क्यानडाका सभामुखले भेट्न चाहेनन् सभामुख सापकोटालाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २७ गते १८:३०
क्यानडाका सभामुखले भेट्न चाहेनन् सभामुख सापकोटालाई

नेपालको दुई दिने भ्रमणमा आएका क्यानडाको माथिल्लो सदन सिनेटका सभामुखले नेपालका सभामुख अग्नि सापकोटालाई भेट्न अनिच्छा देखाएका छन्।

क्यानडाको संसदीय प्रतिनिधमण्डको नेतृत्व गर्दै सभामुख जर्ज जे फ्युरी सोमबार बिहान नेपाल आइपुगेका हुन्। संघीय संसद सचिवालयले सञ्चारमाध्यमलाई उपलब्ध गराएको भेटघाटको विवरणमा फ्युरीले सभामुख सापकोटालाई भेट्ने कुनै कार्यक्रम छैन।

सापकोटामाथि २०६२ सालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्यामा संलग्न रहेको आरोप छ। उनीविरुद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ। उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै ४ अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले द्वन्द्वकालीन मुद्दाबारे अन्तर्राष्ट्रिय मञ्चमा जनाएका प्रतिबद्धताप्रति सरकार प्रतिबद्ध हुनुपर्ने बताएका थिए।

अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरू इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले विज्ञप्ति निकालेर सापकोटामाथि पूर्ण र स्वतन्त्र अनुसन्धान नहुन्जेलसम्म सभामुखका रूपमा उनको मनोनयनलाई पुनर्विचार गर्न आग्रह गरेका थिए।

सभामुख फ्युरील नेपाल भ्रमणको पहिलो दिन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरेका छन्।

उनले दिउँसाे २ बजे राष्ट्रियसभा बैठक अवलोकन गर्ने कार्यक्रम छ।

त्यस्तै नेपाल–क्यानडा संसदीय मैत्री समूहसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। भ्रमणको दोस्रो दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गर्ने छन्।

पाटन म्युजियमको समेत भ्रमण गरेर उनी मंगलबार दिउँसो स्वदेश फर्किने छन्।

प्रकाशित : २०७६ माघ २७ गते १८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI