दुई बच्चा र श्रीमतीसहित त्रिशूली नदीमा हाम फालेर बाँचेका लामिछाने विरुद्ध ज्यान मुद्दा

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ५ गते ११:१०
दुई बच्चा र श्रीमतीसहित त्रिशूली नदीमा हाम फालेर बाँचेका लामिछाने विरुद्ध ज्यान मुद्दा

दुई बच्चा र श्रीमतीसहित त्रिशूली नदीमा हाम फालेर बाँचेका विनय लामिछानेविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न लागिएको छ।

आत्महत्या गर्ने भनेर दुई बच्चा र श्रीमतीसहित त्रिशूलीमा हामफालेका काठमाडौं थानकोटका विनयलाई उनकी श्रीमती र दुई नाबालक छोराको मृत्यु भएकाले कर्तव्य ज्यान मुद्धामा अनुसन्धान गर्न लागिएको हो । आत्महत्या गर्ने भने पनि विनय बाँचेको र उनीसँगै हामफालेका श्रीमती र दुई नाबालक छोराको मृत्यु भएकाले उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो।

काठमाडौंको चन्द्रागिरि नगरपालिका ५, थानकोट निवासी ३८ वर्षीय लामिछाने सामूहिक आत्महत्या गर्न भनेर गत बिहीबार साँझ २८ वर्षीया श्रीमती जमुना तथा ६ महिना र २ वर्षका दुई छोरासहित त्रिशूली नदीमा हामफालेका थिए। धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुंगे पुलबाट त्रिशूलीमा हामफालेका उनीहरूमध्ये श्रीमती जमुना त्यही दिन मृत भेटिइन् भने दुई बालक अझै बेपत्ता छन्।

विनयलाई भने प्रहरीले जीवितै उद्धार गरेको थियो।  उमेरका हिसाबले श्रीमती परिपक्व भएकाले उनका हकमा विनयविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने भन्दै प्रहरी उपरीक्षक रेग्मीले दुई नाबालक छोराको उनले सिधै हत्या गरेको देखिने बताउनुभयो।त्यसैले प्रहरीले विनय लामिछानेविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको रेग्मीले बताउनुभयो ।  गत बिहीबार साँझ त्रिशूलीमा बगाइएका दुई बालक भने अझै नभेटिएको प्रहरीले जनाएको छ। बालकहरुलाई खोज्न प्रहरीले गोताखोर टोलीलाई परिचालन गरे पनि अहिलेसम्म भेटाउन सकेको छैन।

यो समाचार दैनिक अनलाईनबाट साभार गरिएको हो।

प्रकाशित : २०७६ माघ ५ गते ११:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI