विश्वकै विशाल रेडियो टेलिस्कोप सञ्चालनमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ५ गते ११:४७
विश्वकै विशाल रेडियो टेलिस्कोप सञ्चालनमा

एजेन्सी-दक्षिण चीनमा पहाडको बीचमा एउटा ठूलो कचौरा आकाशतिर फर्किएको छ । यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रेडियो टेलिस्कोप हो । यो १२ जनवरीदेखि सञ्चालनमा आएको छ । यसको औपचारिक नाम फाइभ–हन्ड्रेड–मिटर एपेर्चर स्पेरिकल टेलिस्कोप हो । छोटकरी रूप एफएएसटी अर्थात् फास्टको नामले पनि चिनिन्छ । चीनले यसलाई दिएको उपनाम भने ‘आकाश आँखा’ हो । फास्टले ब्रह्मान्डका सबैभन्दा पर र अँध्यारो किनारामा यसको उत्पत्ति र अन्य जीवबारे खोज गर्नेछ ।नाम राखिएझैं यो टेलिस्कोपको व्यास आधा किलोमिटर छ । अमेरिकाको पोर्टो रिकोमा रहेको दोस्रो ठूलो रेडियो टेलिस्कोपको व्यास ३०५ मिटर मात्रै छ । सन् २०१६ को सेप्टेम्बरमा फास्टको निर्माण पूरा नभएसम्म त्यो सबैभन्दा ठूलो रेडियो टेलिस्कोप थियो ।फास्ट सबैभन्दा ठूलो मात्रै होइन, अहिले भएका सबै रेडयो टेलिस्कोपभन्दा २.५ गुणाले बढी संवेदनशील छ । यसको निर्माण सन् १९९० को दशकमा सुरु भएको थियो । यसले ब्रह्मान्डको उत्पत्ति र विकासबारे नयाँनयाँ कुरा पत्ता लगाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । यसको मुख्य काम गुरुŒवाकर्षण तरंगको खोजसँग सम्बन्धित छ । यसले अन्तरिक्षमा भएका नचिनिएका पदार्थ र अन्य ग्रहमा जीवको सम्भावित संकेतको अध्ययन गर्नेछ । यसमा फास्ट रेडयो बस्र्ट भनिने केही मिलिसेकेन्ड मात्रै रहने ऊर्जाको अति तीव्र गतिविधि पत्ता लगाउन सक्ने क्षमता छ ।
परीक्षणकालमा फास्टले १०२ नयाँ पल्सर भनिने केही अन्तरालमा तरंग छोड्ने एक प्रकारको घुम्ने तारा पत्ता लगाएको छ । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका बिल म्याककुट्चेनले यसलाई गजबको उपलब्धि भनेका छन् । ‘ती नयाँ पत्ता लगाइएका ताराको गुण थाहा पाउनु गजब हुनेछ,’ उनले भनेकी छन् । फास्टको अन्तरिक्षमा रहेका हाइड्रोजनजस्ता ग्याँसको अध्ययन गर्न सक्ने क्षमताले पनि वैज्ञानिकहरू उत्साहित छन् । फास्टको निर्माण खर्च १८ करोड अमेरिकी डलर लागेको बताइएको छ । यो टेलिस्कोपमा ४ हजार ४ सय वटा आल्मुनियमका पाता छन्, जसलाई घुमाउन मिल्छ । कोर्नेल विश्वविद्यालयका मार्था हेनेसका अनुसार त्यो क्षमताका कारण फास्ट पोर्टो रिकोको टेलिस्कोपभन्दा फरक छ । उनले भनिन्, ‘पोर्टो रिकोको टेलिस्कोपको पाता घुमाउन मिल्दैन ।’हेनेसका अनुसार सबैभन्दा चुनौतीपूर्ण कार्य भनेको फास्टले संकलन गरेका तथ्यांकको व्यवस्थापन हो । यसमा मानवनिर्मित रेडियो संकेत हटाउनु पनि पर्छ । हेनेसका अनुसार यसको तथ्यांक व्यवस्थापनका लागि नयाँ पुस्ताका उपकरण र सफ्टवेयर निर्माण गरिनुपर्छ ।

प्रकाशित : २०७६ माघ ५ गते ११:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI