भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी: यो दशक नेपाल-भारत सम्बन्धको लागि स्वर्णिम बन्ने छ

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ७ गते १४:३४
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी: यो दशक नेपाल-भारत सम्बन्धको लागि स्वर्णिम बन्ने छ

बिबिसी-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमणमा आउने भन्दै सन् २०२० को दशक नेपाल-भारत सम्बन्धको स्वर्णिम दशक बन्ने बताएका छन्।  प्रधानमन्त्री केपी ओलीसँग बिराटनगरस्थित एकीकृत भन्सार चौकीको भिडियो कन्फ्रेन्समार्फत संयुक्त उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।  उद्घाटनमा क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।  त्यसको जवाफमा मोदीले ओलीसँग नजिकको सम्बन्ध रहेको उल्लेख गर्दै नेपालप्रति रहेको गहिरो प्रेमका कारण नेपाल आउने कार्यक्रम बनाउने बताए।

के भने मोदीले?

मोदीले भने, “मलाई तपाईँले जुन निम्तो दिनुभयो त्यसप्रति म गर्व गर्छु। मित्रको नाताले तपाईँले सधैँ म नेपाल आउने चर्चा गर्नुभएको छ।” “तपाईंको प्रेमले पनि मलाई तानेर ल्याउनेछ। नेपालको नागरिक प्रतिको प्रेमले पनि मलाई त्यहाँ ल्याउनेछ।”  “म पक्का यो वर्ष कार्यक्रम बनाएर तपाईँसँग समय बिताउन आउने छु।” मोदी सन् २०१४ यता चार पटक नेपाल भ्रमणमा आइसकेका छन्।

भ्रमणको श्रृङ्खला

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले छिमेकीलाई प्राथमिकता दिने नीति घोषणा गर्दै सपथग्रहणमा दक्षिण एशियाली नेताहरूलाई निम्तो दिएका थिए।  मोदी पहिलो पटक नेपाल आउनु अगाडि करिब १७ वर्ष भारतीय प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गरेका थिएनन्। अघिल्लो वर्ष दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएका उनले राजधानी बाहेक जनकपुर र मुक्तिनाथ क्षेत्रको पनि भ्रमण गरेका छन्।  कतिपयले उनको नेपाल भ्रमणलाई तीर्थयात्राका रूपमा समेत हेर्ने गरेका छन्। हालैका महिनामा पश्चिम सीमा क्षेत्रमा अवस्थित कालापानीलाई लिएर नेपाल र भारतबीच कूटनीतिक तहमा फरक मत देखिएको छ।  नेपालले दाबी गर्ने गरेको उक्त भूभाग भारतीय नक्सामा समावेश गरिएपछि नेपालले त्यसबारे कूटनीतिक रूपमा विरोध जनाएको थियो। मङ्गलवार ओलीले लामो समयदेखि थाती रहेका विषयहरु सुल्झाउने उपयुक्त अवसर रहेको चर्चा गरेका छन्।  दुवै देशमा स्थायी र बहुमतको सरकार रहेको उल्लेख गर्दै उनले मित्रताका आधारमा काम गर्दा दुई पक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सकिने जिकिर गरे।  ओलीले समस्या सुल्झाउन भारतसँग नजिकबाट काम गर्न आफ्नो सरकार इच्छुक रहेको बताएका छन्।

उद्घाटन

मोदीले छ महिना भित्र नेपाल-भारत सम्पर्क सञ्जालसँग जोडिएको दोस्रो परियोजना उद्घाटन गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन्।  अघिल्लो पटक ओली र मोदीले यसरी नै रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए। भूकम्पपछि भारतको सहयोगमा ४५ हजार घरहरू निर्माण भइसकेको पनि उनले चर्चा गरे। मोदीले छिमेकी देशहरूसँगको सम्बन्ध आफ्नो सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल-भारतबीच रेल र सडक सम्पर्क सञ्जाल विस्तार गर्ने विषय उच्च प्राथमिकतामा रहेको उल्लेख गरे।  मोदीसँगै उनका सुरक्षा सल्लाहाकार अजीत दोभाल, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य सहभागी थिए। ओलीसँग मन्त्रीमण्डलका सदस्यहरू र सल्लाहकार समूह उक्त भिडियो कन्फ्रेन्समा सहभागी थिए।

प्रकाशित : २०७६ माघ ७ गते १४:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI