनमा आउँछ र यससँग सम्बन्धित विषयवस्तुमा विद्यार्थी रमाउँछन् पनि” पञ्चकन्या आधारभूत विद्यालयकी शिक्षक सीतादेवी बोहरा भन्छिन्, “तर दशमलवसँग सम्बन्धित प्रश्न बोझ् गाह्रो भएको छ । त्यो दैनिक जीवनमा प्रयोग नै हुँदैन । बीजगणितमा त कन्सेप्ट बुझउन नै गाह्रो हुन्छ ।”

सरकारी तथ्याङ्क अनुसार प्रावि तहका झ्ण्डै शतप्रतिशत शिक्षक तालिमप्राप्त छन् । तर पनि गणितमा त्यो तहका विद्यार्थीको सिकाइस्तर निकै कमजोर पाइएको छ । तालिम कक्षाकोठामा नपुगेको हो कि तालिम नै गुणस्तरहीन हो त ? यो प्रश्नमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका श्याम आचार्य भन्छन्, “हो अब तालिमको गुणस्तरको मूल्याङ्कन हुनुपर्छ । प्रशिक्षकको पनि बलियो मापदण्ड तोकिनुपर्छ ।” उनका अनुसार अहिले कक्षाकोठामा जति पढाए, सिकाए पनि हुने, जसरी पढाए पनि हुने अवस्था छ । प्रा.डा.बालचन्द्र लुइँटेल भन्छन्, “पाठ्यक्रमले अब्बल शिक्षक खोज्छ, तर कमजोरलाई शिक्षणमा प्रवेश गराइएको छ । राम्रा जति अन्य विषय पढ्न जान्छन् । प्रक्रियाकै कुरा गर्दा मनलाग्दी रूपमा शिक्षक भित्रिए । शिक्षा मन्त्रालय तालिमले सुधार्छु भनेर लाग्यो । तालिममा पैसाको खोला बगायो । तर विषयवस्तुमा दक्षता नभएका, कमजोर धरातल भएका शिक्षकलाई तालिमले गतिलो बनाउन सक्दैन । तालिमले शिक्षण विधि लगायतका प्राविधिक पक्षमा सहयोग गर्ने मात्र हो ।”

प्रगति शिक्षा सदन मावि, ललितपुरका गणित शिक्षक सत्यनारायण महर्जन सबै शिक्षक तालिमप्राप्त भएको र व्यावहारिक जीवनमा विद्यार्थीको सिकाइ कमजोर नभएको बताउँछन् । उनी भन्छन्, “केटाकेटी पैसा लिएर पसल जान्छन् । हिसाब गर्छन् । सामान किनेर आउँछन् । कन्टेन्ट नै बढी थोपरिएको छ ।”

सिकाइ–उपलब्धि परीक्षणका क्रममा सोधिएको अङ्कगणितको एउटा प्रश्न ८८ प्रतिशत विद्यार्थीले हल गर्न सकेनन् । यसबाट पाठ्यक्रम नै बोझ्लिो भएको त छैन भन्ने प्रश्न पनि उठेको छ । त्यस्तै बीजगणितको एक प्रश्नमा आधाभन्दा कम अर्थात् ४६ प्रतिशत विद्यार्थीले मात्र उत्तर मिलाएका छन् । केन्द्रका शाखा प्रमुख श्याम आचार्य भन्छन्, “व्यवहारमा कहाँ कसरी लागू गर्ने भन्न नै गाह्रो जस्ता विषयवस्तु पनि पाठ्यक्रममा छन् । त्यसैले पाठ्यक्रम, मूल्याङ्कन प्रणाली र शिक्षण विधिका सम्बन्धमा समीक्षा गर्न आवश्यक छ भनेर हामीले सुझव दिएका छौं ।” प्रा.डा. लुइँटेल पनि कतिपय विषयवस्तु व्यावहारिक नभएको स्वीकार्छन् । “६ डिजिटसम्मका जोड–घटाउ जस्ता अव्यावहारिक हिसाब किन चाहियो र ? अब त कम्प्युटर क्यालकुलेटर नै प्रयोग गर्छन् नि ! पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम स्तरीकरणका बारेमा काम गर्नु जरूरी छ”, प्रा.डा. लुइँटेल भन्छन् ।

०७६ कात्तिक शिक्षक मासिकमा प्रकाशित

प्रकाशित : २०७६ माघ ४ गते १०:३६
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI