No ads found for this position

विश्वकप लिग २ : आज अमेरिकासँग भिड्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २५ गते ९:२१
No ads found for this position
विश्वकप लिग २ : आज अमेरिकासँग भिड्दै नेपाल
No ads found for this position

घरेलु मैदान र घरेलु दर्शकको साथ अनि लक्की म्यान सुवास खकुरेलको आगमन। घरेलु मैदानमा पहिलो ओडीआई जितको खोजी। अनि डेब्यु गरिरहेको विश्वकप लिग २ मा पनि पहिलो जितको खोजी।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्दा यी सबै विषय जोडिनेछन्। सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रूपमा रहेको लिगअन्तर्गत त्रिकोणात्मक सिरिज अहिले नेपालमा भइरहेको छ। जसमा घरेलु टोली नेपालसहित अमेरिका र ओमानले प्रतिस्पर्धा गरिरहेका छन्।

सुरुवाती दुवै खेल जित्दै ओमानले ४ अंक थपिसकेको छ । लिग २ मा नेपालले यसै सिरिजबाट डेब्यु गरेको हो । त्यसैले नेपाल सिरिजमा पहिलो अंकको खोजीमा छ । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

घरेलु मैदानमा पनि नेपालको यो पहिलो सिरिज हो । उता, अमेरिका पहिलो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो । नेपालजस्तै अमेरिका पनि यो सिरिजमा जितको खोजीमा छ । यद्यपि, अंकतालिकामा समान १२ अंक रहे पनि अमेरिका ओमानभन्दा रनरेटमा अगाडि छ । अमेरिका अंकदूरी अझै बढाउन चाहन्छ ।

अमेरिकाविरुद्ध यसअघि लक्की हुँदै आएका सुवास खकुरेलको आगमनले नेपालको ओपनिङ जोडी फेरिने सम्भावना छ । ओमानविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका शरद भेषवाकरले चोटका कारण सिरिजका बाँकी खेल गुमाएपछि उनको स्थानमा सुवासले मौका पाएका हुन् । सुवास अमेरिकाविरुद्ध शतक प्रहार गर्ने एक्लो नेपाली खेलाडी हुन् । उनले सन् २०१२ मा मलेसियामा भएको डिभिजन ४ मा अमेरिकाविरुद्ध ११५ रन प्रहार गरेका थिए । अमेरिकाविरुद्ध राम्रो केमेस्ट्री रहेको सुवासको आगमनले यसपटक पनि केही कमाल गर्ने सबैको आशा छ ।

लिग २ सुरु हुनुअघि मूलपानी मैदानमा खेलिएको अमेरिकाविरुद्धको अभ्यास खेलमा पनि ओपनिङ गरेका सुवासले अविजित ५२ रन बनाएका थिए । टिममा बोलाइएपछि सुवासले मौका पाए प्रमाणित गरेर देखाउने र जुनसुकै स्थानमा ब्याटिङ गर्न तयार रहेको बताइसकेका छन्।

विकेटकिपर व्याट्सम्यान सुवासले सन् २०१६ मा एसिया कप छनोट खेलेको १५ महिनापछि राष्ट्रिय टिममा स्थान बनाएका हुन् । २ ओडीआई खेलमा उनले एसिया कप छनोटमै युएईविरुद्ध अर्धशतक समेत प्रहार गरेका थिए । सुवासले ज्ञानेन्द्रसँग ओपनिङ गरेमा पारसले तेस्रो नम्बरमा ब्याटिङ गर्ने धेरै सम्भावना छ ।

प्रकाशित : २०७६ माघ २५ गते ९:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI