सरकारसँग भएको सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौँमा आन्दोलन गर्ने तयारी गरेका छन्।
जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि गत वर्षमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका किसान अघिल्लो महिना काठमाडौँस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए । उखु किसान पुसको चिसोमा कठ्याङ्ग्रिएर भुक्तानी माग्न धर्नामा बसेपछि सरकारले पुस १८ गते पाँचबुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी उद्योगीबाट पुरानो सबै बक्यौता भुक्तानी गराउने प्रतिबद्धता जनाएको थियो ।
उद्योगमन्त्री लेखराज भट्ट आफैँले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काउनुभएको थियो । सरकारले दिएको मितिमा भुक्तानी पाउने आशामा उखु किसान घर फर्किएका थिए तर मध्य माघ भइसक्दासमेत किसानले जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदहबाट पूरा भुक्तानी पाएका छैनन्।
आन्दोलन गर्न काठमाडौँ गएका केही किसानको खातामा उद्योगीले पैसा हालिदिए पनि अन्य किसानले पैसा पाउन सकेका छैनन्। किसानको आन्दोलनपछि अन्नपूर्णले ४२ करोड बक्यौतामध्ये तीन करोड ९० लाख रुपियाँ र महालक्ष्मीले २१ करोड ४० लाखमध्ये ११ करोड ५० लाख रुपियाँ मात्रै भुक्तानी गरेको छ । अन्नपूर्णले अझै ३८ करोड र महालक्ष्मीले १० करोड बक्यौता भुक्तानी गर्न बाँकी छ ।
चिनी उद्योगीसँगै सरकारले समेत किसानलाई गत वर्षकै अनुदान रकम दिएको छैन । उद्योगी र सरकार दुवैबाट पाउन बाँकी रकम उपलब्ध गराउन काठमाडौँ गएर फेरि एकपटक सरकारको ध्यानाकर्षण गराउने तयारी भइरहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । नगदेबाली उखु बेचेको पैसा लिन यसरी पटक–पटक आन्दोलन गर्नुपर्ने बाध्यताले उखु किसानमा नैराश्य बढ्दै गएको छ ।
जिल्लाको उत्तरी भेगको इन्दुशङ्कर चिनी उद्योगले गत वर्षको भुक्तानी गरिसकेकाले त्यस भेगका किसानलाई खासै समस्या छैन तर दक्षिणी भेगका किसानलाई अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले भुक्तानी नदिँदा व्यवहार धान्नै मुस्किल परिरहेको छ ।
प्रकाशित : २०७६ माघ १७ गते १५:५०
No ads found for this position
Facebook Comment