हाम्रो सामाजिक संरचना र वैदेशिक रोजगार

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १ गते १०:०५
हाम्रो सामाजिक संरचना  र वैदेशिक रोजगार

विश्वास लामिछाने

विदेशिनुका अनेक कारण होलान तर, वैदेशिक रोजगारीमा जानेको संख्या बढ्नुमा हाम्रो समाजिक संरचनाले कतिको भूमिका खेल्ने गर्छ त ? आगामी दिनमा यसबारे बहस हुनु जरुरी छ । समाजिक दृष्टिकोणबाट वैदेशिक रोजगारीबारे अध्ययन नगरुन्जेल मुलभूत समास्य नजिक पुग्न सक्दैनौं । त्यसैले समाजशास्त्रीय दृष्टिकोणबाट पनि वैदेशिक रोजगारीबारे बहस र छलफल हुन जरुरी छ । भड्किलो जीवन शैली, महंगो शिक्षा, महंगा मोबाइल बोक्ने संस्कृतीजस्ता कारणले वैदेशिक रोजगारीमा युवाकाे आकर्षण बढेकाे छ । आफन्त, परिवार, छिमेकीले पार्ने मानसिक दवावका कारण पनि युवाहरू वैदेशिक राेजगारीमा जान बाध्य भएका छन् ।

पछिल्लाे दिनमा नेपाली समाजले विदेश जानुलाई समाजिक तथा आर्थिक हैसियतसँग जोडेर हेर्ने थालेकाे छ । त्यसैका आधारमा समाजले हाम्रो स्तर निर्धारण गर्ने गलत प्रवृत्ति बढेको छ । नेपालमै केही गरौं भन्ने नेपालीलाई हेयको दृष्टिकोणबाट हेर्ने, हतोत्साही बनाउने वातावरण सृजना भएको छ । यस्ता वातावरणले समाजलाई यसरी गाँजेको छ कि विदेश नजाने युवा असक्षम जस्तो हुन पुगेका छन् ।

नेपालीहरु विदेशीनुमा यहाँ अवसर प्राप्त नहुनु मात्र होइन् । नेपालमै छिमेकी राष्ट्रबाट काम गर्न आउने धेरै छन् । नेपाली विदेशीनुमा वर्तमान समाजिक संरचनाले महत्वपूर्ण भूमिका खेलेकाे छ । विदेशमा जस्तोसुकै काम गर्न तयार हुने नेपाली स्वदेशमा सामान्य काम गर्न लाज मान्ने गर्छन् । सर्वप्रथम नेपालमा कामका आधारमा मानिसलाई हेर्ने दृष्टिकोणमा नै खोट छ ।

यस्तै कारणले नेपालीलाई आफ्नै देशमा सामान्य काम गर्न पनि गाह्राे हुन्छ । विदेशीन प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने समाजिक मान्यता बदल्नेबारेमा पनि गम्भीर छलफल र बहस जरुरी छ । विकशित देशमा जस्तो भए पनि कामलाई सम्मान गर्ने परिपाटी छ । नेपालमा पनि त्यस्ताे अवस्था सृजना हुनुपर्छ जसले गर्दा युवाहरु नेपालमै आत्मसम्मानपूर्वक काम गर्दै परिवारसँग बस्न सकुन र देशको विकासमा साथ दिन सकुन ।

लेखक युवा सामाजिक अभियन्ता हुन ।

प्रकाशित : २०७६ फागुन १ गते १०:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI