वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही दिन लाग्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २४ गते १०:०७
वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही दिन लाग्ने

कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही दिन लाग्ने भएको छ।

सरकारले उनीहरुलाई ल्याएर राख्ने ठाउँको टुङ्गो लगाए पनि ती ठाउँमा राख्न केही प्राविधिक तयारी गर्न बाँकी रहेकाले अझै समय लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले दिएको बाध्यात्मक निर्देशनअनुसार नै सरकारले चीनबाट फर्काइएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ। तर उनीहरुलाई राख्न अझै प्राविधिक कुरा मिलाउने काम बाँकी नै रहेको मन्त्रालयले जनाएको हाे।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डाैकाे इचङ्गुनारायणमा रहेको सुकुम्बासी आवास भवन, शिवपुरीको सैनिक ब्यारेक, भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरण तालिम केन्द्र र सूर्यविनायकको सैनिक ब्यारेकमा राख्न निर्देशन दिनुभएको छ।

चीनबाट फर्कन आवेदन दिएका १ सय ८० जनालाई कहाँ, कति जनाका दरले राख्ने भन्ने तय गरी त्यसैअनुसारको कक्ष बनाउनुपर्ने भएकाले कम्तीमा अझै एक/दुई दिन लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो।

उनीहरुमध्ये सम्भावित बिरामीलाई लक्षित गरी ४३ शैय्याकाे ‘आइसोलेशन’ वार्ड तयारी अवस्थामा राखिएको र दुई सय बिरामीलाई परीक्षण गर्न पुग्ने किट मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ।

तर हुबेई प्रान्तका वुहान लगायत शहरमा रहेका नेपालीका अभिभावकले भने उनीहरुलाई फर्काउन सरकार अझै गम्भीर नबनेको गुनासो गरेका छन् । फर्काउने प्रक्रिया तत्काल अगाडि बढाउन माग गर्दै उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालयमा धर्ना पनि दिएका थिए।  

प्रकाशित : २०७६ माघ २४ गते १०:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI