नवलपुरमा प्रचण्डको सम्बोधन: नेपाल कम्युनिस्ट पार्टी इतिहासकै शक्तिशाली

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १० गते १७:४३
नवलपुरमा प्रचण्डको सम्बोधन: नेपाल कम्युनिस्ट पार्टी इतिहासकै शक्तिशाली

होमनाथ पौडेल, १० माघ, देवचुली
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा इतिहासकै शक्तिशाली पार्टीकारुपमा नेपाल कम्युनिस्ट पार्टी रहेको वताउनुभएको छ। नवलपुरको देवचुली नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। नेपाली जनताले सबैभन्दा बढी विश्वास गरेको पार्टी नै नेपाल कम्युनिस्ट पार्टी रहेको भन्दै उहाँले थप्नुभयो,”हामीले आम नेपाली नागरिकको मनोभावनाको उच्च सम्मान गर्दै दुई बलिया कम्युनिस्ट पार्टीलाई एकीकरण गरि इतिहासकै शक्तिशाली पार्टीका रुपमा नेपाल कम्युनिस्ट पार्टीलाई दर्ज गरेका छौँ।” यद्यपि उहाँले पार्टीका सबै कमिटीहरुले पूर्णता नपाउँदा सरकारका राम्रा कामको पनि प्रचार हुन नसकेको वताउनुभयो। सरकारको २ वर्ष न निराशाजक न उत्साहवर्द्धक भयो भन्नसक्ने स्थिति रहेको उहाँको टिप्पणी छ। “केही ढिलो भयो तर अहिले नै बिग्रिसकेकोको छैन। बाँकी ३ वर्ष पार्टीलाई एकतावद्ध गरेर जनतामा गयौँ, जनताका समस्यालाई नजिकबाट नियालेर समाधान गर्न एकाकार भयौँ भने जनतालाई बनाउनसक्छौँ,” उहाँले भन्नुभयो। यसका लागि आगामी बजेट लोकप्रिय ल्याउनुपर्नेमा उहाँको जोड थियो। “पहिलो बजेटभन्दा दोस्रो लोकप्रिय बनेको थियो। अबको बजेट चाहिँ पुरै लोकप्रिय हुनुपर्छ भन्ने हाम्रो मत छ । जनभावनालाई विचार गरेर लोकप्रिय बजेटका रुपमा आउनुपर्छ ताकि पार्टीप्रति जनतालाई फेरि उत्साहित गर्न सकियोस्,” उहाँले थप्नुभयो। मुलुकको विकास तथा पार्टी संचालनका विषयमा प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा वली र आफूबिच निकै सौहार्दपूर्ण वातावरणमा छलफल हुने गरेको र हेर्दा दुई देखिए पनि आफूहरुबिच एक मन एक चित्त रहेको उहाँको भनाइ थियो। प्रचण्डले सीमा समस्याबारे भारत र नेपालका प्रधानमन्त्री स्तरमा सम्वाद भएको दाबी समेत गर्नुभएको छ। सुस्ता र कालापानीको सीमामा समस्या रहेको भनेर दुबै देशले स्वीकार गरेको तर भारतले नयाँ नक्सा जारी गर्दा लिपुलेक, लिम्पियाधुरालाई समेत आफ्नो नक्सामा पारेपछि समस्या आएको भन्दै उहाँले भन्नुभयो,”हामीले डिप्लोमेटिक नोट पठाइएका छौं । प्रधानमन्त्री लेभलमा कुराकानी भएको छ र भारतले वार्ता र सम्वादबाट समाधान गर्न तयार छौं भनेको छ।”
यसैबीच उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन
(एमसीसी) संसदबाट अनुमोदन हुने संकेत गर्नुभएको छ। एमसीसी धेरै पहिले सुरु भएको भए पनि अमेरिकाले दक्षिण एसियामा इण्डो प्यासिफिक सैन्य रणनीति अगाडि
बढाएपछि विवाद भएको उहाँले वताउनुभयो । यसबारे पार्टीमा पर्याप्त छलफल भएको भन्दै उहाँले भन्नुभयो,”हामीले के भनेका छौं भने राष्ट्रिय हित अनुकुल हुने गरी जरुरी पर्दा अमेरिकासँग पुनः सम्वाद गरेर सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्पिरिटमा निर्णय गरेका छौं। सचिवालयमा छलफलगरेर राष्ट्रिय हितलाई सर्वोपारी राखेर मात्र अगाडि बढाउँछौं।” पछिल्लो समय अमेरिकी दूताबासले १० बुँदे स्पष्टीकरण आएको स्मरण गर्दै प्रचण्डले त्यसलाई पनि विचार गरेर नेपालको हितमा निर्णय गर्ने वताउनुभएको छ। अन्तिममा उहाँले भन्नुभयो,”आजभोलि फेसबुकको जमाना छ, हुँद नभएको विवाद पनि भयो भनेर फिल्डमा काम गर्ने तपाईहरुलाई कन्फ्यूज बनाउने षड्यन्त्र भएका छन् । यसप्रति सतर्क रहनु होला। हाम्रो पार्टी मुलुकको हितलाई नै सर्वोपरि मानेर काम गर्न तत्पर छ र रहिरहनेछ।” आज नवलपुरका दुई वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड नवलपुर आउनु भएको थियो ।

प्रकाशित : २०७६ माघ १० गते १७:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI