दुई हजारमै श्री एयरलाइन्सबाट काठमाडौँ-पोखरा उडान

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २१ गते १०:२८
दुई हजारमै श्री एयरलाइन्सबाट काठमाडौँ-पोखरा उडान

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँसम्मका लागि भाडा दर रु दुई हजार ६०० कायम निर्धारण गरेको छ । काठमाडौँ–पोखराका लागि भने रु दुई हजार भाडा कायम गरिएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ ।

आन्तरिक उडानमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौँको भाडा दर अहिलेसम्म कै सबैभन्दा कम राखेको हो। पोखरामा एकाधिकार जमाएका दुई ठूला वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको पोखराबाट काठमाडौँ आउँदा रु पाँच हजार ५० सम्म भाडा दर थियो।

श्रीले यही शुक्रबारदेखि पोखरामा टर्वोपर्प जहाजबाट सेवा दिने भएको छ। कम्पनीको ८० सिट क्षमताको जहाजले यसअघि नै परीक्षण उडान सफल गरिसकेको छ। साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिनाअघि नयाँ टर्बोप्रोप क्यू–४०० जहाज भित्र्याएको थियो।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले पर्यटकीय क्षेत्रको व्यावसायिक सम्भावना तथा यात्रुको सुविधालाई मध्यनजर गरी पोखरामा सेवा विस्तार गर्न लागिएको बताए। खासगरी, जनकपुर, सिमरा, भरतपुर, पोखरालगायत साना एयरपोर्टबाट सेवा दिने गरी यी जहाज ल्याइएको हो।

श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ। कम्पनीसँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन्। एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो।

प्रकाशित : २०७६ माघ २१ गते १०:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI