१० वर्षमा ६ पटक विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा, यी हुन् ५ भाइरस

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १८ गते १६:००
१० वर्षमा ६ पटक विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा, यी हुन् ५ भाइरस

एजेन्सी-कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलदै गएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य सङ्कटकालको घोषणा गरेको छ। भाइरसका कारण शनिबार दिउँसोसम्म   २ सय ५९ जनाको मृत्यु भइसकेको छ। चीनमामात्र ११ हजार भन्दा बढी संक्रमित भइसकेका छन्। यो भाइरसको संक्रमण १८ देशमा फैलिसकेको छ। र अरु देशमा पनि क्रमश देखिन थालेको छ।  चीनभन्दा बाहिरका देशमा पनि धमाधम संक्रमण फैलिरहेको अवस्थामा संगठनले विश्वव्यापी स्वास्थ्य सङ्कटकालको घोषणा गरेको हो।  ‘विश्वव्यापी रुपमा स्वास्थ्य आपतकालको घोषणा गर्नुको कारण चीनमा फैलिएको नोभेल कोरोना भाइरसमात्र होइन। कोरोना चीनमात्र नभई अरु देशमा पनि फैलिरहेकाले आपतकालको घोषणा गरेका हौं।’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम घेब्रेससले भने। कोरोना भाइसरको लागि गरिएको यो निर्णयभन्दा पहिला पनि संगठनले विभिन्न भाइरसको संक्रमण फैलिएपछि सङ्कटकालको घोषणा गरेको थियो।  सन् २००९ यता संगठनले ५ वटा भाइरसको संक्रमणपछि ६ पटक सङ्कटकालको घोषणा गरेको छ।

कोरोना भाइरसको संक्रमणअघि भएका घोषणा
स्वाइन फ्लू, २००९ – सन् २००९ मा फैलिएको एचवनएनवन (H1N1) भाइरसले दुई लाख मानिसको ज्यान लिएको थियो। विश्वले यसको गम्भीरतापूर्वक नियन्त्रण गर्न सकोस् भनेर स्वास्थ्य सङ्कटकाल घोषणा गरियो।
पोलियो, २०१४ – सन् २०१२ मा उन्मूलनको सँघारमा पुगेको पोलियोको सङ्क्रमण २०१३ मा बढ्यो। उन्मूलनको प्रयासमा धक्का लाग्न सक्ने ठानिएर सङ्कटकाल घोषणा गरियो।
जिका, २०१६ – खासगरी दक्षिण र उत्तर अमेरिकी महादेशमा द्रुत गतिमा फैलिएपछि डब्ल्यूएचओले जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो।
इबोला, २०१४ र २०१९ – यो सङ्क्रमणलाई लिएर दुई पटक सङ्कटकाल घोषणा गरिएको थियो। पहिलो सङ्क्रमण अवधिमा सन् २०१४ को अगस्टदेखि सन् २०१६ को मार्चसम्म पश्चिम अफ्रीकी देशहरूमा ३०,००० मानिस प्रभावित भए र ११,००० भन्दा धेरैको ज्यान गयो। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएपछि गत वर्ष पनि सङ्कटकाल घोषणा भयो।


कोरोना संकटकाल
विगतका अनुभवकै आधारमा विश्व स्वास्थ्य संगठनले नोभेल कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै विश्वस्तरमै स्वास्थ्य आपतकालको घोषणा गरेको हो। संगठनका महासचिवको नेतृत्वमा बसेको बैठकले विश्व स्वास्थ्य नियम(आइएचआर) अनुसार कोरोना भाइरस चीनबाट फैलन सुरु भई अन्य देशमा पनि फैलन थालेकाले आपतकाल घोषणा गरेको हो। स्वास्थ्य प्रणाली कमजोर भएका देशमा पनि सो भाइरस फैलन सक्ने भएकाले उक्त निर्णय गरिएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार चीन बाहिरका १८ देशमा ९८ जना संक्रमित भइसकेका छन्। कोरोना भाइरसका कारण चीनबाहेकका १८ देशमा सो भाइरस फैलिसकेकाले अन्य देशलाई पनि उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनले अपिल गरेको छ।  थाइल्याण्ड र जापानमा १८‚ सिङ्गापुरमा १३‚ दक्षिण कोरियामा ११‚ अस्ट्रेलिया र मलेशियामा ८ त्यसैगरी फ्रान्स र अमेरिकामा ५ जना संक्रमित भएको पुष्टी भइसकेको छ । बिहीबार जेनेभामा बसेको बैठकले विश्व स्वास्थ्य संगठनका महासचिवलाई यस विषयमा निर्णय गर्न जिम्मा दिएको थियो। कोरोना भाइरस गएको महिना चीनको हुवाई प्रान्तमा देखिएको थियो। अहिले चीनमा मात्रै करीब १० हजार जना यसबाट संक्रमित भइसकेका छन्। सन् २०१४ मा पश्चिमी अफ्रिकाबाट इबोला भाइरस फैलिएको थियो। स्वास्थ्य प्रणाली बलियो नभएका देशमा यो भाइरसले बढी क्षति पुर्यााएको थियो। यदि कोरोना भाइरस पनि यसैगरी गरीब देशमा फैलन सुरु गर्योख भने यसलाई रोक्न धेरै नै गाह्रो हुने भएकाले ती देशहरूलाई पनि मध्यनजर गर्दै विश्व स्वास्थ्य आपतकालको घोषणा गरिएको संगठनले जनाएको छ।

कोरोनाको सामना कसरी गर्दैछ चीनले?
चिब्बतमा एक व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको पुष्टी हुनासाथ चीनको सम्पूर्ण प्रान्तमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ। चिनिया नेशनल हेल्थ कमिसनका अनुसार अहिलेसम्म ९ हजार ६ सय ९२ जना सो भाइरसबाट संक्रमित भएका छन्। यसबाट बच्नका लागि चीनले एक सातामै सम्पन्न गर्ने भनिएको अस्पताल निर्माण गरिरहेको छ। अन्य विभिन्न क्षेत्रमा पनि उच्च सतर्कता अपनाइरहेको छ । यो महामारीको मुख्य बिन्दु हुवाई प्रान्त हो‚ जहाँ ६ करोड वुहानबाट आएका नागरिकहरू बसोबास गर्दै आएका छन्। हुवाई प्रान्तबाट फैलिएको कोरोना भाइरस अहिले चीनको सबै प्रान्तमा फैलिएको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको अर्थतन्त्रलाई यसले असर पुर्या एको छ। अन्य देशले पनि अहिलेको अवस्थामा चीनमा अत्यावश्यक बाहेकका यात्रा नगर्न सचेत गराइरहेका छन्।

विश्वले अपनाएका सतर्कता
    इटाली – रोममा २ चाइनिजमा कोरोना भाइरसको लक्षण देखिएपछि चीन जाने सबै उडान रद्द।
•    अमेरिका – सिकागो हेल्थ अफिसियलले कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने रोग भनेपछि वुहानबाट ल्याइएका आफ्ना नागरिकलाई ७२ घण्टासम्म मिलिटरी क्याम्पमा छुट्टै राखेरमात्र घर पठाउन सुरु गरेको छ।
•    रूस – चीनसँगको ४३०० किलोमिटरको दूरीमा रहेको बोर्डर पूर्ण रुपमा बन्द गराएको छ।
•    फ्रान्स – २ सय ५० फ्रेन्चलाई वुहानबाट आफ्नो देश फर्काइएको छ।
•    भारत – वुहानमा बसेर पढिरहेका भारतीय एक भारतीय विद्यार्थीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। यसका साथै भारतले पनि यसप्रति उच्च सतर्कता अपनाइरहेको छ।
•    इजरायल – इजरायलले चीनसँगका सबै नाकाहरू बन्द गराएको छ।
•    पपुवा न्यू गिनी – पपुवा न्यु गिनीले एसियाबाट आउने सबै यात्रुलाई रोक लगाएको छ।
•    उत्तर कोरिया – उत्तर कोरियाले चीन जाने र चीनबाट भित्रने सबै उडान र रेल सेवा बन्द गरेको छ।

प्रकाशित : २०७६ माघ १८ गते १६:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI