विदेशबाट फर्केका भण्डारी, तरकारी बेचेरै कमाउँछन् वार्षिक पाँच लाख

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २९ गते १५:२९
विदेशबाट फर्केका भण्डारी, तरकारी बेचेरै कमाउँछन् वार्षिक पाँच लाख

प्रकाश भण्डारी, माघ २९। गैँडाकोट नवलपुर

वैदेशिक रोजगारीबाट फर्केका गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका ७ रूपाकोट निवासी कृष्णप्रसाद भण्डारी हाल तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्।

कृष्णप्रसाद भण्डारी ,आफ्नो फर्ममा काम गर्दे

८ बर्ष कतार तथा २ बर्ष दुवईमा काम गरेका भण्डारीसँग बैदेशिक रोजगारीको लामो अनुभव छ। दुवईमा रोजगारीमा रहेका उनी ३ बर्ष अगाडि मात्रै नेपालमै केहि गर्नुपर्छ भन्ने योजना सहित आफ्नै गृहजिल्ला गुल्मी फर्केका हुन्। गुल्मी फर्किए लगत्तै उनले एक्लो प्रयासमा मौसमी तथा बेमौसमी तरकारी खेती शुरु गरेका छन्।

टनेल तथा खेतका खुल्ला गराहरूमा मौसमी तथा बेमौसमी तरकारी व्यवसाय शुरु गरेका उनले पहिलो वर्षमा नै ३ लाख बराबरको आम्दानी गर्न सफल भएका छन्। हाल भने उनको फर्मबाट बार्षिक ५ लाख बढीको आम्दानी हुने गरेको उनले बताए।

चन्द्रकोट ७ रूपाकोट स्थित १ हेक्टर जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी खेती शुरु गरेको भण्डारीले बताउनुभयो। “झण्डै एक दशक विदेशमा बसियो, अर्काको देशमा काम गर्न त्यति सहज छैन, गाउँमै बसेर तरकारी लगायो भने विदेशको भन्दा पनि राम्रो कमाइ गर्न सकिन्छ”, भण्डारीले भन्नुभयो।

तरकारी खेती गर्न थालेको तीन वर्ष भयो। हालसम्म विभिन्न कृषिजन्य सामग्री आफ्नै रकमले किनेका छन्। नेपाल सरकारको कुनै अनुदान तथा बिउ र अन्य सामग्रीहरू आफुले नलिएको भण्डारीले नवलपुर टाईम्स सँगको कुराकानीमा बताए।

“जेनिस अनिस फर्म” मा उत्पादन भएका टमाटर

अहिले गोलभेँडा, काँक्रा, सिमी, लौका, फर्सी, काउली, बन्दा, ब्रोकाउली, बिभिन्न जातका साग, धनियाँ, गाजर र मुलाको उत्पादन शुरु भएको छ। साथै तरकारी र अन्य फलफुलका बिरूवाहरूपनि आफ्नै “जेनिस अनिस फर्म” बाट उत्पादन गरि बिक्री वितरण गरिरहेको भण्डारीले बताए।

फर्ममा उत्पादन भएको तरकारीहरू खरिद गर्नका लागि स्थानीय बजार सोता, मजुवा तथा चोरकाटे देखि उल्लिखोला सम्मका व्यक्तिहरूले फोनको माध्यमबाटै अर्डर गर्ने तथा फर्मबाटै लैजाने हुँदा उत्पादन बिक्री गर्न बोकेरै जानु नपर्ने उनको भनाई छ।

“विदेशमै लामो समय बिताइयो अहिले पछुतो लागिरहेको छ, विदेश जानुभन्दा अघि नै यहीँ बसेर तरकारी व्यवसाय गरेको भए अहिले ठूलै व्यवसायी भइँदो रहेछ”, भण्डारीले नवलपुर टाईम्ससँग दु:ख पोख्नुभयो।

तरकारी व्यवसायबाट राम्रो आम्दानी हुँदै जान थालेपछि जग्गा बढाएर व्यवसायलाई अगाडि बढाउने उनको सोच छ। उनले एक्लै शुरु गरेको यो व्यवसाय चन्द्रकोट गाउँपालिकाकै नमूना व्यवसायका रुपमा चिनिएको छ। बाँझो रहेको जमीनलाई सदुपयोग गर्दै उनले तरकारी लगाएर हराभरा पारेको देख्दा छिमेकी तथा सँगैका दमालीहरु दङ्ग छन्।

अहिले फर्ममै आएर खरिद गर्ने गाउँ छिमेकका दाजुभाई लगायत खुद्रा तथा होलसेल बिक्रेताको अर्डर बमोजिमको तरकारी तथा फलफुल उपलब्ध गराउन नसकेको उनले बताए।

उनी बिहानै ६ बजे कुटो कोदालो बोकेर फर्ममा जाने गर्छन्। बेलुकी ८ बजेसम्म आफ्नै फर्ममा व्यस्त रहने उनी आफ्नो फर्मलाई चन्द्रकोट गाउँपालिकाकै नमुना बनाई आफ्नै फर्मबाट उत्पादन हुने बिभिन्न मौसमी तथा बेमौसमी तरकारीबाट गाउँपालिकालाई सक्षम र आत्मनिर्भर बनाउने उनको लक्ष्य छ।

यहि पेशाबाट उनले बुवा, आमा तथा २ छोरा र श्रीमती सहित ६ जना परिवारको घर खर्च तथा अत्याबश्यक खर्च चलाएका छन्।

उनले बिगतका दिनमा बिभिन्न ठाउँमा आधुनिक कृषि खेतीको अवलोकन गर्ने अवसर पनि प्राप्त गरेका छन्। कृषकहरूको सिप र क्षमताको उच्च मूल्याङ्कन गर्दे गत साउनमा चन्द्रकोट गाउँपालिकाले वडा तथा गाउँपालिका स्तरका उत्कृष्ट कृषकलाई एक समारोहका बिच सम्मान गरेको थियो। सोही समारोहका बिच छोटो समयमानै सफल कृषि व्यवसायीको रूपमा नाम राख्न सफल भण्डारीलाई गाउँपालिकाले वडा तथा गाउँपालिका स्तरीय उत्कृष्ट कृषक पुरस्कार बाट सम्मानित गरेको थियो।

हाल उनको फर्ममा आन्तरिक तथा बाह्य पर्यटक तथा बिभिन्न कृषि सँग सम्बद्ध निकायहरू अवलोकनका लागि आउने गरेका छन्। जसले गर्दा आफ्नो व्यवसायलाई थप प्रभाबकारी बनाउन हौसला मिलेको भण्डारीले बताए।

उनको व्यवसायको प्रकृति हेरि व्यवसायलाई अभिवृद्धि गर्न र अन्य युवाहरूलाई पनि देशमै रोजगारी सिर्जना गर्न तथा कृषिलाई आधुनिकीकरण गर्न सम्बन्धित स्थानीय तहले अनुदान लगायतका कार्यहरू मार्फत सहयोग गर्नुपर्ने देखिन्छ।

प्रकाशित : २०७६ माघ २९ गते १५:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI