कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ओमानलाई विजयका लागि २५० रनको लक्ष्य दिएको छ। विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा मल्लको ५६ रनको सहयोगले नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको छ। प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। यसअघि नेपालले ओमानसँग हारेको थियो भने अमेरिकालाई हराएको थियो। यो नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठूलो योगफल हो l नेपालका लागि पूर्वकप्तान पारस खड्काले ३८ रन बनाएका थिए भने विनोद भण्डारीले ३५ रन बनाएका थिए। अरिफ शेख र कुशल मल्लले समान २८ रन बनाए। ओपनर सुवास खकुरेलले २२ रनको योगदान गरेका थिए। टस जितेको ओमानका लागि अकिब इलयासले ४ र मोहम्मद नदिमले ३ विकेट लिए।
मल्लको अर्धशतक
नेपालका लागि कप्तान मल्लले राम्रो इनिङ खेलेका थिए। नवौँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका मल्लले आफ्नो दोस्रो अर्धशतक र व्यक्तिगत उच्च रन बनाए। उनले ७६ बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरेका थिए।
एक जित, एक हार
नेपालले प्रतियोगितामा एक जित र एक हार हात पारेको छ। शनिवार अमेरिकालाई ३५ रनले पराजित गरेको नेपाल बुधवार भने ओमानसँग १८ रनले पराजित भएको थियो। सात देशले अगस्ट २०१९ देखि ज्यानुअरी २०२२ सम्म खेल्ने यो प्रतियोगिता सन् २०२३ को विश्वकपको छनोट प्रतियोगिता पनि हो।
स्कटल्यान्ड, नामिबिया, यूएई र पपुआ न्यूगिनी समेत रहेको प्रतियोगितामा अन्य टोलीले कम्तीमा ७ खेल खेलिसकेका छन्।
प्रकाशित : २०७६ माघ २६ गते १३:०८
No ads found for this position
Facebook Comment