सिएमसी चितवन प्रिमियर लिग आजदेखि क्याम्पाचौरमा, राखेप सदस्य सचिवले उद्घाटन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १७ गते ९:२४
सिएमसी चितवन प्रिमियर लिग आजदेखि क्याम्पाचौरमा, राखेप सदस्य सचिवले उद्घाटन गर्ने

चितवन,माघ १७-

गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भैरहेको भरतपुरमा ‘चितवन प्रिमियर लिग टी–२०’ क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । २५ गतेसम्म चल्ने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्दैहुनुहुन्छ । निर्माणाधीन क्रिकेट रंगशालाको प्रचारप्रसार तथा प्रर्बधन गर्ने उद्धेश्यले नारायणगढको क्याम्पाचौरमा पहिलोपटक चितवन प्रिमियर लिग गर्न लागिएको हो ।

नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघको सहआयोजनामा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा चितवनका पाँच वटा टिमको सहभागिता रहेको छ । जसमा भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती यापिडस रहेका छन् ।

प्रतियोगितामा सहभागी टिमहरुले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र उपविजेताले एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई म्यान अफ दि सिरिज, बेस्ट बलर, बेस्ट व्याट्सम्यान, बेस्ट अलराउण्डरको अवार्ड प्रदान गरिने छ । यस्तै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले चितवनमै क्रिकेट रंगशाला बनिरहेको अवस्थामा यस प्रतियोगिताले चितवनको क्रिकेट विकासलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले चितवनकै ठूलो क्रिकेट प्रतियोगिता रहेको भन्दै यसले यहाँका खेलाडीहरुलाई एक्सपोजरको राम्रो मौका दिने बताए । चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले चितवनले धेरै राष्ट्रिय खेलाडी जन्माएको भन्दै यसले युवा खेलाडीहरुलाई थप मौका प्रदान गर्ने बताए । प्रतियोगिताको लीग चरणका केही खेलहरु निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रहेको नमूना क्रिकेट खेल मैदानमा गर्ने तयारी गरिरहेको आयोजकले जनाएको छ । प्रतियोगिताले रंगशाला निर्माणका लागि थप सहयोग मिल्ने आयोजकको विश्वास छ । प्रतियोगिताका खेल प्राइम टाइम्स टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.चितवन रहेको छ । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।

प्रकाशित : २०७६ माघ १७ गते ९:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI