पत्रकारको परीक्षा लिने प्रावधानप्रति महासंघकाे आपत्ति

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १४ गते १८:३६

मिडिया काउन्सिल बिधेयकलाई संसदीय समितिले अगाडि बढाउँदै गर्दा पत्रकारको परीक्षा लिने प्रावधान थपिएकोमा नेपाल पत्रकार महासंघले आश्चर्य प्रकट गरेको छ ।

महासंघका उपाध्यक्ष विपुल पोख्रेलले त्यस्तो प्राबधानप्रति आपत्ति प्रकट गरेका छन् ।

‘नागरिकको आवाज बोल्ने, मानवअधिकारको पक्षमा बोल्ने र बेथिति विरुद्ध बोल्ने वर्ग नै पत्रकार हो’, उनले भने, ‘त्यो बर्गलाई लाइसेन्स लिएरमात्र बोल भन्नु अभिव्यक्ति स्वतन्त्रताको खिलापमा हुन्छ ।’

पोख्रेलले महासंघको आन्दोलनपछि बिधेयकमा आंशिक संशोधन भएता पनि नयाँ बिबादित र जटिल प्रावधान घुसाएर बिधेयकलाई झन् बिबादित बनाउन खोजिएको बताए ।

बिधेयकमा मिडियालाई स्वनियमनका लागि प्रश्रय दिनुपर्ने आफूहरूको आवाज रहेको बताउँदै उनले त्यसको सम्बोधन गर्न, काउन्सिलको संरचना अझै बलियो र समावेशी बनाउन, नियुक्ति प्रकृया सर्बस्वीकार्य बनाउन सांसदहरूलाई आग्रह गरे ।

‘अब संसदको पूर्ण बैठकबाट बिधेयकका बिबादित र झन्झटिला प्राबधान हटाउन सांसदहरूलाई आग्रह गर्दछु’, उनले भनेका छन् ।

उनले पत्रकारलाई लाइसेन्स लिनुपर्ने प्रावधानलाई सैद्धान्तिक रूपमै स्वीकार गर्न नसकिने बताउँदै त्यो बाटोतर्फ नजान खवरदारी पनि गरेका छन् ।

प्रकाशित : २०७६ माघ १४ गते १८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI