भव्य र्‍याली र बाजागाजा सहित तेस्रो गैँडाकोट महोत्सव उद्घाटन

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १५ गते १८:३४
भव्य र्‍याली र बाजागाजा सहित तेस्रो गैँडाकोट महोत्सव उद्घाटन

प्रकाश भण्डारी। गैँडाकोट माघ १५

स्थानीय स्तरका उत्पादनलाई बिशेष जोड दिइएको तेस्रो गैँडाकोट महोत्सव आज भव्यताका साथ समुद्घाटन भएको छ।

महोत्सव यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले उद्घाटन गर्नुभएको हो।

पन्चेबाजा, हात्ती, बग्गी, भरतपुरबाट आउने प्रहरीको व्याण्डवाजा सहित एकै प्रकृतिको व्यानर मार्फत गैँडाकोट नगर भित्रका बिभिन्न स्थानहरूबाट हजारौँको संख्यामा शोभा यात्रा संगै ठूलो र्‍याली निकालिएको थियो।


आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैडाकोट महोत्सव मुख्य नारा सहित सुरु भएको महोत्सवको शोभा यात्रामा सवैभन्दा अगाडी हात्ती, वगी, त्यसपछि आयोजक समिति सहित विशिष्ट व्यक्तिहरु, त्यसपश्चात विभिन्न संघ संस्थाहरुले शोभा यात्रामा सहभागीता जनाएका थिए।

आ-आफ्ना संस्कृतिका भेषभूषा सहित र्‍यालीमा सहभागी भएका स्थानीयहरू नेपाली पञ्चेवाजा, कौरा, भजन, लाखे आदि नृत्य गर्दै महोत्सव स्थल गैडाकोट २ नारायाणी नदी किनारमा प्रवेश गरेका थिए।

विशेषत स्थानीय उत्पादनलाई जोड दिइएको यस पटकको गैँडाकोट महोत्सवमा ३५० कुल स्टल मध्ये ३० स्टल स्थानीय उत्पादनलाई नि:शुल्क उपलब्ध गराइएको आयोजक उद्योग वाणिज्य संघ गैडाकोटका अध्यक्ष एवम् महोत्सवका मुल आयोजक समितिका संयोजक अमृत भट्टचनले जानकारी दिनुभयो।

गैँडाकोट नगरपालिकाको वडा नं. २ नारायणी नदी किनारमा माघ १५ देखि २६ गतेसम्म सञ्चालन हुने महोत्सव नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत तेस्रो गैंडाकोट महोत्सवले थप ऊर्जा थप्ने भट्टचनले बताउनुभयो। कृषि, पर्यटनमा जोड दिँदै यस पटकको प्रमुख आकर्षकको रुपमा महोत्सवको प्रवेश द्वार निर्माण गरिएको उहाँको  भनाइ छ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने तथा रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुने र नृत्य प्रतियोगिताको आयोजना समेत गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा गैँडाकोटभित्र रहेका जनजातीहरुले आ-आफ्नो पहिचानलाई उजागर गर्ने किसिमको खरको घरहरु निर्माण गरी लिपपोत र रङ्गरोगन गरि चिटिक्क सिँगारेको अवस्था छ।

महोत्सवमा ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ। दैनिक जसो बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने र आम दर्शकहरूलाई भरपुर मनोरञ्जन दिने महोत्सवका मुल आयोजक समितिका संयोजक समेत रहनु भएका अमृत भट्टचनले नवलपुर टाईम्सलाई जानकारी दिनुभयो।

प्रकाशित : २०७६ माघ १५ गते १८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI