६ जना प्रहरी अधिकृतले गरे बिदाइ बहिष्कार

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २९ गते ८:०२
६ जना प्रहरी अधिकृतले गरे बिदाइ बहिष्कार

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई बढुवा गरेको छ। वरियता क्रममा १ नम्बरमा रहेका डीआईजी ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो।

गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई बढुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेका थिए। आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल पनि थिए। तर ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद्ले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।

आईजीपीमा नियुक्ति भएलगत्तै ज्ञवालीले प्रहरी प्रधान कार्यालय पुगेर महानिरीक्षक सर्वेन्द्र खनाललाई बिदाइ गरे। खनालसहित तीन एआईजी र १८ डीआईजीले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अनिवार्य अवकाश पाएका छन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उनीसँगै सेवा प्रवेश गरेका तीन एआईजी पुस्कर कार्की, ठूले राई र धीरु बस्न्यात तथा १८ डीआईजीलाई बिदाइ गर्न मंगलबार बेलुका प्रहरी प्रधान कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा प्रहरी प्रधान कार्यालयभित्र निरीक्षकसम्म र उपत्यकामा उपलब्ध एसएसपी तहसम्मलाई आमन्त्रण गरिएको थियो। प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले कार्यक्रमको संयोजन गरेका थिए। त्यही क्रममा ज्ञवाली महानिरीक्षकमा बढुवा भएपछि सिधै प्रहरी प्रधान कार्यालय पुगे।

अवकाश पाउन लागेका आईजीपी खनालसहितका अग्रजको बिदाइ कार्यक्रमबारे सरसर्ती जानकारी लिए। बिदाइ कार्यक्रममा अधिकतर अधिकृत अनुपस्थित रहे। ज्ञवाली र थापासँगै डीआईजीहरू मनोज न्यौपाने, महेन्द्र पोखरेल, कमल जिटी र विकास श्रेष्ठ मात्रै उपस्थित थिए। मंगलबारै अवकाश पाएर कार्यक्रममा अनुपस्थित रहेका एक डीआईजीका अनुसार १६ अधिकृतले बिदाइ कार्यक्रम बहिष्कार गरेको बताए।

‘हामीले आईजीपीबाट भएका अहमता, मपाइँत्व र गलत कार्यशैलीको विरोधस्वरूप उहाँसँगै बिदाइ हुन मन नलागेर बहिष्कार गरेका हौं,’ ती डीआईजीले भने, ‘फौजमा सामूहिक कार्यप्रणाली हुनुपर्थ्यो। यो २२ महिना उहाँबाट हामी होइन, म भन्ने प्रवृत्ति हटेन, त्यसकारण सन्देश दिन पनि बहिष्कार गर्नुपरेको हो ।’

प्रकाशित : २०७६ माघ २९ गते ८:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI