तुइन तर्न १०० रुपियाँ, पैसा नहुनेले कर्णाली वारपार गर्न पाउँदैनन्
NAWALPUR TIMES प्रकाशित : २०७६ माघ २९ गते ९:१२
No ads found for this position
No ads found for this position
सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो। हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि अझै विकल्प छैन। कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँलेले तुइनकै भर पर्नुपर्छ। त्यो पनि निःशुल्क होइन, प्रतिव्यक्ति १०० रुपैयाँ तिरेर।
फाईल तस्बिर
सय रुपैयाँ तिरेर तुइनबाट वारिपारि गर्नेहरूले सामान तारेबापत थप ५० रुपैयाँ तिर्नुपर्छ। ‘पुरानो र धराप छ, तुइनबाट वारिपारि गर्दा भगवान्को नाम जप्छौं,’ स्थानीय काली विकले भनिन्, ‘पैसा नहुनेले वारिपारि गर्न पाउँदैनन्।’ कर्णाली नदीमा बाह्रै महिना बहाव उच्च हुने भएकाले पानी छिचोलेर तर्न सकिँदैन।
खार्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइनबाट कर्णाली तर्नै पर्छ। उक्त तुइनकै बाटो भएर थाली, राया, छिप्रा र कारामलगायत गाउँका बासिन्दा याङ्चु र छिमेकी जिल्लाहरु जुम्ला, बाजुरा पुग्छन्।
स्थानीय व्यापारीले सदरमुकाम सिमकोट टाढा हुँदा दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न जुम्ला र बाजुराबाटै ल्याउने गरेका छन् । अप्ठेरो बाटोमा जोखिम मोलेर यात्रा गर्न नसकिने भएपछि तुइन तर्नुको विकल्प नभएको स्थानीय बरी महतराले गुनासो गरिन्।
‘हिउँदमा पनि नदीको पानी घट्दैन,’ उनले भनिन्, ‘घुमाउरो बाटो हिँड्ने दुःखले पैसा तिरेरै तुइन चढिरहेका छौं।’ उनका अनुसार बोक्चेगौडामा मात्रै दैनिक ५० भन्दा बढी बटुवाले तुइनबाट वारपार गर्छन्। तुइन तर्दा यात्रुका औंला काटिने र चोट लाग्ने घटना सामान्य मानिने उनले बताइन्। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।
Facebook Comment