८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १९ गते ११:५१
८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो बन्द

८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको छ। बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार साँझ साढे ७ बजे भयो । बीबीसी हिन्दी सेवाको ‘दिनभर’ कार्यक्रम निकै लोकप्रिय थियो।

बीबीसी रेडियोको विश्व सेवा, हिन्दी सेवा र उर्दू सेवाको आफ्नो स्वर्णिम इतिहास छ। नेपालमा बीबीसी नेपाली सेवा पनि प्रसारण हुँदै आएको छ।

बीबीसीले आर्थिक संकटका कारण पटक पटक कर्मचारीहरु कटौती गर्दै आएको छ। बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनुलाई पनि त्यही कारण मानिएको छ। तर स्रोताको संख्या घट्दै गएको भन्दै विश्व हिन्दीको सर्टवेभ रेडियो प्रसारण बन्द गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

अन्तिम बुलेटिन प्रसारण गर्नुअघि बीबीसी हिन्दी रेडियोका प्रमुख प्रस्तोता राजेश जोशीले ८० वर्षे इतिहास बोकेको रेडियो सेवा बन्द हुँदा आफू भावुक बनेको बताए। अन्तिम कार्यक्रम प्रसारण सकेपछि जोशीले स्टुडियोको माइक ढोगेका थिए। यो दृश्यले धेरैलाई भावुक बनाएको छ।

बीबीसी हिन्दी रेडियोले अन्तिम प्रसारण फेसबुकमार्फत् भिडियो लाइभ गरेको थियो । कार्यक्रम समाप्त भइसकेपछि गरिएको कुराकानीका क्रममा रेडियोका कर्मचारीहरुको गला अवरुद्ध भएको थियो ।

१८ वर्ष बीबीसी हिन्दी रेडियोमा बिताएका जोशीले प्रसारणको दौरान स्रोताबाट पाएको माया नै आफूहरुको पुँजी भएको बताए।

बीबीसी हिन्दी रेडियोको पहिलो प्रसारण ११ मे १९४० मा भएको थियो। दोस्रो विश्वयुद्धमा लड्ने भारतीय सैनिकको हालचाल उनीहरुका परिवारसम्म पुर्‍याउने उद्देश्य रेडियोको थियो। त्यतिबेला १० मिनेटको समाचार बुलेटिन प्रसारण हुन्थ्यो।

सर्टवेभ प्रसारण बन्द भए पनि बीबीसी डिजिटल माध्यमबाट विवेचना र दुनियाँ कार्यक्रम नियमित प्रसारण हुने समाचार एजेन्सीले जनाएका छन्।

प्रकाशित : २०७६ माघ १९ गते ११:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI